चट्याङले ट्रान्सफर्मर जल्दा चार गाउँपालिकामा विद्युत् अवरुद्ध

शव स्टेशनमा रहेको १५०० केभीएको ट्रान्सफर्मरमा चट्याङले क्षति बनाएपछि धेरै ग्राहकलाई सहजताका साथ विद्युत् उपलब्ध गराउन नसकिएको प्राधिकरण सिन्धुली शाखाका प्रमुख लीलानाथ अर्यालले बताए ।

नेपाल विद्युत् प्राधिकरण सिन्धुली वितरण शाखामा रहेको ट्रान्सफर्मरमा चट्याङले क्षति पु¥याएपछि चार गाउँपालिकामा विद्युत् अवरुद्ध भएकाे छ । गत ३० गते दिउँसो पानीसँगै आएको चट्याङले विद्युत् प्राधिकरण सिन्धुली शाखामा रहेको शव स्टेशनको ट्रान्सफर्मरमा क्षति पुगेको थियो । हालसम्म ट्रान्सफर्मर जडान हुन नसक्दा उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् ।

शव स्टेशनमा रहेको १५०० केभीएको ट्रान्सफर्मरमा चट्याङले क्षति बनाएपछि धेरै ग्राहकलाई सहजताका साथ विद्युत् उपलब्ध गराउन नसकिएको प्राधिकरण सिन्धुली शाखाका प्रमुख लीलानाथ अर्यालले बताए । उक्त ट्रान्सफर्मरबाट सिन्धुलीको मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका, गोलन्जोर गाउँपालिका, तीनपाटन गाउँपालिका र कमलामाई नगरपालिकाका केही स्थानमा विद्युत् वितरण हुने गरेको थियो । ट्रान्सफर्मर जलेका कारण अहिले उक्त क्षेत्रमा विद्युत् उपलब्ध गराउन नसकिएको र छिट्टै विद्युत् उपलब्ध गराउनेतर्फ भने आफूहरू काममा निरन्तर लागि परेको उनले बताए ।

सो ट्रान्सफर्मर जडान गर्न अझै केही दिन लाग्ने भएकाले अबको दुई हप्तासम्म सहजताका साथ विद्युत् उपलब्ध नहुने उनले जानकारी दिए । यता दुई दिनदेखि ती गाँउपालिकामा विद्युत् नहुँदा मोबाइल तथा फोन चार्ज गर्न र सञ्चार सुविधाबाट समेत वञ्चित हुन परेको उपभोक्ताको गुनासो छ । सञ्चार सुविधाबाट वञ्चितसँगै कुटानी तथा पिसानीका मिल सञ्चालन नहुँदा नागरिक प्रत्यक्ष मारमा परेका छन् । दुई तीन दिनदेखि विद्युत् नआउँदा पनि प्राधिकरणले ट्रान्सफर्मर जडान तथा विद्युत् वितरणमा ध्यान नदिएको उपभोक्ताले आरोप लगाएका छन् । रासस