सिन्डिकेटविरुद्ध सरकार, यातायात व्यवसायी समितिको दर्ता खारेजी तयारी

मयूर यातायातले केही साता अघिबाट काठमाडौँदेखि बनेपासम्म यातायात सञ्चालन गरेपछि कोटेश्वरपूर्वका यातायात व्यवसायी आन्दोलित भएका थिए । व्यवसायीहरुले मयूर यातायात लाई सञ्चालनमा रोक लगाउने भन्दै केहि बसहरु तोडफोड गरी चक्काजामसमेत गरेका थिए ।

सिन्डिकेट खारेजीका लागि सरकार कठोर बन्दै गएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सोमबार सिन्डिकेट लागू गर्न चरणबन्द आन्दोलन गरी सरकारलाई घुँडा टेकाउने घोषणा गरे पनि सरकारले त्यसलाई बेवास्ता गर्दै दर्ता खारेजीको तयारी गरेको हो ।

मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री रामबहादुर थापाले यातायात व्यवसायी सङ्घ र समितिहरुको नवीकरण नगर्ने प्रस्ताव पेस गरेका छन् । हाल यातायात समितिहरु सङ्घसंस्था दर्ताअन्तर्गत जिल्ला प्रशासन कार्यालयमा दर्ता हुँदै आएका छन् । गृहमन्त्रीको यो प्रस्ताव पास भएमा सबै व्यवसायीहरुको दर्ता खारेजी हुने र नयाँ कम्पन्नी दर्ता गरेर मात्र यातायात सञ्चालन गर्न पाउनेछन् ।

‘यातायात व्यवसायीको माग कानुन विपरीत छ, त्यस्ता समितिको दर्ता नै खारेजी गर्नुपर्छ,’ राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जनले भने, ‘यातायात महासङ्घको गैरकानुनी निर्णय मान्दैनौँ ।’

यातायात व्यवसायीले नियम कानुन मान्दैनौँ भन्नु गैरजिम्मेवारीपन भएको भन्दै यसलाई अन्त्य गर्न सरकार कठोर बन्नुपर्ने राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष महर्जनको भनाइ छ ।

मयूर यातायातले केही साता अघिबाट काठमाडौँदेखि बनेपासम्म यातायात सञ्चालन गरेपछि कोटेश्वरपूर्वका यातायात व्यवसायी आन्दोलित भएका थिए । व्यवसायीहरुले मयूर यातायात लाई सञ्चालनमा रोक लगाउने भन्दै केहि बसहरु तोडफोड गरी चक्काजामसमेत गरेका थिए ।

व्यवसायीहरुको आन्दोलनपछि सरकारले सबै रुटमा रुट परमिट खुला गरेको थियो । रुट परमिट खुला गरेपछि कोटेश्वर पूर्व साझा यातायातले पनि सेवा दिन सुरु गरेको छ । पुरानो गाडी र सधँै कोचिएर यात्रा गर्नुपर्ने बाध्यता हटेपछि सो क्षेत्रका यात्रुहरु खुसी भएका छन् ।

सरकारले रुट पर्मिट खुला गरेको विरोधमा यातायात व्यसायीहरु चरणबद्ध आन्दोलन गर्ने निर्णयमा पुगेका छन् । सोमबार देशभरका यातायात व्यवसायीहरु राजधानीमा भेला भएर चरणबद्ध आन्दोलन गरी सरकारले घुँडा टेकाउने निर्णय गरेका थिए । ‘हामीले सरकारसँग कुरा गरिरहेका छौँ, सरकारले हाम्रा कुरा नसुने सशक्त आन्दोलनमा जान्छाँै,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष हरिशरण केशीले भने ।