रिजेन्सी होटलको प्रतिफल २५ वर्षमा शून्य

समितिको क्षेत्राधिकारमा रहेको ३ सय ४ रोपनी जग्गा र घरमध्ये १ सय ५० रोपनी जग्गा र दुई करोड रूपैयाँ बराबरको घरमा गरिएको सेयर लगानीको कुनै हिसाब किताब नभएको भन्दै महालेखाले कारवाहीका लागि सिफारिस गरेको हो ।

महालेखा परीक्षकको कार्यालयले नीतिगत एवम् आर्थिक विषयमा अनियमितता गरेको भन्दै तारागाउँ विकास समितिका पदाधिकारीलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको क्षेत्राधिकारमा रहेको ३ सय ४ रोपनी जग्गा र घरमध्ये १ सय ५० रोपनी जग्गा र दुई करोड रूपैयाँ बराबरको घरमा गरिएको सेयर लगानीको कुनै हिसाब किताब नभएको भन्दै महालेखाले कारवाहीका लागि सिफारिस गरेको हो ।

सुरुमा ३९.७७ प्रतिशत गरिएको सेयर लगानी घटेर हाल ९.०१ प्रतिशत कायम भएको छ । यस्तै बाँकी रहेको १ सय ५४ रोपनी जग्गा पुनः मूल्याङ्कन गर्ने विषयमा संसद्को सार्वजनिक लेखा समितिले पटक पटक निर्देशन दिएको थियो । समितिको निर्देशनसमेत कार्यान्वयन नभएको भन्दै महालेखाले जिम्मेवार अधिकारीलाई कारवाही गर्न निर्देशन दिएको हो ।

यस्तै समितिको नयाँ सडकस्थित भवनको पसल भाडाबापतको बक्यौता ३८ लाख ७७ हजार रूपैयाँ छ । सम्बन्धित पदाधिकारीलाई जिम्मेवार बनाई सम्झौता तथा प्रचलित कानुनअनुसार बक्यौता असुल गर्न महालेखाले सरकारलाई निर्देशन दिएको हो । सञ्चित नाफा कमाउने उद्देश्यले नै कुनै पनि व्यापार व्यवसाय गरिन्छ, तर तारागाउँ विकास समितिले सञ्चालनको २५ वर्षसम्म कुनै प्रतिफल नदिएको पाइएको महालेखाले औँल्याएको छ ।

महालेखापरीक्षकको प्रतिवेदनअनुसार समितिले आर्थिक वर्ष २०५०/५१ मा तारा गाउँ रिजेन्सी होटल लिमिटेडको साधारण सेयरमा १७ करोड रूपैयाँ लगानी भएको थियो । त्यसमा १ सय ५० रोपनी जग्गाको मूल्य १५ करोड र घरको मूल्य दुई करोड रूपैयाँ मूल्याङ्कन गरिएको थियो । लगानीबापत ३९.७७ प्रतिशत सेयर प्राप्त गरेकामा हालसम्म सेयर लगानीबाट प्रतिफल प्राप्त नभएको महालेखाले जनाएको छ ।

समितिको स्वामित्वमा रहेको, १ सय ५० रोपनी जग्गा हाल तारा गाउँ रिजेन्सी होटल लिमिटेडलाई भाडामा दिएकामा जग्गाको पुनःमूल्याङ्कन हुन सकेको छैन । बौद्धस्थित अधिग्रहणबाट प्राप्त ३ सय ४ रोपनी जमिनमध्ये बाँकी १ सय ५४ रोपनी जग्गा होटल सञ्चालनमा आएको पाँच वर्षभित्र सोही होटलबाट निष्कासित १७ प्रतिशत अग्राधिकार सेयर वा साधारण सेयरमा लगानी गर्नुपर्ने व्यवस्था गरिएको थियो ।

