घारखोला जलविद्युत् आयोजना सुरु

म्याग्दी हाइड्रोपावर प्रालिद्वारा निर्माण हुन लागेको यस आयोजनाले पहुँचमार्ग विस्तारको काम सकेर बाँधस्थलदेखि सुरुङ खन्ने तयारी गरेको छ ।

 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको निर्माण सुरु भएको छ । म्याग्दी हाइड्रोपावर प्रालिद्वारा निर्माण हुन लागेको यस आयोजनाले पहुँचमार्ग विस्तारको काम सकेर बाँधस्थलदेखि सुरुङ खन्ने तयारी गरेको छ ।

घारको बिरौटादेखि करिब तीन किलोमिटर पहुँचमार्ग (सडक) खनेको आयोजनाले सडकको स्तरोन्नतिको कामसँगै निर्माणपूर्वका तयारीलाई तीव्रता दिएको आयोजनाका जनसम्पर्क अधिकृत प्रकाशचन्द्र पौडेलले बताए ।

आयोजनाको मुख्य कामका रुपमा हेरिने सुरुङ मार्गमा विष्फोटन कार्यका लागि नेपाली सेनाको क्याम्प राख्न आवास निर्माण भइसकेको छ । ‘सडकबाट प्रभावित अधिकांशलाई मुआब्जा वितरण गरिसकेका छौँ, बाँकी केहीको पनि कागजी प्रक्रिया पुगेपछि उपलब्ध गराउँछौँ, निर्धारित समयमै आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने गरी काम थाल्छौं’, उनले भने ।

घारको कुरिला बगरमा बाँध रहने यस आयोजनामा विद्युत् गृहसम्म पानी खसाल्नका लागि तीन किमी ४८ मिटर लामो सुरुङमार्ग निर्माण गरिनेछ । सुरुङ मार्ग हुँदै ल्याइएको पानीलाई करिब एक हजार २०० मिटर पेनस्टक पाइपमार्फत पोखरेबगरमा रहने विद्युत् गृहमा खसालेर विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ ।

आगामी तीन वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्य रहेको यस आयोजनामा दुई अर्ब ४१ करोड रुपैयाँ लगानी अनुमान गरिएको आयोजनाका इन्जिनियर जोसेफलाल बज्राचार्यले जानकारी दिए ।

यसैबीच, जलविद्युत् आयोजनाको सुरुङ खन्दा खानेपानीका मुहान सुक्नसक्ने भन्दै स्थानीयस्तरबाट आवाज उठेपछि खानेपानीको मुहानको अवस्थाबारे अध्ययन गरिएको छ । वडाध्यक्ष कृष्णप्रसाद बरुवालको संयोजकत्वमा रहेको जलविद्युत् सरोकार समिति र जलविद्युत् आयोजनाका इन्जिनियरको टोलीले आयोजनाबाट प्रभावित समुदायभित्र रहेका खानेपानीका मुहानमा पानीको अवस्थाबारे अध्ययन गरेका हुन् ।