बीमा संस्थान प्रशासकका लागि बन्यो नयाँ कार्यविधि

यसअघि गत पुस १६ गतेबाट प्रशासक नियुक्ति प्रक्रिया अघि बढाइएकोमा चैत १६ गते छनोट समितिले संस्थानको प्रशासक नियुक्ति प्रक्रिया नै खारेज गरेर आवेदकले बुझाएको परीक्षा दस्तुर फिर्ता गरेको थियो ।

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बिमा संस्थानको प्रशासक छनौट गर्न अर्थ मन्त्रालयले राष्ट्रिय बीमा संस्थानको प्रशासक छनौट तथा सिफारिससम्बन्धी कार्यविधि, २०७४ लागू गरेको छ । कार्यविधिअनुसार शैक्षिक योग्यतामा प्राप्त उपाधीअनुसार फरक फरक अङ्क दिइने उल्लेख छ ।

विद्यावारिधि (पीएचडी) गरेका आवेदकलाई थप २ नम्बर दिइनेछ भने स्नातकोत्तर प्रथम श्रेणीलाई १८, द्वितीय श्रेणीलाई १७ र तृतीय श्रेणीलाई १६ नम्बर दिइने छ । शैक्षिक योग्यता तथा तालिमलाई २५ अङ्क छुट्टयाइएकामा योग्यतालाई २० र तालिमका लागि ५ अङ्क निर्धारण गरिएको छ ।

त्यसैगरी कार्यानुभवलाई २५ अङ्क निर्धारण गरिएकोमा १५ वर्षभन्दा बढी समय काम गरेकालाई २५ अङक, १० देखि १५ वर्षलाई २३ र ५ देखि १० वर्षलाई २० अङ्क दिइने छ । कुल १५० अङ्कको परीक्षा हुने प्रशासकको परीक्षामा व्यावसायिक कार्ययोजना मूल्याङ्कनको आधार ४०, व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण मूल्याङ्कनको आधार ४० र अन्तर्वार्ता मूल्याङ्कनको आधार २० अङ्क बनाइएको छ । यसका पनि प्रक्रियाअनुसार छुट्टाछुट्टै मूल्याङ्कन गर्ने आधार तयार गरिएको छ ।

बीमा, व्यवस्थापन, वित्त, लेखा, अर्थशास्त्र, वाणिज्यशास्त्र, कानुन, गणित, तथ्याङ्क शास्त्र वा इन्जिनियरिङमा कम्तीमा स्नातकोत्तर वा स्नातक उत्तीर्ण, चार्टर्ड एकाउन्टेन्सी प्राप्त गरी व्यवस्थापकीय तहमा ५ वर्ष काम गरेका व्यक्तिले प्रशासकमा आवेदन गर्न सक्ने व्यवस्था कार्यविधिले गरेको छ । आवेदकले आफ्नो व्यक्तिगत विवरणसहित ५ हजार शब्दमा नबढ्ने गरी व्यावसायिक कार्ययोजना पेस गर्नुपर्ने उल्लेख छ ।

गत पुस १६ गतेबाट प्रशासक नियुक्ति प्रक्रिया अघि बढाइएकोमा चैत १६ गते छनोट समितिले संस्थानको प्रशासक नियुक्ति प्रक्रिया नै खारेज गरेर आवेदकले बुझाएको परीक्षा दस्तुर फिर्ता गरेको थियो । यसअघि अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुङ्गानाको संयोजकत्वमा रहेको छनौट समितिले कर्मचारी सञ्चय कोष र बीमा संस्थानमा एकै पटक प्रशासक नियुक्ति प्रक्रिया अघि बढाएपनि पछि बीमा संस्थानको भने रद्द गरेको थियो ।

त्यतिबेला प्रशासकका लागि संस्थानका निमित्त प्रशासक सुरेन्द्र थापा, दामोदर सापकोटा, गणेशराज कार्की, राजेन्द्रजङ्ग कार्की, रामदेव यादव र शिवहरि श्रेष्ठले आवेदन दिएका थिए । बीमा संस्थानमा तत्कालीन प्रशासक अश्विनीकुमार ठाकुरको पदावधि सकिएसँगै रिक्त छ । बीमा संस्थान ऐन २०२५ अनुसार प्रशासकको पदावधि तीन वर्षको हुन्छ ।