उद्योगमन्त्री यादवसँग अष्ट्रेलियन राजदूतको भेट

उद्योगमन्त्री मातृकाप्रसाद यादवसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडले भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्री यादवको सचिवालयमा भएकोे भेटवार्तामा द्विपक्षीय चासो र हितका विषयमा छलफल भयो ।

उनले समृद्धिको बाटोमा अग्रसर सरकारले लगानीकर्तालाई प्रोत्साहित गर्ने नीति लिएको जानकारी दिँदै नेपालमा लगानी गर्न चाहनेका लागि खुला दिलले सहयोग गर्ने बताए ।

मन्त्री यादवले भने, “लगानीकर्ताको समस्या सम्बोधन गर्न सरकार प्रतिवद्ध छ, उत्पादन क्षेत्रमा लगानी गर्ने सबैलाई नेपालमा स्वागत छ, ढुक्क भएर लगानी गर्ने वातावरण छ ।”

चुलिएको व्यापारघाटा कम गर्न उत्पादन बढाउनुपर्ने र रोजगारी सिर्जना गर्नुपर्ने भएकाले त्यसतर्फ मित्रराष्ट्रको सहयोग अपेक्षा गरिएको बताउँदै उनले प्राविधिक शिक्षाका क्षेत्रमा सहयोग तथा लगानी विस्तार गर्न आग्रह गरे ।

उनले प्राविधिक शिक्षाका क्षेत्रमा विद्यालय खोल्नका लागि अष्ट्रेलियन सरकारले सहयोग गर्न सक्ने बताए । राजदूत पिटरले अष्ट्रेलिया सरकारको सहयोगमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम(युएनडिपी)ले सञ्चालन गर्दै आएको माइक्रो इन्टरप्राइजेज डेभलपमेन्ट प्रोग्राम(मेडेप)को यसै वर्षको जुलाईदेखि सम्पन्न हुन लागेको जानकारी दिए ।