९२ वर्षका महाथिर मलेसियाका नयाँ प्रधानमन्त्री, नेपाललाई पनि प्रभाव पर्न सक्छ

महाथिरको समर्थनसहितको विपक्षी गठबन्धनले बुधबार भएको निर्वाचनमा बहुमत ल्याएपछि महाथिर पुनः सत्तामा आउन लागेका हुन् ।

आधुनिक मलेसियाका पिता भनेर चिनिने महाथिर मोहम्मद मलेसियाका नयाँ प्रधानमन्त्रीका लागि निश्चित भएका छन् । महाथिरको समर्थनसहितको विपक्षी गठबन्धनले बुधबार भएको निर्वाचनमा बहुमत ल्याएपछि महाथिर पुनः सत्तामा आउन लागेका हुन् ।

उनी विश्वमा सबैभन्दा बढी उमेरमा प्रधानमन्त्री निर्वाचित हुने पहिलो व्यक्ति बनेका छन् । बयानब्बे वर्षीय महाथिरले देशको दुई सय २२ संसदीय सिटमा एक सय १३ सिटमा विजय प्राप्त गरेका छन् । मलेसियामा बहुमतका लागि कुनै पार्टीलाई एक सय १२ सिट आवश्यक पर्छ । बहुमत ल्याएपछि महाथिरले मिडियासँग कुराकानीका क्रममा आफूले प्रधानमन्त्रीको सपथ लिने बताए । महाथिर मलेसियामा २२ वर्षसम्म तानाशाही हुकुम चलाएर सन् २००३ मा बाहिरिएका थिए ।

बयानब्बे वर्षका महाथिरले बारिसन नेसनल (बीएन) गठबन्धनलाई चुनावमा नराम्ररी पराजित गरे । चुनावमा धाँधलीको आरोपले घेरिएका प्रधानमन्त्री नजीब रजाक र महाथिरबीच पहिलेदेखि नै कडा प्रतिस्पर्धा हुने बताइएको थियो । व्यापक आर्थिक घोटालाले मलेसियाको अन्तर्राष्ट्रिय छविमा नराम्रो असर परेकाले क्रुद्ध बनेका महाथिरले आफू सत्तामा हुँदा विपक्षमा रहेका दलहरुसँग गठबन्धन गरेका थिए । यस गठबन्धनमा उनका पुराना विरोधी तथा जेल जीवन बिताइरहेका विपक्षी नेता अनवर इब्राहिम पनि संलग्न छन् ।

बारिसन नेसनल पार्टी १९५७ मा मलेसियालाई बेलायतबाट स्वतन्त्र भएदेखि नै सत्तामा छ ।

महाथिरले समर्थन गरेको पार्टी विपक्षी हुँदा मलेसियाको अध्यागमन र भिसा प्रणालीमा निजी क्षेत्रलाई समावेश गरेको भन्दै विरोध भएको थियो । सरकारले आर्थिक घोटाला गरेर भिसा प्रणालीलाई निजी क्षेत्रसँग सहकार्य गरेको भन्दै मलेसिया आउने कामदारलाई आर्थिक भार पारेको विषयमा कडा विरोध गर्दै आइरहेको थियो । नेपाललगायतका ८ मुलुकमा बायोमेट्रिक, भीएलएन लागू भएपछि उनको पार्टीले विरोध गरेको थियो । महाथिर सत्तामा आएपछि यस्ता प्रणाली हट्न सक्ने सम्भावना छ । जसको फाइदा नेपाललगायत त्यहाँ कामदार पठाउने अन्य मुलुकलाई हुनसक्छ ।