उद्योग बचाउन बढाइएको चिनीको भन्सारदर प्रति व्यापारीको विरोध

आफ्नो देशको उत्पादन संरक्षण गर्न भारत, चीन, पाकिस्तानलगायतका देशले भन्सार दरलाई बढाएका छन् । स्वदेशी उत्पादन १५ प्रतिशत महँगाे भएपछि खपत गर्नुपर्छ ।

सरकारले स्वदेशी उद्योगलाई बचाउन आयातीत चिनीमा ३० प्रतिशत भन्सार लगाएपछि व्यवसायी त्यसको विरोधमा उत्रिएका छन् ।
सरकारले भन्सार बढाएपछि चोरी पैठारी बढेको भन्दै व्यवसायीहरु भन्सार वृद्धिको विरोधमा उत्रिएका हुन् । विदेशबाट सस्तो मूल्यमा चिनी नेपाल भित्रिएपछि स्वदेशी उद्योग तथा किसान त्यसको प्रत्यक्ष मारमा परेका थिए । किसान र उद्योगलाई बचाउन सरकारले १५ प्रतिशत भन्सारलाई बढाएर ३० प्रतिशत पु¥याएको हो ।

स्वदेशी उत्पादनको तुलनामा विदेशी चिनी सस्तो दरमा नेपाल भित्रिएको र स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसकेपछि सरकारले बाध्य भएर भन्सार बढाएको थियो । ‘नेपालको उत्पादन लागत बढी भएकै कारण स्वदेशी चिनी प्रतिस्पर्धी बन्न सकेको थिएन्,’ चिनी उद्योग सङ्घका अध्यक्ष शशिकान्त अग्रवालले भने, ‘अहिलेको सरकार उद्योगमैत्री भएकाले किसान र उद्योगको पक्षमा निर्णय गर्दा कसैले विरोध गर्नु आवश्यक छैन ।’

उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घले संयुक्त रुपमा पत्रकार सम्मेलनमा गरेर व्यवसायीले भारत तथा तेस्रो मुलुकबाट आउने चिनीको भन्सार दर घटाउन माग गरेका हुन् ।

अर्थमन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढ्ङ्गानाले सरकारले सोचविचार गरेर मूल्य बढाएकाले त्यसमा कुनै हेरफेर नहुने बताए । ‘भारत सरकारले आयातीत चिनीमा सतप्रतिशत भन्सार लगाएको छ,’ उनले भने, ‘स्वदेशी उद्योग संरक्षण गर्न सरकार अझै करोठ बन्दै जान्छ ।’ विदेशीको तुलानमा स्वदेशी उत्पादन १५ प्रतिशतसम्म महँगो भए पनि स्वदेशी वस्तु नै उपयोग गर्नुपर्ने अर्थ मन्त्रालयको भनाइ छ ।
मोरङ व्यापार सङ्घले विगतमा १५ प्रतिशत लिँदै आएको भन्सार मूल्यांकन दर बढाएर तीस प्रतिशत पु¥याउँदा समस्या भएको बताउँदै त्यसमा थप एकसय डलर भन्सार महशुल र १३ प्रतिशत भ्याट कायम हुँदा चिनीको मूल्य वृद्धि भई उपभोक्ता मारमा पर्ने व्यवसायीको दाबी छ ।

तर, चिनी उत्पादक सङ्घका अध्यक्ष अग्रवालले उपभोक्ता मूल्यमा कुनै असर नगर्ने बताए । मोरङ व्यापार सङ्घका अध्यक्ष पवनकुमार शारदाले सरकारले चिनीमा बढाएको भन्सार मूल्यांकन दरले आम उपभोक्ता थप मारमा परेको बताए ।

उद्योग सङ्गठन मोरङ अध्यक्ष मुकेश उपाध्यायले चिनीको भन्सार मूल्यांकन दर घटाउन सरकारसँग माग गरेका छन् । अर्थमन्त्रालयका अनुसार आफ्नो देशको उत्पादन संरक्षण गर्न भारत, चीन, पाकिस्तानलगायतका देशले भन्सार दरलाई बढाएको बताएको छ ।

तस्बिर : रासस