असिना पानीले बगरमा लगाइएको काँक्रा, लौका, तितेकरेला, तरभुजालगायत बालीमा क्षति पुर्याएको हो ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गएराति परेको असिनापानीका कारण तरकारी बालीमा क्षति पुगेको छ । असिना पानीले बगरमा लगाइएको काँक्रा, लौका, तितेकरेला, तरभुजालगायत बालीमा क्षति पुर्याएको हो ।
नगरपालिकाको कृषि सेवा शाखाका अनुसार १२ बिघामा लगाइएको बगर खेतीमा २५ लाख रूपैयाँभन्दा बढीको क्षति भएको छ । वडा नं २, ३, ४ र ११ मा लगाइएका बेमौसमी मकै, बाली, मुङ र केरा खेतीमा क्षति पुर्याएकोे शाखाका प्रमुख वीरबहादुर कुँवरले बताए । ‘चारअाेटै बालीमा सात लाख रूपैयाँभन्दा बढीको क्षति भएको पाएका छौँ,’ उनले भने, ‘असिना पानीसँगै आएको हावाहुरीले बोट ढालेको र असिनापानीले चुट्दा पूरै बाली नै सखाप हुनाका साथै आँप र लिचीमा लागेका ९० प्रतिशत दान झारीदिँदा किसान समस्यामा परेका छन् ।’
शुक्लाफाँटाको पिपलाडीका किसान लक्ष्मण चौधरीले असिनापानीले खेतमा लगाइएको गोलभेँडा पूरै फुटालेर कामै नलाग्ने बनाएर नोक्सानी गरेको बताए । पाँच कट्ठा जग्गामा लगाइएको गोलभेँडा पाकेर टिप्ने तरखरमै थियौँ उनले भने, ‘टिप्न नपाउँदै पूरै बाली नोक्सान भएको छ ।’
यहाँका व्यावसायिक तरकारी र फलफूल खेतीमा संलग्न किसानले प्राकृतिक प्रकोपले पुर्याएको क्षतिको पूर्ति गरिदिन मागसमेत गरेका छन् । रासस