राराताल पुगेर प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रिय संकल्प आर्थिक समृद्धि’

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अभिभारा, संकल्प र कामको केन्द्रविन्दु आर्थिक समृद्धि भएको बताएका छन् । कर्णाली प्रदेशको मुगुमा रहेको रारा ताल बाट देशबासीको नाममा आज सम्बोद्धन गर्दै प्रधानमन्त्री ओलीले विगतका गुमाइएका मूल्यवान समयको समेत शोधभर्ना गर्न आर्थिक विकासको गतिलाई असाधारण तीव्रता दिइने समेत बताए ।

‘हामीले सन् २०२२ सम्ममा नेपाललाई अति अल्पविकसित अवस्थाबाट स्तरोन्नत गर्नुछ र सन् २०३० सम्ममा दिगो विकास लक्ष्यका १७ लक्ष्य तथा १६९ सहायक लक्ष्यका प्रतिबद्धतालाई पूरा गर्नु छ,’ उनले भने । कतिपयलाई यो उद्घोष महत्वाकांक्षी लाग्न सक्छ तर उच्च आकांक्षा नलिइकन, त्यसका लागि जोखिम नमोलिकन र त्यस निम्ति नयाँ नीति, संरचना र शैलीको अवलम्बन नगरीकन कुनै पनि राष्ट्रले फड्को मार्न नसक्ने उनले बताए । ‘यसलाई हामीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारामा अभिव्यक्त गरेका छौँ । सरकार विकासका गतिलाई योजनाबद्ध ढंगले अघि बढाउन प्रतिबद्ध छ,’ उनले भने ।

‘सार्वजनिक–निजी–साझेदारीलाई महत्वका साथ अघि बढाइनेछ । यस प्रसंगमा हामी एक्लैकाफी छौँ भन्दैनौँ, छिमेकी तथा अन्तर्रा्ष्ट्रिय मित्रहरु, वैदेशिक लगानीकर्ताहरु तथा वित्तिय संस्थाहरुसँग हातेमालो गरिनेछ । त्यसैले म यहीँबाट आह्वान गर्दछु, स्वदेशी तथा विदेशी लगानीकर्ताहरु ढुक्कसँग लगानी गर्नुहोस्,’ उनले भने ।

प्रधानमन्त्री ओलीले मुलुकमा अब आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर आएको बताउँदै मुलुकका समस्या समाधान गर्न सरकार सक्षम रहेको पनि स्पष्ट पारे ।

ओलीले पाँच बर्ष भित्रमा कृषि उत्पादकत्व चार गुणा बढाउने प्रतिबद्धता समेत जनाए । कृषिमा निर्भर दुई तिहाइ जनसंख्या लाई पाँच बर्ष भित्रमा २५ प्रतिशतमा सिमित गर्ने बताउदै कृषि पेशा बाटै नेपाललाई परिवर्तन गर्ने उदघोष गरेका छन् ।

कर्णाली प्रदेशको रारा ताल बाट पर्यटन बर्ष घोषणाको लागि पुगेका प्रधानमन्त्री ओलीले पर्यटन उद्योग एउटा प्रदेशको मात्र नभइ विकास र समृद्धी को मुख्य आधार भएको बताए । ‘पर्यटन प्रर्वद्धनका लागि पूर्वधार निर्माण,नेपालका पर्यटकीय सम्पदा ,गन्तव्यहरुको प्रचारप्रसार, वजार प्रवद्र्धन र पर्यटकीय सम्पदा को संरक्षण र सौन्दर्यमा विषेश ध्यान दिइने छ,’ प्रधानमन्त्री ओलीले भने ।

उनले राखेको मन्तव्यको पूर्णपाठ