कमाएको पैसामध्ये तपाईंको कति बचत छ ?

प्रति व्यक्ति आम्दानीमा उल्लेख्य सुधार भएकाले त्यसको असर बचतमा पनि देखिएको हो । प्रतिव्यक्ति आम्दानी गत वर्षको भन्दा १ सय ४२ अमेरिकी डलर बढेर १ हजार ४ डलर पुगेको छ । यसअघि प्रव्यिक्ति आम्दानी ८ सय ६२ डलर थियो । कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा ४ खर्बभन्दा बढीले बढेर ३० खर्ब ७ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।

तपाईंले कुनै व्यापार व्यवसाय गर्नु भएको छ वा कहीँ रोजगारी गर्नु भएको छ भने नाफाका रुपमा वा ज्यालाका रुपमा पक्कै पनि आम्दानी प्राप्त गर्नु भएको छ । तपाईंले प्राप्त गर्ने आम्दानीका आधारमा केही राम्रो गर्ने योजना पनि बनाउनु भएको होला । तर, तपाईंले यथार्थमा कति पैसा बचेको छ भनेर कहिल्यै हिसाब गर्नु भएको छ ?

गर्नु भएको भए त तपाईं आफ्नो व्यावसाय वा कामलाई निकै राम्रोसँग हेरचाह गर्नुभएको छ र किफायति हुनुहुन्छ भन्ने बुझिन्छ । तर, कति पैसा बचेको छ भन्ने आँकलन गर्नुभएको छैन भने पनि तपार्इंले चिन्ता लिनुपर्दैन । किनभने तपाईंको वार्षिक बचत कति हुन्छ, सरकारले नै हिसाब गरेर औसतमा जानकारी दिने गरेको छ र तपाईंले आर्थिक वर्ष २०७४÷७५ मा कमाएको रकममध्ये ८४.९९ प्रतिशत दैनिक उपभोगमा खर्च गर्नुभएको छ भने १५.०१ प्रतिशत बचत गर्नुभएको छ । बचत गरेको रकम भोलिका लागि भनेर पुँजीका रुपमा कहीँ फेरि कि त लगानी गर्नुभएको छ, होइन भने बैङ्कमा निक्षेप गरेर राख्नु भएको छ ।

हो, केन्द्रीय तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको राष्ट्रिय लेखाअनुसार चालू वर्ष तपाईंले कमाएको एक सय रुपैयाँमा करिब ८५ रुपैयाँ दैनिक उपभोगमा खर्चनु भएको छ भने १५ रुपैयाँ बचतका रुपमा राख्नु भएको छ । यो बचत गत वर्षहरुको भन्दा बढी हो । यो तपाईंले मुलुकभित्रै गरेको आम्दानीको बचतको हिस्सा हो, अर्थात् यसलाई कुल गार्हस्थ्य उत्पादनमा बचतको हिस्सा भनेर बुझिन्छ । गत वर्ष यस्तो बचत ११ रुपैयाँ ९५ पैसा थियो भने त्यसअघिको वर्ष ४ रुपैयाँ ७ पैसा मात्र थियो । खासगरी कुल गार्हस्थ्य बचतले पुँजी निर्माणको काम गर्ने अर्थशास्त्रीहरु बताउँछन् ।

प्रति व्यक्ति आम्दानीमा उल्लेख्य सुधार भएकाले त्यसको असर बचतमा पनि देखिएको हो । प्रतिव्यक्ति आम्दानी गत वर्षको भन्दा १ सय ४२ अमेरिकी डलर बढेर १ हजार ४ डलर पुगेको छ । यसअघि प्रव्यिक्ति आम्दानी ८ सय ६२ डलर थियो । कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा ४ खर्बभन्दा बढीले बढेर ३० खर्ब ७ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।

तर, मुलुकबाहिर गरेको कमाइ भित्रिएको र मुलुकबाट बाहिरिएको रकमपछिको बचत भने उच्च छ । तर, यस्तो बचत गत वर्षहरुको भन्दा कम छ । यसलाई कुल गार्हस्थ्य उत्पादनमा कुल राष्ट्रिय बचतको हिस्सा भनेर बुझिन्छ । यस्तो बचत चालू वर्ष ४३.९४ प्रतिशत छ । यो गत वर्षभन्दा कम हो भने अघिल्ला वर्षहरुभन्दा बढी हो । गत वर्ष कुल राष्ट्रिय बचत ४५.५५ प्रतिशत थियो भने त्यसअघिको वर्ष ४०.११ प्रतिशत थियो ।