प्रालिले सिनामङ्गल सफा परिवहन समिति र सामाखुसी यातायात व्यवसायी समितिको संयुक्त लगानीमा नयाँ बसपार्क, गोँगबु, गल्कोपाखा, लैनचौर, जमल, कमलपोखरी, मैतीदेवी हुँदै सिनामङ्गलसम्म सत्र नयाँ बस सञ्चालन गर्न लागेको हो ।
दिगो सार्वजनिक यातायात प्रालिले नयाँ बसपार्कदेखि सिनामङ्गलसम्म सत्र ठूला बस सञ्चालन गर्ने भएको छ । प्रालिले सिनामङ्गल सफा परिवहन समिति र सामाखुसी यातायात व्यवसायी समितिको संयुक्त लगानीमा नयाँ बसपार्क, गोँगबु, गल्कोपाखा, लैनचौर, जमल, कमलपोखरी, मैतीदेवी हुँदै सिनामङ्गलसम्म सत्र नयाँ बस सञ्चालन गर्न लागेको हो ।
सामाखुसी यातायात व्यवसायी सङ्घका सचिव लालप्रसाद गुरागाँईले सात करोड रुपैयाँको लगानीमा ५० सिट क्षमता भएका सत्र ठूला बस सञ्चालन गर्न लागेको जानकारी दिए । ‘सामाखुसी भएर चल्ने माइक्रोलाई अन्य स्थानमा स्थानान्तरण गरी सोही रुट हुँदै सिनामङ्गलसम्म नयाँ बस सञ्चालन गर्न लागेका हौँ,’– उनले भने ।
सोही रुटमा नयाँ बस सञ्चालनका लागि एसियाली विकास बैङ्कले एक करोड ९० लाख रुपैयाँ अनुदान दिएको छ । बस वैशाखको अन्तिम हप्ता नेपाल आइसक्ने र जेठको पहिलो हप्ताबाट सञ्चालन हुने गुरागाईँले बताए । नयाँ बस सञ्चालनका लागि दुवै समिति तथा प्रालिको टोली बस लिन भारत गइसकेको छ ।
सोही रुटमा ठूला बस सञ्चालन भएसँगै गोँगबुबाट रत्नपार्क भएर चल्ने २६ माइक्रोबस र सिनामङ्गल रत्नापार्क भएर चल्ने ३५ ओटा टेम्पो स्थानान्तरण हुनेछन् । सरकारले पछिल्लो समय उपत्यकामा सवारी साधन चलाउनका लागि प्राइमरी, सेकेन्डरी र टर्सरी रुट निर्धारण गरेको छ । जसमा प्राइमरी र सेकेन्डरी रुटमा ठूला सवारी साधन तथा टर्सरी रुटमा साना सवारी साधन सञ्चालन गर्न पाइनेछ । रासस