बजार अनुगमन रोकिएको छैन, व्यवस्थित हुँदैछ – उद्योग मन्त्री यादव

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले मिडियाले आफ्नो दिमाग खलबलाएको बताएका छन् । मन्त्री यादबको दबाबमा बजार अनुगमन रोकिएको विषयमा सञ्चार माध्यममा प्रकाशित समाचारप्रति लक्षित गर्दै यस्तो बताएका हुन् ।

‘मिडियाले दिमाग खलबलायो,’ मन्त्रालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री यादबले भने, ‘यसलाई सकरात्मक रुपमानै लिएको छु ।’
कमी कमजोरीलाई मिडियाले औंल्याए सच्चिन सघाउ पुग्ने बताए । आँफूले अनुगमन रोकेको नभई व्यवस्थित गर्ने प्रयास गरेको बताए । ‘बजार अनुगमनलाई नयाँ योजनाका साथ अघि बढाएका छौं,’ यादवले भने, ‘जनतालाई राहात दिन लागि परेका छौं ।’

कानुनी त्रुटीको कारण कारबाही गर्न कठिनाई भएको बताउँदै पूराना कानुन सच्चाउने बताए । अब हल्ला गरेर नभई गहिराईमा पुगेर अनुगमन गर्ने बताए । ‘बजार अनुगमनका नाममा धेरै हल्ला भए,’ उनले भने, ‘कसैसँग रिस उठेको भरमा चोर फटाहा भनेर दोष लगाउन मिल्दैन ।’

साना व्यवसायी भन्दा ठूला घरानामा अनुगमन गर्ने बताए । ‘ठूलालाई कारबाही गरे साना त्यसै सतर्क हुन्छन्,’ उनले भने, ‘एकीकृत रुपमा अनुगमन अघि बढ्छ ।’
मन्त्री यादव सञ्चार माध्यमप्रति पनि आक्रोशित रुपमा प्रस्तुत भएका थिए । ‘श्रमजिबी पत्रकारप्रति मेरो सम्मान छ,’ उनले भने, ‘तर, केही मिडियामा तस्क र भ्रष्ट कर्मचारीको लगानी छ । तीबाट सतर्क हुनुपर्छ ।’