आँप उत्पादनमा वृद्धि

यसवर्ष आँपका रुखमा सबैतिर मञ्जर (आँपको फूल) बढी मात्रामा लागेको देखेर किसान हर्षित भएका छन् । क्षीरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगरका किसान रामदेव यादवले प्राय सबैतिर आँपको बगैंचामा सुरुदेखि नै राम्रो फूल लागेको हुँदा गत वर्षभन्दा यसवर्ष आँप दोब्बर उत्पादन हुने बताए ।

धनुषासहित तराईका जिल्लामा यसवर्ष आँप उत्पादनमा वृद्धि हुने भएको छ । यसवर्ष आँपका रुखमा सबैतिर मञ्जर (आँपको फूल) बढी मात्रामा लागेको देखेर किसान हर्षित भएका छन् । क्षीरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगरका किसान रामदेव यादवले प्राय सबैतिर आँपको बगैंचामा सुरुदेखि नै राम्रो फूल लागेको हुँदा गत वर्षभन्दा यसवर्ष आँप दोब्बर उत्पादन हुने बताए ।

जिल्ला कृषि विकास कार्यालयले पनि यसवर्ष मौसम अनुकूल भएकाले आँप उत्पादनमा वृद्धि हुने अनुमान गरेको छ । आर्थिक वर्ष २०७३÷७४ मा कुल तीन हजार २ सय ३८ हेक्टरमा जग्गामा आँपखेती गरिएकामा एक दशमलव नौ मेट्रिकटन प्रतिहेक्टरका हिसाबले कुल चार हजार ३ सय ७१ मेट्रिकटन आँप उत्पादन भएको थियो भने चालू आर्थिक वर्षमा तीन हजार ३ सय ६६ हेक्टर जग्गामा आँपखेती गरिएको कार्यालयले जनाएको छ ।

कृषि कार्यालय यसवर्ष १३ मेट्रिकटन प्रति हेक्टरका हिसाबले जिल्लामा ३० हजार ६ सय ५८ मेट्रिकटन आँप उत्पादन हुने अनुमान गरेको छ । धनुषामा आर्थिक वर्ष २०७१÷७२ मा दुई हजार २ सय ५५ हेक्टर जग्गामा आँपखेती भएकामा प्रतिहेक्टर १२ मेट्रिकटनको हिसाबले दुई हजार ७ सय ६० मेट्रिकटन, आव २०७२÷७३ मा दुई हजार २ सय ७१ हेक्टरमा सात दशमलव ६९ मेट्रिकटनका हिसाबले कुल १७ हजार चारसय ८६ मेट्रिकटन आँप उत्पादन भएको थियो ।

धनुषामा माल्दह, बम्बे, कलकतिया, कृष्णभोग, दसहरी, केरबा, गुलाबखासजस्ता जातका आँप उत्पादन हुने गरेका छन् । कृषि कार्यालयका अनुसार धनुषामा ९० प्रतिशत खेती यी आँपको हुनेगरेको छ ।

अघिल्लो वर्ष आँप उत्पादनका लागि मौसम अनुकूल नभएको र आँपमा लाग्ने मधुवा कीटाणुका कारणसमेत उत्पादनमा कमी आएको थियो । यसवर्ष मधुवा लगायत अन्य कीटाणुलाई नियन्त्रण गर्नसके आँपको उत्पादन आशा गरे अनुरुप हुने कार्यालयका निमित्त प्रमुख बद्री साहले बताए ।

नेपाल एग्रो सेन्टरका सञ्चालक हरिशङ्कर साहले अहिले सबैभन्दा बढी आँपमा लाग्ने कीरा मार्ने औषधि नै खपत भइरहेको बताए । साहले मधुवा कीटाणु लगायतका आँपमा लाग्ने कीरा नियन्त्रणका लागि रोगर रोग्रिन एक दशमलव पाँच एमएल एक लिटर पानीमा मिसाएर छर्के मार्न सकिन्छ भने प्लानोफिक्स ० दशमलव ५ एमएल पानीमा मिसाएर छर्केपछि आँपमा लाग्ने ढुसी हटाउन सकिन्छ ।

यसवर्ष आँप उत्पान वृद्धि हुने देखेर १२ लाख रुपैयाँमा विभिन्न ठाउँका बगैंचा ठेक्का लिएको फलफूल व्यापारी जीवन साहले बताए । महेन्द्रनगरमा जीवन फलफूल बिक्री केन्द्र सञ्चालन गर्दै आएका उनले मिथिला नगरपालिकास्थित कृषि विकास आयोजनाको बगैंचा र क्षीरेश्वरनाथ धर्म संस्थाको बगंैचा ठेक्का लिएका छन् ।

किसान पनि आँपको राम्रो उत्पादन हुने भएपछि राम्रै आम्दानी हुनेमा ढुक्क छन् । अजयकुमार साह, रासस