दक्षिण एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इनभायरनमेन्ट (सावती) ले २०१५ को भूकम्पपछि नेपाल–चीन व्यापारको बदलिँदो आयाममाथि आयोजना गरेको छलफल कार्यक्रममा दुवै देशबीच सीमा सम्बन्धबारे चर्चा भयो ।
भूकम्पबाट क्षति भएकाले रसुवाको तातोपानीबाट अझ पनि पूर्ण रुपले यातायात व्यवस्थापन हुन सकेको छैन । तर यसले नेपाललाई आफ्नो व्यापारमार्गको विविधता दिने अवसर दिएको व्यापार विशेषज्ञहरुले बताएका छन् । दक्षिण एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इनभायरनमेन्ट (सावती) ले २०१५ को भूकम्पपछि नेपाल–चीन व्यापारको बदलिँदो आयाममाथि आयोजना गरेको छलफल कार्यक्रममा दुवै देशबीच सीमा सम्बन्धबारे चर्चा भयो ।
भूकम्पपछि तातोपानी सीमा बन्द हुँदा चीनसँग नेपालको व्यापार भारतीय सामुद्री मार्गबाट गर्नुपरेकाले १८ देखि ६२ प्रतिशत महँगो हुने सावतीका अनुसन्धान निर्देशक डा. पारस खरेलले बताए । भूकम्पपछि पुनर्निर्माणका गतिविधि तथा व्यापारमा फर्के पनि भारतले गरेको नाकाबन्दीले २०१५–०१६ मा अनुमानभन्दा २० प्रतिशत निर्यात घटेको उनको भनाइ छ ।
केरुङ नाकाले चीनको बेल्ट तथा रोड पहलका माध्यमले नेपाललाई युरोपसँग जोड्न सक्षम हुने वाणिज्य मन्त्रालयका सहसचिव रविशङ्कर सैंजुले बताए । कोलकाता अथवा हल्दियाको तुलनामा राम्रो रहेको विशाखापट्टनम बन्दरगाहको उदाहरण दिँदै व्यापारीहरुलाई नयाँनयाँ मार्ग अपनाउन खुला हुन वाणिज्य मन्त्रालयका सहसचिव रविशङ्कर सैंजुले आग्रह गरे ।
केरुङ नाका खोल्ने टिममा संलग्न वाणिज्य मन्त्रालयका पूर्वसहसचिव जीवराज कोइरालाले सीमाको अधिकतम उपयोग गर्न नेपालले सीमामा पारस्पारिक मान्यताप्राप्त प्रयोगशाला बनाउनुपर्नेमा जोड दिए ।
तातोपानी नाकाबाट चीनसँग व्यापार गर्ने व्यापारीहरुको लागत बढेको नेपाल ट्रान्स हिमालय सीमा वाणिज्य सङ्घका अध्यक्ष बच्चु पौडेलले बताए । कार्यक्रममा वरिष्ठ अर्थविद् तथा पूर्व सांसद डिल्लीराज खनालले चीनसँग बढ्दो सीमा सम्पर्कबाट लाभ लिन निर्यातमा विविधीकरण गर्नुपर्ने बताए ।