‘९५ प्रतिशत आयात र ५ प्रतिशत निर्यातलाई व्यापार घाटा भनिँदैन्,’ ओलीले भने, व्यापार घाटा हुनलाई ६०ः४० हुनुपर्छ । तबमात्रै व्यापार घाटा भएको भन्ने बुझिन्छ ।’ नेपालमा उत्पादन केही नभएको भन्दै ओलीले व्यवसायीलाई भने, ‘उत्पादन बढाउनुस्, व्यापार घाटा आफै कम हुन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली उद्योगीले थोत्रा मेसिनबाट उत्पादन गर्नुभन्दा आधुनिक प्रविधिको प्रयोगद्वारा उत्पादन गर्न सुझाएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घको ५२ औं साधारणसभा एवम् उद्योग वाणिज्य दिवस २०७४ को उद्घाटन गर्दै ओलीले विदेशबाट थोत्रा मेसिन ल्याउनु भन्दा आधुनिक प्रविधिको प्रयोग बढाएर उत्पादन गर्नुपर्ने आजको आवश्यकता भएको बताए ।
कार्यक्रममा बोल्दै ओलीले भने, ‘उद्योगले बढी उत्पादन गर्न आधुनिक प्रविधिको प्रयोग गर्नुको विकल्प छैन ।’ विदेशबाट पुराना तथा थोत्रा मेसिन ल्याउँदैमा उत्पादन नबढ्ने ओलीको भनाइ छ ।
ओलीले नेपालको व्यापार केही नभएकाले आयात बढेको बताए । ‘९५ प्रतिशत आयात र ५ प्रतिशत निर्यातलाई व्यापार घाटा भनिँदैन्,’ ओलीले भने, व्यापार घाटा हुनलाई ६०ः४० हुनुपर्छ । तबमात्रै व्यापार घाटा भएको भन्ने बुझिन्छ ।’ नेपालमा उत्पादन केही नभएको भन्दै ओलीले व्यवसायीलाई भने, ‘उत्पादन बढाउनुस्, व्यापार घाटा आफै कम हुन्छ ।’ उत्पादन बढाउन सरकारले गर्नुपर्ने सबै काम गर्ने बताए ।
‘सरकारले कुन कुन क्षेत्रमा के के गर्नुपर्यो,’ उनले भने, ‘जुन क्षेत्रमा सरकारी सहयोगले उत्पादन बढ्छ त्यो ठाउँमा सरकारको ठूलो सहयोग हुन्छ ।’ मङ्गलबार मात्रै माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको अवलोकन गरेर फर्किएका ओलीले भने, ‘आगामी मङ्सिरबाट लोडसेडिङ अन्त्य मात्रै हुँदैन, भारतबाट आयात हुने विद्युत् समेत कटौती हुुन्छ । भारतबाट विद्युत् आयात रोकिने बित्तिकै व्यापार घाटा दैनिक ४ अर्ब रुपैयाँ घट्न थाल्छ ।’अहिले सरकारले दैनिक ४ अर्ब रुपैयाँ रकम भारतलाई बुझाउँदै आएको उनको भनाइ छ ।
महासङ्घकी अध्यक्ष भवानी राणाले देश आर्थिक विकासको चरणमा पुगेको बताइन् । सम्पूर्ण राजनीतिक मुद्दा सकिएकाले अब देश आर्थिक चरणमा प्रवेश गरेको उनको भनाइ छ । राणाले ऊर्जाको विकास गर्न सरकारले आवश्यक कदम चाल्नुपर्ने बताइन् । अहिले पनि औद्योगिक क्षेत्रमा लोडसेडिङ पूर्ण रुपमा अन्त्य नभएको उनको भनाइ छ ।
कार्यक्रममा राणाले एकद्वार प्रणाली लागू गर्नुपर्ने, पूराना ऐन कानुनको संशोधन खारेज, निर्यात प्रवद्र्धन÷आयात प्रतिस्थापन, ब्याजदरमा सुनिश्चितता, समृद्धि अभियान दशक घोषणा, दोहोरो कर तिर्न नपर्ने सुनिश्चिततालगायतका विषयमा सरकार गम्भीर भएर लाग्नुपर्ने बताइन् ।