विकसित राष्ट्रहरू नै विश्वव्यापीकरणको विपक्षमा : विनोद चौधरी

अध्यक्ष चौधरीले लगानीकर्ताका लागि विकासशील राष्ट्रहरू (इमर्जिङ इकोनोमी)मा मात्रै बढी जोखिम हुने विश्लेषण सत्य नरहेको र विकसित राष्ट्रहरूले पनि सोही चरित्र अवलम्बन गरिरहेको भन्दै आलोचना गरे ।

चौधरी ग्रुपका अध्यक्ष एवम् सांसद विनोद चौधरीले विश्वका विकसित राष्ट्रहरू नै विश्वव्यापीकरणको विपक्षमा सक्रिय हुन थालेको बताएका छन् ।

‘विकसित राष्ट्रहरूले आज अन्तर्राष्ट्रिय व्यापारका ढोका बन्द गर्ने सुरसार कस्दैछन् र आफ्नो बजार र रोजगारीलाई सुरक्षित गर्न लागिपरेका छन्,’ अमेरिकाको लस एन्जलसमा मिल्केन इन्स्टिच्युटद्वारा आयोजित विश्व सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले भने, ‘यसको मतलब के अब हामी विश्वव्यापीकरणको मान्यतालाई अन्त्य गर्न चाहिरहेका छौँ ?’

पछिल्लो समय अमेरिकी ट्रम्प प्रशासनले चिनियाँ उत्पादनलाई अमेरिकी बजार प्रवेशमा अवरोधको नीति लिएसँगै यो विषय विश्वव्यापी बहसमा आएको छ । अमेरिकी सरकारले लिएको नीतिको प्रतिक्रिया स्वरूप चिन सरकारले पनि अमेरिकी उत्पादनमाथि आफ्नो बजारमा कडाइको नीति अवलम्बन गर्ने सम्भावना बढेर गएको छ । विश्वव्यापीकरण विरूद्ध चालिएका यी कदमले विश्वबजारलाई नकारात्मक प्रभाव पार्ने देखिएको छ ।

‘विश्वव्यापीकरणलाई प्रवर्धन गर्न विगतमा चालिएका कदमहरू गलत थिए भनेर निश्कर्षमा पुग्ने समय आएको हो ?’ अध्यक्ष चौधरीले भने, ‘विश्वव्यापी रूपमा गम्भीर समीक्षा बिना आफ्नो बजार र रोजगारी सुरक्षाका नाममा चालिएका यी कदम सम्भवतः राजनीतिक लोकप्रियताका लागि हुन सक्छ । तर, त्यसले विश्वमा अर्कै वातावरण तयार गरिदिनेछ ।

अध्यक्ष चौधरीले लगानीकर्ताका लागि विकासशील राष्ट्रहरू (इमर्जिङ इकोनोमी)मा मात्रै बढी जोखिम हुने विश्लेषण सत्य नरहेको र विकसित राष्ट्रहरूले पनि सोही चरित्र अवलम्बन गरिरहेको भन्दै आलोचना गरे । ‘अमेरिकालगायतका पश्चिमा विकसित राष्ट्रहरूले पनि कुन बेला कुन नीति लिनेछन् भनेर लगानीकर्ताहरू ढुक्क हुन सक्ने अवस्था छैन,’ चौधरीले भने ।

‘विकसित मुलुकमा सफल भएका व्यावसायिक अवधारणाहरू विकासशील मुलुकहरूमा हस्तारन्तरण गरिनुपर्छ’ अध्यक्ष चौधरीले भने, ‘यसले ति देशको आर्थिक विकास अभियानलाई अगाडि बढाउन सहयोग पुग्छ ।’

विश्व सम्मेलनमा अध्यक्ष चौधरीले नेपालका बारेमा जानकारी दिँदै नेपाल आर्थिक विकासको सकारात्मक बाटोमा अगाडि बढिरहेको र यो प्रयासमा साथ दिन आग्रह गरेका थिए ।