तेस्रो अन्तर्राष्ट्रिय चिया महोत्सव सुरु

डिस्कभरिङ हिडेन ट्रेजर भन्ने नाराका साथ तेस्रो अन्तर्राष्ट्रिय चिया महोत्सव सुरु भएको छ । राष्ट्रिय चिया तथा कफि विकास बोर्डको आयोजनामा काठमाडौंस्थित याक एण्ड यती होटलमा सुरु भएको हो । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले उद्घाटन कार्यक्रममा बोल्दै चियालगायत कृषिको विकासको लागि सरकारले सहजकर्ताको भूमिका खेल्ने बताए ।

नेपालमा आधाभन्दा बढी जनसङ्ख्या कृषिमा आश्रित रहेको उल्लेख गर्दै मन्त्री खनालले यसको विकासको लागि सरकारले कुनै सम्झौता नगर्ने बताए । उनले खुम्चिएर बसेका स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रियकरण गराउन सरकार योजनाबद्ध रुपमा अघि बढ्ने बताए ।
मन्त्री खनालले हरेक किमिसका समस्या समाधान गर्दै कृषि क्षेत्रको समग्र विकासका लागि तीब्र गतिमा काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले नेपाली चियाको प्रबद्र्धन गर्न महोत्सव आयोजना गरिएको बताए । यस्तै, महोत्सव आयोजक समितिका संयोजक उदयकुमार चापागाईले नेपाली चियालाई विश्वस्तरमा पु¥याउन महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बताए ।

३ दिनसम्मचल्ने महोत्सवमा विश्वबजारमा नेपाली चियाको सहज निर्यातका लागि सरकारी पहलबारे जानकारी समेत दिइने बोर्डका निर्देशक एवं आयोजक समितिका सदस्य सचिव दिपक खनालले बताए ।

हाल मुलुकको २८ हजार हेक्टर क्षेत्रफलमा चिया खेती हुँदै आएको र अधिकांश खेती मुलुकको पूर्वी भेगमा हुने गरेको छ । नेपालमा बार्षिक रुपमा करिब २ करोड ४० लाख किलो चिया उत्पादन हुँदै आएकोमा ५५ लाखकिलो चियाअर्थोडक्स रहेको बोर्डले जनाएको छ ।