सहकारीद्वारा चार अर्ब लगानी

जिल्लाका सहकारी संस्थाले वार्षिक करीब चार अर्ब रूपैयाँ लगानी गरेका छन् । आर्थिक वर्ष २०७३/७४ मा त्यहाँका सहकारीले तीन अर्ब ७० हजार ६५ लाख ७८ हजार लगानी गरेका बागलुङ सहकारी डिभिजन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार म्याग्दीमा २ सय १५ वटा सहकारी संस्था स्थापना भएकामा ती संस्थामा आबद्ध ४३ हजार ४८५ जनाको रु ५२ करोड ६६ लाख ९५ हजार शेयर रहेको सहकारीमा गत आर्थिक वर्षमा रु दुई अर्ब ५९ करोड, २३ लाख ८५ हजार बचत रहेको सहकारी निरीक्षक डिलबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार ४ सय ३४ जनालाई रोजगारी प्रदान गरेको सहकारी संस्थाले गतवर्ष ६ करोड ७९ लाख ९८ हजार रूपैयाँ नाफा गरेका छन् । जिल्लाका सहकारी संस्थामा रू एक अर्ब ६७ हरोड छ लाख ६८ हजार बराबरको सम्पति छ । गाउँ÷गाउँमा सहकारी संस्था स्थापनासंगै स्थानीयवासीमा बचतको बानिको विकास, ऋण लिन र आर्थिक कारोबार गर्न सहज भएको जिल्ला सहकारी संघका अध्यक्ष दीपक कार्कीले बताए ।

यसैबीच कार्यालयले सहकारी संस्थालाई स्थानीय तहमा हस्तान्तरण शुरु गरेको छ । संघीयका कार्यान्वयनसँग बनेको सहकारी ऐन २०७४ अनुसार सहकारी संस्था दर्ता, नियमन, खारेजी, संरक्षण, प्रवद्र्धनको अधिकार स्थानीय तहमा रहेकाले ऐन कार्यान्वयनका लागि अभिलेख हस्तान्तरण शुरु गरिएको डिभिजन प्रमुख विष्णुप्रसाद शर्माले बताए ।

डिभिजन अन्तर्गत म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वतमा एक हजार ६९ वटा सहकारी संस्था दर्ता भएकामा जिल्लामा दुई सय बढी सहकारी छन् । रघुगंगा गाउँपालिकाका २१ वटा सहकारी संस्था गाउँपालिकालाई हस्तान्तरण गरेको डिभिजनले स्थानीय तहलाई पनि सहकारी हस्तान्तरणको तयारी गरेको छ ।

स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतका लागि सहकारी सम्बन्धी ऐन, नियमको बारेमा अभिमुखीकरण गरेर हस्तान्तरण गर्न लागिएको डिभिजन प्रमुख शर्माले बताए ।

 एक करोडमा सडक निर्माण 

अन्नपूर्ण गाउँपालिका– ७ घराम्दीका बासिन्दाले रु एक करोड भन्दा बढी चन्दा जुटाएर सडक निर्माण गरेका छन् । घराम्दीका बासिन्दाले चन्दा जुटाएर बेनी–जोमसोम सडकको महभिरदेखि घराम्दी हँुदै पेरी भारानी ताल जोड्ने सडक निर्माण गरेका हुन् ।

स्थानीयवासी, प्रवासी, छिमेकी गाउँका बासिन्दाबाट चन्दा जुटाएर दश किलोमिटर सडक निर्माण भएको महभिर घराम्दी पेरीभारानी सडक निर्माण समितिका कोषाध्यक्ष तथा व्यवस्थापक तीर्थबहादुर फगामीले जानकारी दिए। उनका अनुसार सडक निर्माणका लागि रु एक करोड १७ लाख ८५ हजार ९२०चन्दा सहयोग प्राप्त भएको छ ।

विस २०६७ मा महभिरदेखि शुरु भएको सडक यसैवर्ष धार्मिक पर्यटकीयस्थल पेरीभारानी तालमा जोडिएको थियो । तत्कालीन हिस्तान गाविस र जिविसले न्यून मात्रामा बजेट उपलब्ध गराएको उक्त सडक निर्माण कार्यमा समुदायको ठूलो लगानी रहेको छ । सामुदायिक वन, गाउँको कोषसमेत सडक निर्माणमा लगानी भएको उपभोक्ता समितिका अध्यक्ष दूधबहादुर पुर्जाले बताए ।

चट्टानी पहाड र भिरालो भूगोलमा सडक निर्माण गर्नुपर्दा धेरै लगानी भएको हो । घराम्दी गाउँमा ९५ घरधुरीको बसोवास छ । उक्त सडकमा जिप र ट्र्याक्टर चल्न थालेपछि स्थानीयवासीलाई सदरमुकाम बेनी, गाउँपालिकाको केन्द्र पोखरेबगर, तिप्ल्याङ बजारमा आवतजावतका लागि सहज भएको छ । गाउँमा उत्पादन भएको आलु, तरकारी, खसीबोका निकासी तथा निर्माण सामग्री र दैनिक उपभोग्य सामान ढुवानी गर्न सजिलो भएको छ । सो सडक आगामी वैशाख १५ गते सबैभन्दा धेरै चन्दा सहयोग गरेका होमबहादुर फगामीबाट उद्घाटन गर्ने कार्यक्रम छ ।