एडीबीले नेपालको आर्थिक वृद्धिको प्रक्षेपण बढाएर भन्यो- चालू वर्ष ४.९ प्रतिशत

नयाँ गठन भएका स्थानीय र प्रदेश सरकारहरुको खर्चमा वृद्धि भए पनि कमजोर राजस्व परिचालनका कारण बजेट घाटा बढ्ने प्रक्षेपण

एसियाली विकास बैङ्क (एडीबी)ले नेपालको आर्थिक वृद्धिदरको आकलनलाई बढाएर ४.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ । यसअघि एडीबीले गत सेप्टेम्बरमा सार्वजनिक म्याक्रोइकोनोमिक अपडेटमा ४.७ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमानलाई बुधबार सार्वजनिक ‘एसियन डेभलपमेन्ट आउटलुक २०१८’ मा सच्याइएको हो । गत आर्थिक वर्षमा भने ६.९ प्रतिशत आर्थिक वृद्धि हुने गरिएको प्रारम्भिक अनुमानभन्दा एडीबीको अनुमान २ प्रतिशत बिन्दुले कम हो ।

सरकारले भने बजेटको मध्यावधि समीक्षामै मुलुकको आर्थिक वृद्धि केही खुम्चिने भन्दै ६ प्रतिशतको लक्ष्य तोकेको छ । आर्थिक वर्ष २०७४÷७५ को बजेटले चालू वर्ष ७.२ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यलाई सरकारले संशोधन गरेको थियो । यद्यपि मुलुकको आर्थिक वृद्धिको अन्तिम तथ्याङ्क भने केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गर्छ । चालू वर्षको आर्थिक वृद्धिको प्रारम्भिक अध्ययन आगामी वैशाख १५ भित्र सार्वजनिक गर्ने विभागको तयारी छ । अहिले जेसुकै विवरण सार्वजनिक गरेपनि अन्तिम विवरण भने सबै दातृ संघसंस्थाले विभागको तथ्याङ्कलाई आधिकारिक रुपमा लिने गर्छन् ।

कृषि उत्पादन घटेको (गत आर्थिक वर्षको तुलनामा यो वर्ष कोदो र मकैजस्ता बर्षे वालीको उत्पादन बढ्ने आकलन), उद्योगहरुको उपयोगिता क्षमता विस्तार हुन नसक्दा औद्योगिक वृद्धिदर कम हुने कारण आर्थिक वृद्धि खुम्चिने दाबी एडीबीले गरेको छ । एडीबीका अनुसार थोक तथा खुद्रा व्यापार विस्तार, वित्तीय मध्यस्थता र यात्रा तथा पर्यटन क्षेत्रका कारण सेवा क्षेत्र उत्साहजनक रहँदा आर्थिक वृद्धिमा धेरै नकारात्मक असर भने पर्ने छैन ।

‘प्रदेश तथा स्थानीय सरकारको स्थापनाका लागि आवश्यक निर्माण, भूकम्पपछिको पुनर्निमाणमा आएको तीव्रता र भूकम्पपीडितहरुलाई प्रदान गरिएको राहतको वितरणले आर्थिक वृद्धिलाई प्ररित गर्नेछ,’ एडीबीले भनेको छ, ‘चालू वर्ष सरकारी खर्च उल्लेख्य रुपमा बढेको र त्यसको आंशिक हिस्सा खर्च स्थानीय, प्रदेश तथा सङ्घीय निर्वाचनमा प्रयोग भएको मात्र नभई सङ्घीय सरकारको संरचनाअनुरुप स्थानीय र प्रदेश सरकारलाई २ खर्ब ३२ अर्ब २० करोड वित्तीय निकासा हुनुका साथै निजीक्षेत्रबाट जलविद्युत् तथा होटल क्षेत्रमा लगानी बढेका कारण आर्थिक वृद्धिमा सकारात्मक प्रभाव पार्छ ।’

एडीबी आगामी आर्थिक वर्षमा ५.५ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको छ । तर, त्यसका लागि मनसुन सामान्य हुनुपर्ने र चालू ठूला आयोजनाहरुले तीव्रता पाउने कुराले आगामी वर्षको आर्थि वृद्धि प्रभावित हुने एडीबीले जनाएको छ । एडीबीले ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना आगामी वर्ष राष्ट्रिय प्रसारण लाइनमा जोडिई विद्युत् आयात घट्ने अनुमान गरेको छ । उसले नयाँ गठन भएका स्थानीय र प्रदेश सरकारहरुको खर्चमा वृद्धि भए पनि कमजोर राजस्व परिचालनका कारण बजेट घाटा बढ्ने प्रक्षेपण गरेको छ । त्यस्तै, कमजोर विप्रेषण आयलाई निर्यात र पर्यटन क्षेत्रको आम्दानीले क्षतिपुर्ति गर्न नसक्दा चालू खाता बढ्ने उल्लेछ ।

एडीबीले गत वर्ष ४.५ प्रतिशत रहेको मुल्य वृद्धि यो वर्ष भने १ प्रतिशत बिन्दुले बढेर ५.५ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । तर, यो केन्द्रीय बैङ्कले राखेको मूल्यवृद्धि दर ७ प्रतिशतमा राख्ने लक्ष्यभन्दा कम हो ।