नीति तथा कार्यक्रममा मधेस आन्दोलन सुरु भएको दिन माघ ५ लाई ‘मधेस आन्दोलन दिवस’ मनाउने र प्रदेशको स्थायी राजधानीबारे छिट्टै निर्णय गरिने उल्लेख छ । प्रदेश २ मधेससमर्थित दल सङ्घीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी मिलेर सरकार बनाएका छन् ।
प्रदेश २ को सरकारले राजस्व र अनुदान बाँडफाँट गर्दा जनसङ्ख्या र मानव विकास सूचकाङ्क (एचडीआई)लाई आधारमा बनाउन माग गरेको छ । प्रदेश २ मा चालू आर्थिक वर्षको बाँकी अवधिका लागि नीति कार्यक्रम प्रस्तुत गर्दै केन्द्रीय सरकारसमक्ष यस्तो माग राखेको हो । सरकारले स्रोतसाधनको अभावमा जनअपेक्षाअनुसार काम गर्न नसकिएको भन्दै केन्द्रीय तबरबाट दिइने राजस्व र अनुदानलाई जनसङ्ख्यालाई मुख्य र एचडीआईलाई सहायक आधार बनाउनुपर्नेमा जोड दिएको हो ।
प्रदेश प्रमुख रत्नेश्वरलाल कायश्थले बुधबार प्रदेशसभामा सरकारको ६० बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै चालू वर्षको बाँकी अवधिमा नीतिगत, कानुनी तथा संरचनागत प्रबन्ध मिलाई सरकारी संयन्त्रलाई काम गर्न सक्ने बनाइने दावी गरेका छन् । प्रदेश २ को सरकारले औद्योगिक क्षेत्रहरुमा बन्दहडताल हुन नदिने कार्ययोजना पनि अघि सारेको छ । नीति तथा कार्यक्रममा भनिएको छ, ‘प्रदेश सरकारप्रति जनअपेक्षा धेरै छन् । तर, नीतिगत, कानुनी, संस्थागत एवं व्यवस्थापकीय प्रबन्धहरु नभएका कारण परिवर्तनको अनुभूति हुने गरी काम गर्न सकिएको छैन ।’
चालू वर्षका लागि केन्द्र सरकारबाट प्राप्त अनुदान रकम नै सरकार सञ्चालनको मूख्य स्रोत भएकाले जनतासँग गरेका प्रतिवद्धताहरु तत्काल पूरा गर्न सकिने स्थिति नरहेको कार्यक्रममा उल्लेख छ । प्रदेशसभाको निर्वाचन अगावै आएको चालू वर्षको सङ्घीय बजेटले हरेक प्रदेशका लागि १ अर्ब ७ करोड रुपैयाँ छुट्ट्याएको छ भने सबै राजस्व केन्द्रीय सरकारले उठाउने उल्लेख छ । आगामी वर्षदेखि मात्रै राष्ट्रिय प्राकृतिक वित्त आयोगले राजस्व तथा अनुदान हरेक प्रदेशलाई दिइने अनुदानको आधार तोकिदिनेछ । आगामी वर्षको सङ्घीय बजेट जेठ १५ गते र प्रदेश बजे असार १ गते ल्याउने व्यवस्था छ । हाल प्रदेश सरकारको आफ्नो आन्तरिक स्रोत परिचालन गर्न सक्ने अवस्था नरहेको नीति तथा कार्यक्रममा उल्लेख छ ।
नीति तथा कार्यक्रममा मधेस आन्दोलन सुरु भएको दिन माघ ५ लाई ‘मधेस आन्दोलन दिवस’ मनाउने र प्रदेशको स्थायी राजधानीबारे छिट्टै निर्णय गरिने उल्लेख छ । प्रदेश २ मधेससमर्थित दल सङ्घीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी मिलेर सरकार बनाएका छन् ।