बिमा क्षेत्रको ज्ञान र सीप आर्जन गर्न करिब ६० देश भ्रमण गरिसकेका भण्डारीले चार लाखभन्दा बढि बिमा एजेन्टलाई प्रतिस्पर्धामा पछाडि पार्दै यो सफलता हासिल गरेका हुन् । कडा मिहिनेत र परिश्रमले नै यो सफलता हासिल भएको र यसले अझ मिहिनेत गर्न हौसला दिएको उनले बताए ।
नेपालको जीवन बिमा क्षेत्रमा प्रिमियम सङ्कलकका रूपमा नेपाली युवा अञ्जन भण्डारी उत्कृष्ट अभिकर्ता बनेका छन् । लाइफ इन्स्योेरेन्स कर्पोरेसन नेपाल (एलआईसी नेपाल)मा अभिकर्ताका रूपमा कार्यरत भण्डारीले यस वर्ष सबैभन्दा धेरै प्रिमियम सङ्कलन गर्ने अभिकर्ताका रूपमा स्थान बनाउन सफल भएका हुन् ।
भण्डारी यसअघि पनि लगातार दुई वर्ष नेपालको उत्कृष्ट जीवन बिमा अभिकर्ताका रुपमा सम्मानित भइसकेका छन् । भण्डारीले यो वर्ष पनि एलआईसीको विश्वभर भएका २१ ओटा शाखामध्ये नै सबैभन्दा धेरै प्रिमियम सङ्कलन गर्न सफल भएको र उत्कृष्ट अभिकर्तासमेत भएका छन् । उनले यसअघि पनि एलआईसीबाट उत्कृष्ट अभिकर्ताको सम्मान ग्रहण गरिसकेका छन् ।
उनलाई कम्पनीले उच्चतम बिमा शुल्क आर्जन गरेको भन्दै उत्कृष्ट अभिकर्ता भएको जानकारी समेत दिएको छ । यसअघि पनि उनलाई कम्पनीले लगातार दुई वर्ष सम्मान गरिसकेको छ । युवा अभिकर्ताक रुपमा परिचित २८ वर्षीय भण्डारी नेपालको बिमा क्षेत्रमा प्रिमियम सङ्कलन तथा सरकारलाई सोबापत बुझाउनुपर्ने करको क्षेत्रमा विगत ३ वर्षदेखि लगातार उत्कृष्ट हुँदै आएका छन् ।
बिमा क्षेत्रको ज्ञान र सीप आर्जन गर्न करिब ६० देश भ्रमण गरिसकेका भण्डारीले चार लाखभन्दा बढि बिमा एजेन्टलाई प्रतिस्पर्धामा पछाडि पार्दै यो सफलता हासिल गरेका हुन् । कडा मिहिनेत र परिश्रमले नै यो सफलता हासिल भएको र यसले अझ मिहिनेत गर्न हौसला दिएको उनले बताए ।
‘कम्पनीका कैयौं शाखा छन् र सयौं बिमा एजेन्ट छन्, उनीहरुलाई जित्नु निकै कठिन र महत्त्वपूर्ण हो,’ उनले भने । एक दशकदेखि नेपालको बिमा क्षेत्रमा सक्रिय युवा अभिकर्ता भण्डारी नेपालबाट अमेरिकास्थित बिमा व्यवसायीहरुको संस्था मिलियन डलर राउन्ड टेबलमा विगत ६ वर्षदेखि सदस्यसमेत रहेका छन् । उनी नेपालबाट सो संस्थामा टप अफ दि टेबलमा लगातार ३ वर्षदेखि सदस्य हुँदै आएका छन् । सो संस्थामा सदस्यताका लागि वार्षिक २ करोड ४० लाख रुपैयाँभन्दा बढी प्रिमियम संकलन गर्नुपर्ने हुन्छ ।
नेपालमा थोरै मानिसले मात्र हाल जीवन बिमा गरिरहेको हुँदा यसको सम्भावना अझै रहेको उनले बताए । ‘हाल केबल १० प्रतिशत नेपालीले मात्र बिमा गरेको अनुमान छ यसलाई जनचेतनामूलक गतिबिधिले बढाउन सकिने हुँदा यसको संभावना अझै धेरै छ,’ भण्डारीले भने ।
आम्दानीको निश्चित प्रतिशत सामाजिक कार्यमा खर्च गर्नुपर्ने सोचअनुसार भण्डारी आफ्नो व्यावसायिक गतिविधिका साथमा सामाजिक सेवामा समेत सक्रिय हुँदै आएका छन् । उनले हाल सिन्धुपाल्चोकमा रहेको आनन्द उच्च माविका ६ जना विद्यार्थीलाई निजी खर्चमा छात्रवृत्ति प्रदान गर्दै आएका छन् ।