पञ्चकन्या ग्रुपले पनि सेजमा माग्यो ठाउँ

सेजले यसअघि सूचना प्रकाशित गर्दा १९ ओटा उद्योगले सेजभित्र उद्योग स्थापना गर्ने भन्दै आवेदन हालेका थिए ।

काठमाडौं । भैरहवा विशेष आर्थिक क्षेत्र (सेज)मा नयाँ उद्योग स्थापना गर्न पञ्चकन्या ग्रुपले विशेष आर्थिक क्षेत्र विकास प्राधिकरणसँग ठाउँ उपलब्ध गराउन आग्रह गरेको छ ।

ग्रुपले भैरहवा सेजमा पाइप उत्पादन गर्न ठाउँ उपलब्ध गराउन प्राधिकरणलाई आग्रह गरेको हो । नेपाल विद्युत् प्राधिकरणले पूर्वाधार बनाउन विद्युत् उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि पञ्चकन्या ग्रुपले पनि जग्गा उपलब्ध गराउन सेजलाई आग्रह गरेको हो । ‘भर्खरै पञ्चकन्या ग्रुपले पनि भैरहवा सेजमा जग्गा चाहियो भनेर निवेदन दिएको छ,’ प्राधिकरणका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले भने, ‘पञ्चकन्याका लागि पुन सूचना प्रकाशित गर्ने तयारी हुँदै छ ।’

उद्योगलाई जग्गा उपलब्ध गराउन सूचना निकाल्नुपर्ने र बोर्डबाट पनि स्वीकृत गर्नुपर्ने व्यवस्था छ । अहिले त्यसका लागि आवश्यक प्रक्रिया अघि बढेको भट्टले जानकारी दिए । केही महिनाअघि विद्युत् अभावका कारण उद्योगले पूर्वाधार निर्माण गर्न नसकेपछि सेजको विशेष सक्रियतापछि प्राधिकरण र सेजबीच विद्युत् उपलब्ध गराउने सम्झौता भएपछि धेरै उद्योगले चासो दिएको भट्टले जानकारी दिए ।

सेजले यसअघि सूचना प्रकाशित गर्दा १९ ओटा उद्योगले सेजभित्र उद्योग स्थापना गर्ने भन्दै आवेदन हालेका थिए । ‘अब सूचना प्रकाशित गर्दा त्योभन्दा धेरै उद्योगले आवेदन हाल्ने सम्भावना छ,’ भट्टले भने, ‘यसपटक उद्योग छान्न समेत समस्या हुन्छ ।’

उनका अनुसार सेजले सूचना प्रकाशित गरेपछि पञ्चकन्याले लिखित रुपमा निवेदन हाल्नेछ । हालसम्म १३ ओटा उद्योगलाई पूर्वाधार निर्माण स्वीकृति दिएको भट्टले जानकारी दिए । त्यसैगरी, पूर्वाधार निर्माण गर्न चाहिने एक मेगावाट विद्युत् समेत तत्काल उपलब्ध हुने उनको भनाइ छ । विद्युत् उपलब्ध गराइदिन अनुरोध गर्दै लिखित निवेदन आएको तीन दिनमा प्राधिकरणले विद्युत् उपलब्ध गराउने सेजले जनाएको छ ।