नवलपरासीको कावासोती नगरपालिका–१४ अर्ग्यौलीका कृषकले यतिबेला स्थानीयस्तरमा बीउबिजनको अभाव हुन नदिन र बीउको संरक्षण गर्ने उद्देश्यले बीउ बैङ्कको स्थापना गरेका हुन् ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा बीउ बैङ्क स्थापनापछि कावासोती नगरपालिकासहित नवलपुर जिल्लाका किसानलाई बीउबिजन लिन सहज भएको छ । उक्त बीउ बैङ्कबाट स्थानीय जातका विभिन्न प्रजातिका ९ सय १६ प्रकारका बीउ कृषकले सजिलै पाउने छन् ।
नवलपरासीको कावासोती नगरपालिका–१४ अर्ग्यौलीका कृषकले यतिबेला स्थानीयस्तरमा बीउबिजनको अभाव हुन नदिन र बीउको संरक्षण गर्ने उद्देश्यले बीउ बैङ्कको स्थापना गरेका हुन् ।
लिवर्ड नेपालको सहकार्यमा स्थापना गरिएको उक्त बैङ्कमा स्थानीय जातका विभिन्न प्रजातिका करिब ९ सय १६ प्रकारका बीउ राखिएको छ । विसं २०६८ मा कोठा भाडामा लिएर स्थापना गरेको बीउ बैङ्कले २०६९ सालमा स्थानीय तथा नगरपालिकाको सहयोगमा आठ लाख २५ हजारको लागतमा आफ्नै भवन निर्माण गरी स्थानीयवासीलाई सेवा दिँदै आइरहेकाले बीउबिजनका लागि बाहिर जानुपर्ने बाध्यता हटेको स्थानीयवासी हरिजन चौधरीको भनाइ छ ।
पर्याप्त मात्रामा गुणस्तरीय बीउ किसानलाई उपलब्ध गराउन थालेपछि बीउ बैङ्कको महत्त्व पनि बढ्दै गएको छ । पहिले बीउ किन्न टाढाटाढा जानुपर्ने बाध्यता रहे पनि बीउ बैङ्क स्थापनापछि किसानलाई निकै सहज भएको स्थानीय कृषक लक्ष्मी सुवेदी बताउँछिन् ।
बैङ्कले स्थानीयस्तरमा राम्रो प्रभाव पार्दै गएको र बीउ बैङ्कका लागि आवश्यक बीउ स्थानीयवासीबाटै लिने भएकाले पनि उनीहरूलाई यसबाट थप सहयोग मिलेको बीउ बैङ्कका अध्यक्ष पार्वती भण्डारी उल्लेख गर्नुहुन्छ ।
किसानका लागि आवश्यक पर्ने बीउबिजन यस बैङ्कले उपलब्ध गराउन थालेपछि त्यहाँका किसान पनि खुशी भएका छन् । किसानले यस बैङ्कबाट उपलब्ध बीउको प्रयोग गरेपछि उनीहरुको उत्पादन पनि राम्रो भएको छ ।
अहिले किसानले आफूले उत्पादन गरेको बीउ आफूलाई आवश्यक पर्ने जति राखेर बढी भएको बीउ बैङ्कमा बेच्न ल्याउने भएकाले स्थानीय जातको बीउको पनि संरक्षण भएको छ ।
गाउँमा नै बीउ अभाव हुन नदिनका लागि शुरु गरिएको यस बैङ्कले साविक अर्ग्यौली गाउँ विकास समितिका नौअाेटै वडासहित नवलपुर जिल्लामा आवश्यक बीउ उपलब्ध गराउँदै आएको छ ।