काठमाडौंदेखि भारतसम्म रेल निर्माणको सहमती भयो – भारतीय प्रधानमन्त्री मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंदेखि भारतसम्मको रेल निर्माणका लागि सहमती भएको बताएका छन् ।

३ दिने भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतविच रेल निर्माणका लागि सहमती भएको बताएका हुन् ।

‘हामीले कनेक्टिभिटीका सबै प्रोजेक्टहरुको समिक्षा गर्यौं, काठमाडौंदेखि भारतसम्मको रेल निर्माणका लागि सहमती भएको छ,’ मोदीले भने ।
भारतीय बन्दरगाह नेपालले प्रयोग गर्दा सगरमाथाको देशलाई सागरसँग जोडिने उनले बताए । ओलीले नेपालमा ल्याएको समृद्ध नेपाल, सुखी नेपाली नारालाई साथ दिन आफु तयार रहेको र यो नारा एकअर्काको पूरक रहेको मोदीले बताए ।

‘नेपाल र भारत दुवै कृषिप्रधान देश हो, हामीले एक नयाँ अर्गानिक फार्म, पशुपालन, कृषिका लागि सहयोग बढाएका छौं,’ उनले भने । अरुण थ्रि, पञ्चेश्वर, सप्तकोशीमा तीव्र रुपमा काम गर्न चाहेको उनले बताए ।

प्रधानमन्त्री ओलीले नेपाल अहिले राजनीतिक स्थिरता भएको बताउँदै समृद्ध नेपाल निर्माणमा आफुहरु लागि परेको बताए ।