मुग्लिन सडकका साँघुरा पुलले यात्रुलाई सास्ती

चितवनको नारायणगढ मुग्लिन सडकखण्ड चौडा पार्ने काम अन्तिमतिर पुगे पनि साँघुरा पुलका कारण यात्रुलाई सास्ती उस्तै छ । पुलमा दुईतर्फी गाडी हिँड्न नसक्दा सडक जाम अझै रोकिएको छैन । अपराह्न ४ बजेपछि यहाँ सवारी खुल्दा यात्रुलाई घण्टाैं जाममा बस्नुपर्ने बाध्यता छ । यसरी जाम पर्दा माथिबाट ढुङ्गा खसेर ज्यानै जाने खतरा रहेको एक यात्रु रमेश नेपालले बताए । 'सडक निर्माण भएको स्थानमा समस्या...

चितवनको नारायणगढ मुग्लिन सडकखण्ड चौडा पार्ने काम अन्तिमतिर पुगे पनि साँघुरा पुलका कारण यात्रुलाई सास्ती उस्तै छ । पुलमा दुईतर्फी गाडी हिँड्न नसक्दा सडक जाम अझै रोकिएको छैन । अपराह्न ४ बजेपछि यहाँ सवारी खुल्दा यात्रुलाई घण्टाैं जाममा बस्नुपर्ने बाध्यता छ । यसरी जाम पर्दा माथिबाट ढुङ्गा खसेर ज्यानै जाने खतरा रहेको एक यात्रु रमेश नेपालले बताए ।

‘सडक निर्माण भएको स्थानमा समस्या छैन, नेपालले भने, पुलको मुखमा दुईटा गाडी नछिर्दा हिजोआज पनि घण्टाैं जामको पीडा छ ।’ सडक र पुलसँगसँगै नबनाउनाले समस्या परेको उनी बताउँछन् । नारायणगढ मुग्लिन सडकको करिब ३४ किलोमिटर क्षेत्रमा सडक चौडा पार्ने काम अहिले जारी छ । उक्त सडकमा १८ अाेटा पुल पर्छन् ।

त्यसमध्ये साना लगानीको खानीपुल, मौरीपुल, दासढुङ्गापुल र जलवीरे पुल नारायणगढ मुग्लिन सडक निर्माण आयोजनाले नै बनाउन थालेको छ । बाँकी १४ स्थानमा पुल निर्माण हुन सकेको छैन । नारायणगढ मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनाल अप्ठेरा पुल निर्माण हुन नसक्दा सडक जामको समस्या भने रहेको प्रतिक्रिया दिए ।

‘बाटो ११ मिटरको छ, पुल साढे पाँच मिटरको छ, खनालले भने, त्यस्ता पुलमा दुईटा गाडी जानै मान्दैनन् ।’ मुख्यगरी मुग्लिनदेखि जलविरेसम्मको सात किलोमिटर अझै सास्ती छ । सडक निर्माणको काम पनि सो क्षेत्रमा बाँकी नै छ ।

मुग्लिनबाट आउँदाको चारअाेटा पुल साँघुरा छन् । त्यसमध्य ३ नम्बर पुल भने अति जोखिमपूर्ण र साँघुरो छ । त्यही पुलमा बढी जाम हुँदा तीन/चार किलोमिटर परसम्मै गाडी रोकिन्छन् । सबै पुल निर्माण नहुँदासम्म भने यात्रुले सास्ती पाउने पक्का छ । एक त साँघुरो पुलले जाम पर्नुपर्ने र अर्काे माथिबाट खस्ने पहिरोको उत्तिकै जोखिम हुँदा यात्रु दोहोरो जोखिममा परेको एकजना यात्रु सूर्य अधिकारी बताउँछन् ।

नारायणगढ मुग्लिन सडक आयोजनाका अनुसार सडक निर्माणको काम भने करीब ८८ प्रतिशत सम्पन्न भएको छ । करीब ३४ किलोमिटरमध्ये २८.२ किलोमिटर कालोपत्रे भइसकेको नारायणगढ मुग्लिन सडक आयोजनाका इञ्जिनियर खनाल बताउँछन् । उनले आगामी वैशाख १५ सम्ममा सबै सक्ने गरी काम भइरहेको बताए ।