अन्जन भण्डारी वर्षकै उत्कृष्ट जीवन बीमा अभिकर्ता

बिमा क्षेत्रको ज्ञान र सिप आर्जन गर्न करिब ६० देश भ्रमण गरिसकेका भण्डारीले ४ लाखभन्दा बढी बिमा एजेन्टहरुलाई प्रतिस्पर्धामा पछाडि पार्दै यो सफलता हासिल गरेका हुन् ।

नेपालको जीवन बिमा क्षेत्रमा प्रिमियम सङ्कलकका रुपमा अन्जन भण्डारी यो वर्ष पहिलो भएका छन् । बिमा क्षेत्रको ज्ञान र सिप आर्जन गर्न करिब ६० देश भ्रमण गरिसकेका भण्डारीले ४ लाखभन्दा बढी बिमा एजेन्टहरुलाई प्रतिस्पर्धामा पछाडि पार्दै यो सफलता हासिल गरेका हुन् ।

लाइफ इन्स्योेरेन्स कर्पोरेसन नेपाल (एलआईसी नेपाल)मा अभिकर्ताको रुपमा कार्यरत भण्डारीले यस वर्ष सबैभन्दा धेरै प्रिमियम सङ्कलन गर्ने अभिकर्ताको स्थान बनाउन सफल भएका हुन् । भण्डारीले एलआईसीका विश्वभर भएका २१ ओटा शाखाहरुमध्ये सबैभन्दा धेरै प्रिमियम सङ्कलन गर्न सफल भएका हुन् । भण्डारी यसअघि पनि लगातार दुई वर्ष नेपालको उत्कृष्ट जीवन बिमा अभिकर्ताको रुपमा सम्मानित भइसकेका छन् ।

युवा अभिकर्ताको रुपमा परिचित भण्डारी केवल २८ वर्षका छन् भने उनले नेपालको बिमा क्षेत्रमा प्रिमियम सङ्कलन तथा सरकारलाई सो बापत बुझाउनुपर्ने करको क्षेत्रमा विगत ३ वर्षदेखि लगातार उत्कृष्ट हुँदै आएका छन् । कडा मिहिनेत र परिश्रमले नै यो सफलता हासिल भएको र यसले अझ मिहिनेत गर्न हौसला दिएको उनले बताए ।

‘कम्पनीका कैयौं शाखाहरु छन् र सयौं बिमा एजेन्टहरु छन्, उनीहरुलाई जित्नु निकै कठिन र महत्त्वपूर्ण हो,’ उनले भने । एक दशकदेखि नेपालको बिमा क्षेत्रमा सक्रिय युवा अभिकर्ता भण्डारी नेपालबाट अमेरिकास्थित बिमा व्यवसायीहरुको संस्था मिलियन डलर राउण्ड टेबलमा विगत ६ वर्षदेखि सदस्य छन् । उनी नेपालबाट सो संस्थामा टप अफ दि टेबलमा लगातार ३ वर्षदेखि सदस्य हुँदै आएका छन् । सो संस्थामा सदस्यताका लागि वार्षिक २ करोड ४० लाख रुपैयाँभन्दा बढी प्रिमियम सङ्कलन गर्नुपर्ने हुन्छ ।

नेपालमा थोरै मानिसहरुले मात्र हाल जीवन बीमा गरिरहेका हुँदा यसको सम्भावना अझै रहेको उनी बताउँछन् । ‘हाल केवल १० प्रतिशत नेपालीले मात्र बिमा गरेको अनुमान छ, यसलाई जनचेतनामूलक गतिविधिले बढाउन सकिने हुँदा यसको सम्भावना अझै धेरै छ,’ भण्डारीले भने ।

आम्दानीको निश्चित प्रतिशत सामाजिक कार्यमा खर्च गर्नुपर्ने सोचअनुसार भण्डारी आफ्नो व्यावसायिक गतिविधिका साथमा सामाजिक सेवामा समेत सक्रिय हुँदै आएका छन् । उनले हाल सिन्धुपाल्चोकस्थित श्री आनन्द उच्च माविका ६ जना विद्यार्थीहरुलाई निजी खर्चमा छात्रवृत्ति प्रदान गर्दै आएका छन् ।