आँधीखोला घटनाको छानबिन गर्न नेवापसको आग्रह

वैशाख २१ गते रातिदेखि केही दिनसम्म पानी धमिलो एवम् कालो हुनुका साथै माछा, कछुवालगायतका जलचर प्राणी मरेको र उक्त घटना भिरकोट नगरपालिका–६ मा सञ्चालनमा रहेको खिलुङ कालिका एग्रो फार्मले फालेको कुखुराको सुलीका कारण भएको भनिएकामा सत्यतथ्य एवम् निष्पक्ष छानबिनको माग गरिएको छ ।

स्याङ्जाको गल्याङस्थित आँधीखोला नदीमा माछासहित जलचर प्राणी सखाप पार्न भूमिका निर्वाह गर्नेमाथि छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले सम्बन्धीत पक्षसँग अपिल गरेको छ ।

वैशाख २१ गते रातिदेखि केही दिनसम्म पानी धमिलो एवम् कालो हुनुका साथै माछा, कछुवालगायतका जलचर प्राणी मरेको र उक्त घटना भिरकोट नगरपालिका–६ मा सञ्चालनमा रहेको खिलुङ कालिका एग्रो फार्मले फालेको कुखुराको सुलीका कारण भएको भनिएकामा सत्यतथ्य एवम् निष्पक्ष छानबिनको माग गरिएको छ ।

वातावरण र पारिस्थितिकीय प्रणालीमा प्रत्यक्ष असर पार्ने एवम् हजारौँ जलचर प्राणी सखाप पार्ने काम गर्ने जो कोहीलाई कानुनी दायरामा ल्याउन नेवापसले माग गरेको छ ।

आँधीखोलाको घटना एउटा उदाहरण मात्र हो भन्दै नेवापसका अध्यक्ष अर्जुन ढकालद्वारा आज जारी विज्ञप्तिमा भोटेकोशी, सुनकोशी, त्रिशूली, इन्द्रावती, कर्णालीजस्ता नदीको जथाभावी दोहनले पनि जलचरमा गम्भीर असर परिरहेकोप्रति पनि सरकारको ध्यान नजानु दुःखद् भएको भनिएको छ ।

नेपालमा छ हजार बढी खोला/नदीनाला एवम् सानाठूला गरी पाँच हजार ३५८ वटा ताल छन् । ती नदी, खोला, तालतलैयामा माछा, भ्यागुता, पानीहाँस, बकुल्लासहित तमाम जलचर प्राणी आश्रित छन् । तर माछा मार्न नदी, खोलामा विषादी र विद्युतीय धरापको प्रयोग गर्ने गलत परिपाटी अझै विद्यमान छ ।

विषादीको बढ्दो प्रयोगकै कारण नेपालमा पाइने ११ मध्ये चार प्रजातीका भ्यागुता लोपोन्मूख अवस्थामा पुगिसकेका छन् भन्दै विज्ञप्तिमा डल्फिनको आहारा माछा मार्न विषादी प्रयोग गरिँदा डल्फिन पनि लोपोन्मूख अवस्थामा पुगिसकेको जनाइएको छ ।

नदीमाथि भइरहेका यस्ता आपराधिक र वातावरण विनाश गर्ने कार्य नियन्त्रण गर्न विद्यमान कानून निकै फितलो देखिएको भन्दै समूहले कानूनमा तत्काल संशोधन गरी नदी र त्यसमा आश्रित जलचरको संरक्षणमा ठोस कदम चाल्न आग्रह गरेको छ । रासस