ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले विद्युतीय दुर्घटनाले निम्त्याउने वित्तीय जोखिम न्यूनिकरण गर्न तेस्रो पक्ष बीमा न्यायोचित हुने बताएका छन् ।
नेपाल विद्युत प्राधिकरण र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपालले विद्युतीय सुरक्षा दिवसका अवसरमा सोमबार राजधानीमा गरेको कार्यक्रममा मन्त्री पुनले विद्युतीय दुर्घटनामा पनि तेस्रो पक्ष बीमा लागू गर्न अगाडि बढ्नु पर्ने बताए ।
‘यातायात क्षेत्रमा तेस्रो पक्ष बीमा लागू गरिएकाले सडक दूर्घटना हुँदा क्षतिपूर्तिको माग राख्दै सडक अवरुद्ध गर्ने लगायतका क्रियाकलाप रोकिएका छन् भने पीडितले पनि क्षतिपूर्ति पाएका छन्’, उनले भने, ‘यसलाई विद्युतीय दुर्घटना पनि लागू गर्न सकियो भने वित्तीय जोखिम न्यूनिकरण गर्ने उपयुक्त विकल्प हुन सक्छ, यतातर्फ पनि अगाडि बढ्नु पर्छ ।’
प्राधिकरणका अनुसार, २०६८ को असारबाट हालसम्म सात सय ५२ विद्युतीय दुर्घटना भएका छन् । विद्युतीय दुर्घटनाबाट शारीरिकरुपमा अङ्गभङ्ग भएका व्यक्तिको उपचार खर्च र मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति वापत १२ करोड २० लाख रुपैयाँ खर्च भएको छ । चालू आर्थिक वर्षमा मात्रै विद्युतीय दुर्घटनामा परी आठ जनाएको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच जना प्राधिकरणका कर्मचारी र तीन जना सर्वसाधारण छन् । सुरक्षा सम्बन्धी उपकरण प्रयोग नगरी काम गर्दा हालसम्म भएका दुर्घटनामा ५० प्रतिशतभन्दा बढी प्राधिकरणकै कर्मचारी पर्ने गरेका छन् ।
हावाहुरी, चट्याङ जस्ता प्राकृतिक प्रकोप, प्राधिकरणको जीर्ण बितरण प्रणाली, धेरै लामो तारमार्फत विद्युतीकरण,घरायसी प्रयोजनका लागि कमसल विद्युतीय उपकरणको प्रयोग, हुकिङबाट विद्युत चोरी, जनचेतनाको अभावआदि कारणले विद्युतीय दुर्घटना हुने गरेको छ । मुलुकको आर्थिक समृद्धिका लागि ऊर्जा अनिवार्य भएको उल्लेख गर्दै मन्त्री पुनले विकसित नविनतम् तथा गुणस्तरीय प्रविधिको प्रयोगमार्फत सुरक्षित विद्युत प्रयोग गर्नेतर्फ सबै सचेत हुनु पर्ने बताए ।
ऊर्जा सचिव एवं प्राधिकरण सञ्चालक समिति अध्यक्ष अनुपकुमार उपाध्यायले मुलुकको विकासका लागि विद्युत बरदान भए पनि यसमाथि गरिने सानो लापरबाहीले ठूलो जनधनको क्षति हुनेतर्फ सबै सचेत हुनु पर्ने बताए । उनले भने, ‘कति पय अवस्थामा सेवा प्रदायकका हिसावले सुरक्षामा ध्यान नदिएर हामीबाटै लापरबाही भएको छ, सुरक्षामा कसैले खेलवाड नगरौं ।’
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय दुर्घटनाका कारण प्राधिकरणलाई अतिरित्त वित्तीय बोझ बढेको बताए । ‘दुर्घटना परेकाको उपचार खर्च तथा मृत्यु भएकालाई क्षतिपूर्ति वापत प्राधिकरणलाई वाध्यात्मक वित्तीय दायित्व सिर्जना भएको छ’, घिसिङले भने, ‘तसर्थ सुरक्षात्मक उपाय अपनाउनु भनेको मानवीय क्षति घटाउनु मात्रै नभई प्राधिकरणको वित्तीय अवस्था पनि सुधार गर्ने अभियान हो ।’ उनले प्राधिकरणको हालको ऊर्जा दक्षता तथा विद्युत चुहावट नियन्त्रण महाशाखालाई विद्युत सुरक्षाको पनि काम गर्ने गरी जिम्मेवारी दिइने बताए ।
प्राधिकरण बितरण सेवा तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानले प्राधिकरणकै कर्मचारीको मानवीय त्रुटीका कारणले दुर्घटना हुने गरेको बताए । ‘सुरक्षाका उपाय अपनाएर मात्रै पोल, तार लगायतको मर्मत सम्भारमा जान परिपत्र जारी गरिएको छ, तर कतिपय अवस्थामा त्यसको कार्यान्वयन भएको देखिंदैन, यसलाई कडाईका साथ पालना गर्नु पर्छ’,उनले भने ।
विद्युत सेवाको तीन स्तम्भका रुपमा रहेका विद्युत सुरक्षा, गुणस्तरिय सामानको प्रयोग एवं किफायति उपयोग र चुहावट नियन्त्रण कार्यको उपभोक्तामा वढि भन्दा वढि सचेतना र जागरुकता संचार गर्र्नु दिवस मनाउनुको मुख्य उद्देश्य रहेको आयोजकले बताएका छन् ।
यस वर्षको विद्युतीय सुरक्षा दिवसको नारा ‘विद्युतीय सुरक्षा, चुहावट नियन्त्रण र किफायति उपयोग ः सम्वृद्धिको लागी विद्युतको उत्पादनशील प्रयोग’ तय गरिएको छ ।