नेपाल अन्डा उत्पादन सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार भारतका ठूला होटल, डिपार्टमेन्टल स्टोर्सलगायत ठूला व्यापारिक प्रतिष्ठानमा नबिकेर फर्किएका अन्डा लुकाएर नेपाल पठाउने गरिएको हो ।
भारतीय व्यवसायीले रातो अन्डा उत्पादन गरी लुकार्इछिपार्इ नेपाल पठाउन थालेपछि आत्मनिर्भर बनेको यहाँको अन्डा उत्पादन व्यवसायमाथि चुनौती थपिएको छ ।
यसअघि भारतमा सेतो अण्डामात्र उत्पादन हुने भएकाले सिमानामा रोकिने र आसपासका क्षेत्रमा छिर्नासाथ थाहा हुने भएकाले नेपाल भित्र्याउन कठिन हुने गर्थ्यो । भारतमा उत्पादन भएका अन्डा नेपाल भित्र्याउन नपाइने कानुनी व्यवस्था छ तर अहिले रातो अन्डा अवैधरुपमा भित्र्याउन सहज हुँदै आएको छ । नेपाल अन्डा उत्पादन सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार भारतका ठूला होटल, डिपार्टमेन्टल स्टोर्सलगायत ठूला व्यापारिक प्रतिष्ठानमा नबिकेर फर्किएका अन्डा लुकाएर नेपाल पठाउने गरिएको हो । यसका साथै चल्लाका लागि ह्याचरीमा राखेर चल्ला कोरल्न असफल भएका अन्डा पनि अवैधरुपमा नेपाल पठाउने गरिएको छ ।
नेपालमा अन्डा उत्पादनका लागि लोम्यान र हाइल्यान जातका कुखुरा प्रख्यात छन् । यससँगै हाई सेक्स र इसव्रान पनि थोरै संख्यामा नेपालमा पालिँदै आएको छ । तिनले रातो रङको अन्डा पार्ने गर्छन् । पोल्ट्री व्यवसायी डा तिलचन्द्र भट्टराईका अनुसार भारतमा सेतो अन्डा पार्ने लोम्यान र डाडकक जातका कुखुरा पालिँदै आएको छ । पछिल्लो समय रातो अन्डा पार्न किङ स्टङ पालिँदै आएको व्यवसायीले बताएका छन् ।
भारतमा नेपालमा भन्दा २० प्रतिशत कम लागतमा अन्डा उत्पादन हुने उनले बताए । भारतमा ठूला फार्म छन् । एउटै फार्ममा ८–१० लाख कुखुरा पालिने, दाना उत्पादन लागत कम हुने, सरकारी अनुदान हुने, बैङ्क ब्याज कम हुनेलगायतका कारण लागत मूल्य कम हुने गरेको बताइन्छ । पोल्टी व्यावसायी भट्टराईले भारतीय अन्डा नेपाल छिर्नु यहाँका व्यवसायीका लागि चुनौती भएको बताए । सीमा क्षेत्रमा क्वारेन्टाइनमा कडाइ नगरिएमा ठूलो लगानी भएको आत्मनिर्भर यो व्यवसाय प्रभावित हुने उनले बताए ।
भारतीय सीमा क्षेत्र वीरगञ्ज, ठूटीबारी, जनकपुर, सिराहा, धनगढी, बहादुरगञ्ज, महेन्द्रनगर, त्रिवेणीलगायतका ठाउँबाट धेरै अन्डा भित्रिने सङ्घका अध्यक्ष कँडेलले जानकारी दिए । भारतमा उत्पादन हुने रातो अन्डाको आकार सानो र फुस्रो रातो हुन्छ भने नेपालमा उत्पादन हुने अन्डा चिल्लो रातो र ठूलो हुने भएपनि जो कोहीले आँखाले सहजै पत्ता लगाउन नसक्ने भएकाले अवैधरुपमा भित्रन सहज भएको उनले बताए ।
नेपालमा पोल्ट्री क्षेत्रमा ८० अर्ब रूपैयाँ हाराहारी लगानी भएको छ । उनका अनुसार आधा लगानी अन्डा उत्पादनका लागि भएकाले समयमा नै अवैध रुपले भित्रिएका अन्डा रोक्न नसके यहाँका व्यवसायी धरासायी हुने छन् । नेपालमा अन्डा उत्पादन गर्ने व्यवसायी दुई हजार हाराहारीमा छन् भने एक लाख ५० हजारभन्दा बढीले प्रत्यक्ष रोजगार पाएका छन् । रासस