सार्कस्तरिय उसु प्रतियोगितासमेत खेलिसकेका खेलाडी तथा व्यवसायी श्याम विष्ट, धर्मपालसिंह रावत, विजेन्द्रसिंह रावत रमुन्नि विष्टले संयुक्त लगानीमा उक्त फनपार्क निर्माण गरेका हुन् ।
कैलालीको धनगढीमा १२ करोड रूपैयाँभन्दा बढीको लगानीमा आजबाट धनगढी फनपार्क सञ्चालनमा आएको छ ।
धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडमा अवस्थित फनपार्क दुई वर्षको समयावधिमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको हो । सार्कस्तरिय उसु प्रतियोगितासमेत खेलिसकेका खेलाडी तथा व्यवसायी श्याम विष्ट, धर्मपालसिंह रावत, विजेन्द्रसिंह रावत रमुन्नि विष्टले संयुक्त लगानीमा उक्त फनपार्क निर्माण गरेका हुन् । खेलाडी विष्टले केही वर्षको कोरिया बसाइँपछि नेपाल फर्केर यस क्षेत्रमा फनपार्कको सम्भावना देखेर पार्क निर्माण गरेको बताए ।
सञ्चालक विष्टले भने, ‘यस क्षेत्रमा हरेकवर्ष आयोजना हुँदै आएका विभिन्न खाले मेला तथा महोत्सवमा दर्शकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यभन्दा पनि व्यापारिक प्रयोजनका लागि मात्रै सञ्चालन गरिने भएकाले पार्क निर्माणको उद्देश्य व्यापारिक प्रयोजन मात्र नभई आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन समेत प्रदान गर्नु हो ।’
झन्डै अढाइ बिगाह क्षेत्रफलमा निर्माण गरिएको फनपार्कमा स्वीमिङ पुलसहित वेब पुल, किड्स पुल, मल्ट्रिल्यान्ड स्लाइड, ट्युबलाईट स्लाइड, पेन्डुलम, म्युजिकल फनटेन, ब्रेक डान्सलगायतका जलविहारमा आनन्द लिन सकिने सेवा उपलब्ध छन् ।
साथै फनपार्कमा रेष्टुरेन्टको समेत व्यवस्था गरिएको छ । बाहिरबाट आउने पर्यटकलाई रमाउनका लागि आवश्यक स्थान नभएपछि फनपार्क निर्माण गरेको अर्का सञ्चालक धर्मपाल सिंह रावतले बताए । सञ्चालक रावत पार्कले आन्तरिक पर्यटकलाई सबैभन्दा बढी राहत हुने बताउँछन् ।
नेपाल भारत सीमाक्षेत्र नजिकै रहेको उक्त फन पार्कको निर्माणबाट आन्तरिक पर्यटकसँगै भारतीय सीमावर्ती बजारका पर्यटक भित्रिनेसमेत अपेक्षा गरिएको छ ।
पार्क निर्माणबाट स्थानीयस्तरमा गरिएको करोडाैंको लगानीले स्थानीयवासीलाई रोजगारीलगायत नयाँ गन्तव्यसमेत थपिएको र यस क्षेत्रको विकासमा समेत थप टेवा पुग्ने भन्दै यहाँका बासिन्दाले खुसी व्यक्त गरेका छन् ।