एसर्इई परीक्षा दिएर बसेको फुर्सदको समयमा त झन् उनले २२ दिनमा ७० अाेटा चित्र बनाएकी छिन् । हाल उक्त चित्रसहित अन्य फुर्सदको समयमा बनाएका १ सय ५ अाेटा चित्र नेपाल कला परिषद्, बबरमहलमा प्रदर्शनीमा राखिएका छन् ।
सोह्र वर्षकी ज्वाला ढकालले हालसम्ममा १ सय १० अेटा चित्रकला बनाएकी छिन् ।
ठूला मान्छेलाई पनि कठिन हुने काम उनले सहजै गरेकी छिन् । एसर्इई परीक्षा दिएर बसेको फुर्सदको समयमा त झन् उनले २२ दिनमा ७० अाेटा चित्र बनाएकी छिन् । हाल उक्त चित्रसहित अन्य फुर्सदको समयमा बनाएका १ सय ५ अाेटा चित्र नेपाल कला परिषद्, बबरमहलमा प्रदर्शनीमा राखिएका छन् । जावलाखेलस्थित सेन्टमेरिज विद्यालयबाट एसर्इई परीक्षा दिएकी उनले अहिले फुर्सदको समयको सदुपयोग गरिरहेकी छिन् ।
उनले खुसी हुँदै भनिन् , ‘यस चित्रकला प्रदर्शनीबाट सङ्कलन हुने सबै रकम बालुवाटारमा रहेको अनाथ बालबालिका राखिएको गृह प्रवास नेपाललाई सहयोग गर्नेछु’ । ‘त्यहाँ सबै अनाथ अर्थात् बाबुआमा नभएका टुहुरा बालबालिका पढ्ने गरेका छन्, त्यो कुरा मैले यसअघिनै विद्यालयबाट कलासम्बन्धी पढाउन जाँदा थापा पाएँ,’ ढकालले भनिन्, ‘ त्यस अनाथालयमा एउटा पनि कम्प्युटर छैन, अहिलेको जमानामा पनि कम्प्युटर बिना के गर्न सकिन्छ, त्यसैले उनीहरुको समस्यालाई बुझी मलाई यस किसिमको भावना आएको हो ।’
भविष्यमा डाक्टर बनेर नागरिकको सेवामा समर्पित गर्ने लक्ष्य रहेकी ढकाललाई एक कक्षामा अध्ययन गर्न ;’रु गरेसँगै कलासम्बन्धी रुची रहेको बताउँछिन् । डाक्टर बने पनि चित्र निर्माण गरी असहाय र अनाथलाई सहयोग गर्ने पनि उनले बताइन् ।
वैशाख २२ गतेदेखि सुरु भएको प्रदर्शनीमा हालसम्म दस अाेटा कला बिक्रीबाट एक लाख आम्दानी भइसकेको छ । प्रदर्शनीमा पाँच हजारदेखि दुई लाख रूपैयाँसम्मका चित्र राखिएका छन् । यी सबै चित्र बनाउनका लागि तीनलाख ५० हजार रूपैयाँखर्च भएको चित्रकार ढकाल बताउँछिन् ।
प्रदर्शनीमा राखिएका सबै चित्र प्रकृति र समाजमा हुने गतिविधिसँग सम्बन्धित छन् । उनले अलि मन खिन्न पार्दै भनिन् —अहिलेसम्म दैनिक ५० जनाभन्दा बढी अवलोकन गर्ने व्यक्ति आएका छैनन्, सायद प्रचारप्रसार कम भएर पनि होला । उनले फेरि सबैसँग आग्रह गर्दै भनिन्, आएर मेरो चित्र हेर्नुस्, राम्रो लागेका किन्नुस् यसबाट आएको रकम मेरो व्यक्तिगत प्रयोजनको लागि होइन, म जस्तै तर अनाथ बालबालिकालाई सहयोग गर्नका लागि हो, यसबाट हजुरहरुको पनि सहयोग हुनेछ ।
“सानै उमेरदेखि दयालु स्वभावकी ज्वाला अहिले पनि उस्तै नै छिन्, कसैको दुःख देख्नुपर्दा उसलाई यसमा के गर्न सकिन्छ भन्ने चिन्ताले सताइहाल्छ”, ज्वालाकी आमा होमकुमारी भट्टराई (ढकाल)ले भनिन्, “दुई सन्तानमध्ये ज्वाला सामाजिक काममा लागेर केही गर्नुपर्छ भन्ने स्वभावकी छे, त्यसमा पनि बालबालिकाका लागि भनेपछि ज्यानै दिएर लाग्छे ।”
आगामी वैशाख २९ गतेसम्म रहने उक्त प्रदर्शनीको अवलोकन गरी छोरीको भावनालाई सम्मान गरिदिन पनि ज्वालाकी आमाले सबैसँग आग्रह गरेकी छन् । रासस