व्यावसायिक जडीबुटी खेती सुरु

मङ्गला गाउँपालिका र इलाका वन कार्यालय बाबियाचौरको पहलमा झाँक्रेपानी, धापुङ, किमचौर, सिरकुम, पूर्णगाउँ, थाइवाङ र हिदीमा सतुवाको खेती सुरु गरिएको हो ।

म्याग्दीकाे उच्च पहाडी क्षेत्रमा बाँझिएको जमिनको सदुपयोग र स्थानीयवासीको आयआर्जनमा सुधार ल्याउने उद्देश्यले मङ्गला गाउँपालिकामा व्यावसायिक जडीबुटी खेती सुरु गरिएको छ ।

मङ्गला गाउँपालिका र इलाका वन कार्यालय बाबियाचौरको पहलमा झाँक्रेपानी, धापुङ, किमचौर, सिरकुम, पूर्णगाउँ, थाइवाङ र हिदीमा सतुवाको खेती सुरु गरिएको हो । दशजना कृषक छनोट गरी उनीहरुलाई तालीमसँगै निःशुल्क बिरुवा वितरण गरेर सतुवा खेती सुरु गरिएको जिल्ला सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले बताए ।

धापुङका जितबहादुर मगर, झाँक्रेपानीकी सम्झना रोका, सिरकुमका खडानन्द सापकोटा, पूर्णगाउँका नरबहादुर खत्री, थाइवाङका दधीलाल जैसी, हिदीका हेम शेरपुञ्जा, विष्णु शेरपुञ्जालगायतले १७ हजार सतुवाको बिरुवा लगाएका छन् । जडीबुटी खेतीका लागि गाउँपालिकाले चालू आवमा १० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ ।

“हालसम्म पाँच लाख ७५ हजार रूपैयाँ खर्च भइसकेको छ,” उनले भने । समुद्री सहतदेखि एक हजार ५ सय मिटरदेखि दुई हजार ५ सय मिटरको उचाइको चिस्यान र मलिलो माटो भएको भूगोलमा सतुवा खेती गर्न सकिन्छ । सतुवा प्रतिकिलो १० हजारमा बिक्री भइरहेको छ । लगाएको एक वर्षमै सतुवाबाट आम्दानी लिन सकिन्छ ।

व्यावसायिक जडीबुटी खेतीप्रति कृषकलाई आकर्षित गरी उनीहरुको आयआर्जनमा सुधार र बाँझिएका खेतीयोग्य जमिनलाई प्रयोगमा ल्याउने उद्देश्यले सतुवा, टिम्मुरलगायत जडीबुटी खेतीको विस्तार गर्ने योजना रहेको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए ।