तिङ्कर नाका खोल्न पहल गर्छुः मुख्यमन्त्री भट्ट

मुख्यमन्त्री भट्टले प्रदेश ७ को समृद्धिको ठू्लो आधार तिङ्कर नाका भएको बताए । उनले सो नाका सञ्चालनका लागि तत्काल सङ्घीय सरकारसँग पहल गर्ने बताए ।

प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले व्यास गाउँपालिका–१ स्थित चीनसँग जोडिएको तिङ्कर नाका खोल्न सङ्घीय सरकारसमक्ष विशेष पहल गर्ने बताएका छन् ।

प्रेस चौतारी र प्रेस सेन्टर दार्चुलाद्वारा आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री भट्टले प्रदेश ७ को समृद्धिको ठू्लो आधार तिङ्कर नाका भएको बताए । उनले सो नाका सञ्चालनका लागि तत्काल सङ्घीय सरकारसँग पहल गर्ने बताए ।

भारत र चीनसँग जोडिएको उक्त नाका सञ्चालनमा ल्याउन सके प्रदेश ७ का सबै जिल्लाको आर्थिक वृद्धिदर बढ्ने बताए । उनले भारत र चीनसँग जोडिएका प्रदेश ७ का कैलाली, कञ्चनपुर, बैतडी, बझाङ र दार्चुलाका सबै नाका सञ्चालन गरिनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री भट्टले स्थानीय तह सञ्चालनमा सहजता ल्याउनको लागि कानुन निर्माण गरेको बताए । दार्चुलाका नौ अाेटै स्थानीय तहका जनप्रतिनिधिसँग समस्याका बारेमा जानकारी लिएको भन्दै उनले ती समस्यालाई मध्यनजर गर्दै कानुन निर्माण गरिने बताए ।

प्रदेश सरकारले तीव्रगतिमा काम गर्न खोजिरहेको भए पनि कानुनको अभावमा चाहेजति छिटो र छरितो रुपमा काम गर्न नसकेको उनको भनाइ थियो । तस्बिरः किरण धामी, रासस