तरकारीखेतीमा आधुनिक प्रविधि फैलाउँदै नयाँ पुस्ता

विदेशमा कृषि वा तरकारीखेती गरेर आएका युवा स्वरोजगार मात्रै भएका छैनन्, अरुलाई रोजगारी समेत दिएका छन् । उनीहरुको नेपालमा आधुनिक प्रविधि भित्र्याउनमा समेत योगदान छ ।

इञ्जिनियरिङ अध्ययन गरेका जाजरकोटका मानबहादुर तामाङले तीन वर्ष अघिबाट ललितपुरको बडिखेलमा १२ रोपनी जग्गा भाडामा लिएर तरकारीखेती गरिरहेका छन् ।

तीन जना नियमित कर्मचारी पनि उनको फार्ममा काम गर्छन् । व्यावसायिक रुपमा तरकारी खेती सुरु गरेपछि उनले आफ्ना आमाबुबालाई पनि आफैसँग राखेका छन् । सडक सुविधा र बजार नजिक हुँदा तरकारीखेतीबाट आम्दानी गर्न सकिने उनको अनुभव छ ।

उनी भन्छन्, ‘यहाँ बजारको कति पनि समस्या छैन ।’ उनको फार्ममा गोलभेंडा, काउली, बन्दालगायतका तरकारी छन् । तामाङ जस्ता शिक्षित युवाको तरकारीखेतीमा आकर्षण बढ्दो छ । विभिन्न विषयमा अध्ययन पूरा गरेका धेरै युवाहरु अहिले व्यावसायिक तरकारीखेतीमा संलग्न छन् । अध्ययनका लागि वा रोजगारीका लागि विदेश गएर आएका धेरैले आधुनिक र व्यावसायिकखेती गरिरहेका छन् ।

विदेशमा कृषि वा तरकारीखेती गरेर आएका युवा स्वरोजगार मात्रै भएका छैनन्, अरुलाई रोजगारी समेत दिएका छन् । उनीहरुको नेपालमा आधुनिक प्रविधि भित्र्याउनमा समेत योगदान छ ।

इजरायललगायतका देशबाट फर्किएका युवामध्ये धेरै अहिले तरकारीखेतीमा आबद्ध छन् । केहीले आधुनिक प्रविधि भित्र्याएर तरकारी बिक्री गर्छन् । काठमाडौँं उपत्यका, आसपासका जिल्ला र उपत्यका बाहिर पनि सहरी क्षेत्र नजिकमा अहिले व्यावसायिक तरकारीखेती फैलिँदो छ ।

भर्खरै राजनीतिशास्त्रमा स्नात्तकोत्तर सकेकी दाङकी रिता सुनार पनि तरकारीखेतीबाट आत्मनिर्भर बन्ने र अरुलाई समेत रोजगारी दिने युवा समूहमा पर्छिन् । उनले तीन जनालाई नियमित रोजगारी दिएकी छिन् ।

विदेश जाने प्रक्रियाका लागि काठमाडौँ आएका हुन् वा भिसा कुरेर बसेका जिल्लावासी किन नहोउन् ती सबै युवा एकपटक ‘रिता दिदी’ सम्झँदै उनी कहाँ पुग्छन् । त्यस्ता युवालाई उनले खाने र बस्ने व्यवस्था मिलाइदिन्छिन् ।

यहाँ रहँदासम्म आफ्नो फार्ममा काम गर्ने सबैलाई पारिश्रमिक दिने गरेकी छिन् । पहिले साथीको फार्ममा काम गरेकी उनले उताबाट सिकेर यहाँ थालेकी हुन् । १५ रोपनी जग्गामा झन्डै २१ लाखको लगानीमा उनले आफ्नै कृषि फार्म खोलेकी छिन् । उनी भन्छिन्, ‘काम सुरु गरेको दुई वर्ष भयो, राम्रै भइरहेको छ ।’

तरकारी विकास निर्देशनालयका वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशी गुगलबाट र युट्युबबाट आवश्यक कुरा खोजेर, नयाँ ज्ञान सिकेर तरकारीखेती गर्ने जमात बढिरहेको बताउँछन् । तरकारीखेतीमा युवा पुस्ताको आकर्षणले कृषि आधुनिक बन्दै गएको उनले बताए ।

नयाँ पुस्ताले आधुनिक र प्रविधियुक्त खेती गरिरहेका छन् । प्रविधिको प्रयोग गर्दा बोटसम्म पानी पाइपबाट नै जान्छ । रासायनिक मल पनि पाइपबाट जान्छ, बोकेर हाल्नु पर्दैन, उनी भन्छन्, ‘पहिले सधैँं घाममा वा भिज्दै कडा शारीरिक परिश्रम गर्नुपर्छ भनेर युवा खेतीमा लाग्न चाहँदैनथे तर अहिलेको अवस्था परिवर्तन भएको छ, प्रविधिले खेती गर्न सहज बनाएको छ ।’

पहिले खेतबारीमा काम गर्न धुलोमैलो भएर जाने गरेकामा अहिले एप्रोन र चस्मा लगाएर जानेको सङ्ख्या बढ्दै छ ।

विदेशबाट फर्किएर तरकारीखेतीमा लागेका युवा धेरैका लागि प्रेरणाको स्रोत समेत बनेका छन् । नुवाकोटका सोम तामाङ पहिले आफ्नो गाउँमा गोलभेँडाखेती गर्ने उनी एक जना मात्रै थिए । अहिले सिङ्गो गाउँमा गोलभेँडाखेती फैलिएको छ । यस वर्ष उनको गाउँबाट मात्रै झन्डै ९० लाख रुपैयाँको गोलभेँडा बिक्री भएको छ ।

तामाङले विदेशबाट सिकेका कुरा गाउँलेलाई समेत सिकाएर सिङ्गो गाउँलाई सम्पन्न बनाएका छन् । जोशी भन्छन्, ‘तामाङ जस्तै विदेशबाट सिकेको सीप र प्रविधि यहाँ प्रयोग गर्ने युवा धेरै जना छन् ।’ परम्परागत खेती गर्नेलाई विस्तारै आधुनिक खेती गर्ने जमातले विस्थापित गर्दै लगेको छ ।

परम्परागत खेती गर्ने पहिले उत्पादन गरेर बजार खोज्छन् । आधुनिक किसान भने बजारको मागअनुसार उत्पादन गर्छन् । जोशी भन्छन्, ‘शिक्षित युवाले यो एक दशकमा कृषिमा साच्चै नपत्याउने गरी परिवर्तन गरिरहेका छन् ।’ आगामी वर्षमा तरकारीखेतीमा अझै परिवर्तन हुने उनले बताए ।

जीविकोपार्जनका लागि विदेश गएका धेरे युवा स्वदेश फर्किएपछि व्यावसायिक किसान बनेका छन् । आधुनिक प्रविधि प्रयोग गर्ने किसानलाई निर्देशनालयले विभिन्न कार्यक्रममार्फत प्रोत्साहन गरिरहेको छ । सञ्चिता घिमिरे, रासस