नव नियुक्त अर्थ सचिव डा राजन खनालद्वारा पद बहाली

पद बहाली गरेसँगै उनले भने, ‘मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकोले समृद्ध नेपाल तथा सुखी नेपाली भन्‍ने सरकारको नारालाई सफल बनाउन सबैले सक्रिय, निष्ठापूर्वक र कुनै पनि किसिमको मोलाहिजा नराखी काम गर्नु पर्छ ।

नव नियुक्त अर्थ सचिव डा राजन खनालले आज अर्थ सचिवको पद बहाली गरेका छन् । पद बहाली गरेसँगै उनले भने, ‘मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकोले समृद्ध नेपाल तथा सुखी नेपाली भन्‍ने सरकारको नारालाई सफल बनाउन सबैले सक्रिय, निष्ठापूर्वक र कुनै पनि किसिमको मोलाहिजा नराखी काम गर्नु पर्छ ।

आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्ने कार्यमा केही ढिलो हुन गएकाले बजेट तर्जुमाको काममा कुनै पनि खालको ढिलासुस्ती नगरी काममा लाग्न पनि सचिव खनालले निर्देशन दिए ।

सरकारको कोष मजबुत बनाउन राजस्व परिचालनलाई प्रभावकारी बनाउने, राजस्व चुहावट नियन्त्रण गर्ने, बढ्दै गएको अनौपचारिक अर्थतन्त्रलाई प्रभावकारी रुपमा नियमन गर्ने, सार्वजनिक खर्चमा देखिएको आर्थिक अनियमितता, अनुशासनहीनतामा कडाई गर्ने, अनावश्यक विदेश भ्रमणलाई नियन्त्रण गर्ने र सार्वजनिक संस्थानको लगानीलाई उत्पादनमूलक बनाउन सार्वजनिक संस्थान सञ्‍चालनको मापदण्ड निर्धारण गरी लागू गर्नुपर्ने कुरामा उनले जोड दिए ।

समष्टिगत आर्थिक परिसूचकहरु सोचेअनुसार हासिल हुन सकेका छैनन् तथ व्यापार घाटा बढ्दै गएको छ र सरकारी कोषको अवस्था मजवुद हुन सकेको छैन भन्दै उनले स्थानीय तहको क्षमता अभिवृद्धि गर्न पनि पर्याप्त स्रोत जुटाउनु पर्ने बताए ।

आफ्नो पदबहाली कार्यक्रममा सचिव खनालले भ्रष्टाचारमा शून्य सहनशीलता अवलम्बन गर्ने, सबै कर्मचारीले पारदर्शी, उत्तरदायी, जिम्मेवार र नैतिकवान भई कार्य सम्पादन गर्ने, आफ्नो सेवा सुविधाभन्दा पनि मुलुक र नागरिकको हितलाई केन्द्रमा राखी काम गर्ने, कुनै पनि कर्मचारीले व्यवहार, शैली, स्वभावबाट अशुद्धताको गन्ध आउने गरी काम नगर्न निर्देशन दिए ।