अर्थ मन्त्रालयकै हुँदैन पुँजीगत खर्च, अरुलाई कुन नैतिकताले भन्ने ?

मन्त्रालयका अनुसार चालू वर्ष अर्थले पुँजीगत खर्चका लागि १ अर्ब ४५ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा दोस्रो चौमासिकसम्म जम्मा ४२ करोड रुपैयाँ मात्रै खर्च गरेको छ । बजेट विनियोजन गर्ने र कार्यान्वयन गर्न अन्य मन्त्रालय तथा निकायलाई निर्देशन दिने तथा प्रभावकारी अनुगमन गर्ने निकायकै पुँजीगत खर्चको स्थिति विजोग देखिएपछि अर्थमन्त्री डा युवराज खतिवडाले पुँजीगत खर्च वृद्धिमा केन्द्रित हुन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

बजेट विनियोजन र प्रभावकारी रुपले कार्यान्वयन गर्न निर्देशन दिने निकायका रुपमा रहेको अर्थ मन्त्रालयकै पुँजीगत खर्चको अवस्था दयनीय छ । अर्थले चालू वर्षको ८ महिनामा २८.८ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ ।

मन्त्रालयका अनुसार चालू वर्ष अर्थले पुँजीगत खर्चका लागि १ अर्ब ४५ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा दोस्रो चौमासिकसम्म जम्मा ४२ करोड रुपैयाँ मात्रै खर्च गरेको छ । बजेट विनियोजन गर्ने र कार्यान्वयन गर्न अन्य मन्त्रालय तथा निकायलाई निर्देशन दिने तथा प्रभावकारी अनुगमन गर्ने निकायकै पुँजीगत खर्चको स्थिति विजोग देखिएपछि अर्थमन्त्री डा युवराज खतिवडाले पुँजीगत खर्च वृद्धिमा केन्द्रित हुन मातहतका निकायलाई निर्देशन दिएका छन् । चालू वर्ष अर्थ मन्त्रालयअन्तर्गत कुल बजेट ८ अर्ब २० करोड रुपैयाँ विनियोजन भएकोमा ४ अर्ब ६५ करोड खर्च भई ५६.७ प्रतिशत प्रगति भएको छ । चालू खर्च ६ अर्ब ७५ करोड रुपैयाँ विनियोजन भएकोमा ८ महिनामा ४ अर्ब २३ करोड खर्च भई ६२.७ प्रतिशत प्रगति भएको छ ।

बुधबारको अर्थ मन्त्रालयको मन्त्रालयस्तरीय दोस्रो चौमासिक प्रगति एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक)को बैठकमा अर्थमन्त्री खतिवडाले अर्थ मन्त्रालयकै पुँजीगत खर्च कम भएको भन्दै रोष प्रकट गरेका थिए । उनले अर्थकै पुँजीगत खर्च निराशाजनक भएपछि कसरी अरुलाई पुँजीगत खर्च बढाउन दबाब दिनुहुन्छ भनेर कर्मचारीहरुलाई प्रश्न गरेका थिए ।

अर्थ मन्त्रालयले कार्यसम्पादन नतिजाको आधारमा मातहतका सबै निकायहरुको मूल्याङ्कन गर्ने भन्दै अर्थमन्त्री खतिवडाले नतिजाउन्मुख भई काम गर्न निर्देशन दिए । उनले आगामी दिनमा शोधभर्ना प्राप्तिलाई कार्यसम्पादनसँग आबद्ध गराइने कर्मचारीहरुलाई जानकारी दिए । हाल ३२ अर्बभन्दा बढी रुपैयाँ विदेशी दातृ निकायसँग शोधभर्ना लिन बाँकी छ ।

अर्थसचिव डा. राजन खनालले अर्थ मातहतका निकायले पूँजीगत खर्च बढाई विनियोजन कुशलता कायम गर्न निर्देशन दिए । त्यसअवसरमा राजस्व सचिव शिशिरकुमार ढुङ्गानाले सबै निकायले आफूले सम्पादन गरेको कार्यहरुको वित्तीय एवम् भौतिक प्रगति समयमै मन्त्रालयमा उपलब्ध गराई वित्तीय उत्तरदायित्व पूरा गर्न निर्देशन दिए । उनले बजेट विनियोजन भएका सबै कार्यक्रमहरु समयमै सम्पन्न गर्न पनि मातहतका निकायलाई निर्देशन दिए ।