२२८ मेगावाटका जलविद्युत् आयोजना धमाधम निर्माण

नेपाल विद्युत् प्राधिकरणले ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए र चिलिमको मुख्य प्रवद्र्धकत्वमा १११ मेगावाटको रसुवागढी, १४.८ मेगावाटको माथिल्लो सान्जेन तथा ४२.५ मेगावाटको सान्जेन जलविद्युत् आयोजनाको निर्माण धमाधम भइरहेको हो ।

नेपाल विद्युत् प्राधिकरण र चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा रसुवा र नुवाकोटमा २२८.३ मेगावाटका आयोजनाको निर्माण धमाधम भइरहेको छ । काममा कुनै अवरोध नआए सबै आयोजनाको निर्माण २०७६ भित्र सम्पन्न हुने बताइएको छ ।

नेपाल विद्युत् प्राधिकरणले ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए र चिलिमको मुख्य प्रवद्र्धकत्वमा १११ मेगावाटको रसुवागढी, १४.८ मेगावाटको माथिल्लो सान्जेन तथा ४२.५ मेगावाटको सान्जेन जलविद्युत् आयोजनाको निर्माण धमाधम भइरहेको हो । भूकम्प, बाढीपहिरो र नाकाबन्दीले गर्दा सबै आयोजनाको निर्माण प्रभावित भएको थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, सचिव अनुपकुमार उपाध्याय, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको टोलीले शुक्रबार, शनिबार र आइतबार स्थलगत निरीक्षण गरी निर्माणाधीन आयोजनाको काम तोकिएको समयभन्दा अगाडिनै सम्पन्न गर्न निर्देशन दिएको छ । टोलीले यसका लागि आवश्यक सहयोग गर्ने विश्वास दिलाएको छ भने ठेकेदार कम्पनीहरुले पनि तोकिएकै समयमा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।

टोलीले आयोजना, परामर्शदाता, ठेकेदार कम्पनीसँग आयोजनास्थलमै निर्माणमा देखिएका समस्या र समाधानका उपायका बारेमा छलफल गरेको थियो । मन्त्री पुनले भूकम्पछि तयार गरिएको नयाँ समय तालिकामा आयोजनाको निर्माण जुनसुकै अवस्थामा पनि सक्न निर्देशन दिए ।

‘सबै आयोजनामा तोकिएकै समयमा निर्माण सकिन्छ, तर यसका लागि यस्तो त्यस्तो हुनुपर्छ भन्ने गरेको पाइन्छ’, उनले भने, ‘अब तर भन्न पाइँदैन, आयोजनास्थलका समस्या यहीँ समाधान गर्नुहोस्, मन्त्रालय तहबाट समाधान गर्नुपर्ने समस्या भए भन्नुहोस् त्यसलाई तत्काल समाधान गर्न हाम्रो टिम सधैं तयार छ, तालिकाअनुसार नै काम सकी नमुना आयोजनाको रुपमा अगाडि बढाऔं ।ं’

नेपाल सरकार, प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैङ्कको सहुलियतपूर्ण ऋणमा बनिरहेको माथिल्लो त्रिशूली ३ एको निर्माण वैशाख ०७६ (३० अप्रिल २०१९)भित्र सक्ने लक्ष्य राखिएको छ । आयोजनाले निर्माण गरिहेको त्रिशूली ३ ए–मातातीर्थ २२० केभी प्रसारण लाइनको एक सय ४२ ओटा टावरमध्ये स्थानीयको अवरोधका कारण पाँच टावरको काम नै सुरु गर्न नसकिएको आयोजना प्रमुख फडिन्द्रराज जोशीले बताए । लागत सय समय बढ्न नदिन इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडलमा सिभिल विद्युत् गृह, बा“ध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सीजीजीसी)लाई जिम्मा दिइएको छ । समयमा निर्माणस्थल दिन नसक्दा, विद्युत् गृह भूमिगत बनाउने या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णय, भूकम्प लगायतका कारणले आयोजनाको निर्माण ढिलाइ भएको थियो । अहिले ठेकेदार कम्पनीको काम विगतमाभन्दा सन्तोषजनक रहेको र तोकिएकको समय अगावै सक्ने गरी काम भइरहेको जोशीले बताए ।

रसुवागढीको समग्र निर्माण प्रगति ६० प्रतिशत छ । आयोजनाले २०७६ साल पुस १५ देखि विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ । आयोजनाका विद्युत् जोड्न चिलिमे हब–त्रिशूली ३ बी प्रसारण लाइन हबको निर्माण हुनुपर्छ । रसुवागढी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत माधव कोइरालाले प्रसारण लाइन अभावमा विद्युत् खेर आउन नदिन सबै सरोकारवाला निकाय गम्भीर बन्नु पर्ने अवस्था रहेको बताए । उनले परामर्शदाता र ठेकेदार कम्पनीलाई विदेशी मुद्रा भुक्तानीका लागि सटही प्रक्रिया ज्यादै झन्झटिलो रहेकाले यसलाई सहज बनाइदिन आग्रह गरे ।

माथिल्लो सान्जेन र सान्जेनको समग्र प्रगति क्रमशः ७० र ६० प्रतिशत छ । सान्जेन जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले मुख्य सिभिल संरचना निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी कमजोर रहेकाले काम प्रभावित भइरहेको बताए । प्रसारण लाइनको निर्माण गर्न सरकारी जग्गा र बन क्षेत्रको रुख काट्ने स्वीकृतिका लागि सरकारी प्रक्रिया अत्यन्त झन्झटिलो रहेको उनले जानकारी गराए । आयोजनाले विद्युत् गृहबाट चिलिमे हबसम्म १३२ केभीको ७ किलोमिटर प्रसारण लाइन बनाउनु पर्छ ।

माथिल्लो सान्जेनबाट अप्रिल २०१९ बाट विद्युत् उत्पादनको लक्ष्य राखिएको छ । सान्जेनको भने नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्नुपर्ने चिलिमे हब–त्रिशूली ३ बी २२० केभी प्रसारण लाइनसँग समन्वय गरी काम अगाडि बढाउनु पर्ने भएकाले उक्त प्रसारण लाइन निर्माण हुने अवधि जुन—जुलाई २०१९ सम्म यस आयोजनाको पनि निर्माण सक्ने गरी कार्य अगाडि बढाइएको आयोजनाले जनाएको छ ।