संसद्को सार्वजनिक लेखा समितिले २०५० साल पुस २१ गते र २०५० साल चैत १८ मा घर जग्गाको यथार्थ मूल्याङ्कन गर्न निर्देशन दिएको थियो । समितिले १ सय ५० रोपनी जग्गामा अन्तर्राष्ट्रियस्तरको होटल सञ्चालन गर्न प्रस्ताव गरेको थियो । सोही प्रस्तावअनुसार नै समितिले तोकेको मूल्याङ्कनलाई स्वीकार गरी प्रचलित नियमबमोजिम होटल सञ्चालन गर्न समितिसँग सम्झौता भएकोे थियो तर नियमसंगत तवरले सम्झौता नभएको र प्रतिफल कमाउन स्थापना गरिएको संस्थाले नियमअनुसार काम नगरेको भन्दै महालेखाले समितिलाई आफ्नो हितलाई ध्यानमा राखी कारवाही अगाडि बढाउनु पर्ने देखिएको जनाएको छ ।

तारागाउँ रिजेन्सी होटेल लिमिटेडले प्रकाशित गरेको आव २०७२/७३ को वित्तीय विवरणअनुसार होटेलको सेयर पुँजी एक अर्ब ८९ करोड रूपैयाँको ९.०१ प्रतिशतले १६ करोड ९९ लाख रूपैयाँ मात्र समितिको सेयर देखिएको छ । उक्त परिमाणको सेयर र जग्गाको यथार्थ मूल्याङ्कन नभएको महालेखाको भनाइ छ ।

तारा गाउँ विकास समितिका अध्यक्ष नारदकुमार लुइँटेलले महालेखाले औँल्याएको कमजोरी यथार्थसँग नजिक रहेको उल्लेख गर्दै थप अनुसन्धान हुनुपर्ने बताए । उनका अनुसार होटलले राम्रै नाफा कमाए पनि खर्च बढी देखाएर २५ वर्षसम्म घाटामा रहेको देखाएको पाइएको छ । विगत १० वर्षदेखि होटल नाफामा नै रहेको जानकारी आफूलाई प्राप्त भए पनि होटल व्यवस्थापनले सधैँ घाटा देखाउने गरेको अध्यक्ष लुइँटेलको भनाइ थियो ।

जग्गाको पुनःमूल्याङ्कन गरी हिसाब किताब पारदर्शी बनाउनुपर्ने माग आफूले विगतदेखि नै राख्दै आएको, सञ्चालक समितिको बैठकमा समेत सहभागी नभएको जानकारी दिँदै अध्यक्ष लुइँटेलले बजार मूल्यअनुसार जग्गाको मूल्य १५ अर्ब बराबर रहेको बताए । उनले भने, “हिसाब पारदर्शी नभएका कारण सञ्चालक समितिको बैठकमा विगत साढे दुई वर्षदेखि म सहभागी छैन । महालेखाले सबै हिसाब नियन्त्रणमा लिएर थप अध्ययन गर्नु पर्यो । जग्गाको पुनःमूल्याङ्कन गर्नुपर्यो । फर्जी हिसाब देखाएर होटल व्यवस्थापनले घाटा देखाइरहेको छ ।” अध्यक्ष लुइँटेलका अनुसार सो कम्पनीमा ४८ हजार ुेयरधनी छन् ।

होटल सञ्चालकको सुरुअाती चरणमा १ सय ५० रोपनी जग्गाको मूल्याङ्कन गरी १५ करोड रूपैयाँ लगानी गरिएको भए पनि हालसम्म प्रतिफल प्राप्त हुन सकेको छैन । होटल व्यवस्थापनले सुरुमा २५ करोड रूपैयाँ लगानी गरेको थियो ।

हाल सो होटलको अध्यक्षमा भारतीय नागरिक राधेश्याम सर्राफ, अरुण सर्राफ प्रबन्ध निर्देशक, दिनेशलाल श्रेष्ठ र सुरेशलाल श्रेष्ठलगायतले व्यवस्थापन गर्दै आएका छन् । रमेश लम्साल र सिवी अधिकारी/रासस