वर्षाले दश करोडका काँचा इँट्टा नष्ट

लुम्बिनी इँट्टा व्यवसायी सङ्घ भैरहवाका अनुसार चार दिनअघि आएको बर्सातले रुपन्देहीका ५२ ओटा इँट्टा उद्योगका दुई करोड ६० लाख गोटाभन्दा बढी पोल्न तयार काँचो इँट्टा गलेर नष्ट भएका हुन् ।

चैते वर्षाका कारण रुपन्देहीका इँट्टा उद्योगले ठूलो नोक्सानी बेहोरेका छन् । चैते वर्षाका कारण उद्योगमा तयार पारिएका दुई करोडभन्दा बढी काँचो इँट्टा नष्ट भएको छ ।

लुम्बिनी इँट्टा व्यवसायी सङ्घ भैरहवाका अनुसार चार दिनअघि आएको बर्सातले रुपन्देहीका ५२ ओटा इँट्टा उद्योगका दुई करोड ६० लाख गोटाभन्दा बढी पोल्न तयार काँचो इँट्टा गलेर नष्ट भएका हुन् । झरीका कारण गलेर इँट्टा नष्ट हुँदा व्यवसायीले १० करोड रुपैयाँभन्दा बढीको नोक्सानी बेहोरेका इँट्टा व्यवसायी सङ्घ लुम्बिनीका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । अहिलेको झरीले एउटा भट्टामा कम्तीमा दुई लाखदेखि १० लाखसम्म काँचो इँट्टा गलेर नोक्सान भएको लुम्बिनी इँट्टा व्यवसायी सङ्घका लेखा समिति संयोजक गोविन्द ज्ञवालीले बताए ।

रुपन्देहीमा उत्पादन हुने इँट्टा रुपन्देहीबाहेक पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा लगायतका स्थानमा पुग्ने गरेको छ । मङ्सिरदेखि वैशाखसम्म इँट्टा उत्पादन हुने समय भएको र त्यसपछिको ६ महिनासम्म वर्षा मौसममा यो उद्योग बन्द रहने गर्दछ । बेमौसमी वर्षाका कारण काँचो इँट्टा गलेर नष्ट भए पनि बजारमा इँट्टाको अभाव हुन नदिन आफूहरु लागिपरेको सङ्घका सचिव अजयकुमार गुप्ताले बताए । रासस