भाटभटेनीको आगलागी चार घण्टापछि नियन्त्रणमा

आज बिहान ४ बजेदेखि सुरु भएको आगलागी झन्डै चार घण्टापछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक केशवकुमार भट्टराइले जानकारी दिए ।

बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित भाटभटेनी सुपर मार्केटमा लागेको आगो नियन्त्रणमा आएको छ ।आज बिहान ४ बजेदेखि सुरु भएको आगलागी झन्डै चार घण्टापछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक केशवकुमार भट्टराइले जानकारी दिए ।

सुपरमार्केटको पाँचौँ तलाको इलेक्ट्रोनिक्स कक्षबाट सुरु भएको आगो क्रमशः सबैतिर फैलिएको थियो । आगलागी नियन्त्रणमा बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर, रामग्राम, कपिलवस्तु र तानसेन नगरपालिकाका दमकल र स्थानीय व्यावसायिक पानी बोक्ने ट्याङ्कर आगो निभाउन प्रयोग गरिएको थियो । आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

आगलागी भएको केहीबेरमा नै बुटवल उपमहानगरको दमकल घटनास्थल आए पनि भाटभटेनीका व्यवस्थापनका कर्मचारी नभेटिएपछि निकैबेर दमकलका कर्मचारी अलमलमा परेका थिए । बिहान मर्निङवाकमा निस्केका स्थानीयले भाटभटेनीमा आगोको मुस्लोदेखेपछि प्रहरीलाई खबर गरेका थिए । आगलागी बढ्दै गएपछि वरिपरिका स्थानीय बासिन्दासमेत त्रसित बनेका थिए ।

आगलागीबाट भएको क्षतिकाबारेमा आफू बुटवल बाहिर भएकाले अहिले नै कुनै अनुमान गर्न नसकिने र आगलागीको घटना कसरी भयो भन्नेमा समेत अहिले नै भन्न नसकिने सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले बताए । आगलागीबाट करोडौ रुपैयाँको क्षति भएको सुपर मार्केटका प्रमुख कार्यकारी अधिकृत पानुप्रसाद पौडेलले बताए । उक्त सुपरमार्केट गत वर्षमात्र करीव रु ९५ करोडको लागतमा सञ्चालनमा आएको हो । सञ्चालनको छोटो समयमै दैनिकरुपमै राम्रो व्यावसायिक कारोबार गर्न सफल भएको थियो । रासस