अब घर वा अफिसबाटै कर तिर्न सकिने, २४सै घण्टा सरकारी काराेबार

अर्थ मन्त्रालयले करदाता सेवा कार्यालय ठमेलबाट एक लाख रुपैयाँभन्दा कम राजस्व भुक्तानी घर वा कार्यालयबाट हुने गरी विद्युतीय सेवा सुरु गरेपछि कर तिर्न बैङ्क तथा वित्तीय संस्था वा कर कार्यालय धाइरहनुपर्ने अवस्थाको अन्त्य गरेको हो ।

करदाताले अबदेखि आफ्नै घर वा कार्यालयबाटै सरकारलाई कर तिर्न सक्ने भएका छन् । अर्थ मन्त्रालयले करदाता सेवा कार्यालय ठमेलबाट एक लाख रुपैयाँभन्दा कम राजस्व भुक्तानी घर वा कार्यालयबाट हुने गरी विद्युतीय सेवा सुरु गरेपछि कर तिर्न बैङ्क तथा वित्तीय संस्था वा कर कार्यालय धाइरहनुपर्ने अवस्थाको अन्त्य गरेको हो ।

बुधबार अर्थमन्त्रालयमा अर्थमन्त्री डा. युवराज खतिवडाले यो सेवाको सुरुवात गरेका हुन् । अर्थमन्त्रीमा नियुक्त भएकै दिन खतिवडाले विद्युतीय प्रणालीमार्फत् भुक्तानी गर्ने निर्णय गरेबमोजिम पहिलो चरणमा ठमेलबाट यो सेवा सुरु गरिएको हो । अर्थमन्त्री खतिवडाले राम्रो कामको सुरुवात भएको भन्दै केही अप्ठ्यारो परे सरल बनाउन सकिने बताए । । ‘करदाताले सहज रूपमा प्रयोग गर्छन्, त्यसमा विचार पुर्याउनु पर्छ,’ अर्थमन्त्री डा. खतिवडाले भने, ‘छिट्टै सबै राजस्व तिर्न सकिने व्यवस्था गर्छौं ।’

विद्युतीय हस्ताक्षर प्रमाणीकरणमा समस्या औंल्याउँदै उनले विद्युतीय माध्यमबाट कर तिर्ने व्यवस्थाका लागि छुट्टै कानुन बनाउने बताए । विद्युतीय माध्यमबाट ठेक्का लगाउँदा भौतिक मन्त्रालयको खर्च पनि एक तिहाइले घट्ने अर्थमन्त्री खतिवडाको दाबी छ । राजस्व बुझाउन दिउँसो नभ्याए राति फुर्सदमा पनि तिर्न मिल्ने भन्दै उनले प्रविधिमा आधारित प्रणाली भएकाले केही जोखिम हुनसक्ने भएपनि त्यसलाई न्यूनीकरण गर्दै जानुपर्नेमा जोड दिए ।

करदाताले आफ्नो कम्प्युटर, ल्यापटप र मोबाइलका माध्यमले विद्युतीय प्रणालीबाट (इलेक्ट्रोनिक पेमेन्ट सिस्टम)मार्फत् घर वा कार्यालयबाटै सिधै सरकारलाई राजस्व भुक्तानी गर्न सक्नेछन् । यो व्यवस्था लागू भएपछि कर तिर्न र भुक्तानी लिन धाउनु पर्ने अवस्थाको अन्त्य भई करदाताको समय बचत हुनेछ भने करदाता र कर अधिकृतबीचको चलखेल पनि रोकिन मद्दत मिल्नेछ ।

कार्यक्रममा राजस्व सचिव शिशिरकुमार ढुङ्गानाले आगामी आर्थिक वर्षमा देशैभर विस्तार गरिने बताए । त्यस्तै करदाताले आफ्नो क्रेडिट कार्ड, डेबिट कार्ड भए पीओएस मेसिनमार्फत पनि कर भुक्तानी गर्न सक्नेछन् । विद्युतीय भुक्तानीका लागि सरकारले नेपाल इलेट्रोनिक्स पेमेन्ट सिस्टम लिमिटेडमार्फत् चिप्स वा डेबिट कार्डमार्फत पीओएस मेसिनको प्रयोग गरी पैसा भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।