तिलगङ्गा क्षेत्रका करिब ४५ अस्थायी टहरा भत्काइए

नगर प्रहरी नायब उपरीक्षक दिनेशकुमार अर्यालका अनुसार सडकको केन्द्रबाट ३१ मिटर बाहिरको दूरी व्यक्तिगत लाभमा प्रयोग गर्न नपाइने भएकाले कामपाले यही मापदण्ड कार्यान्वयन गर्दै ४५ अाेटा टहरा भत्काएको हो ।

काठमाडौँ महानगरपालिकाले तिलगङ्गा क्षेत्रमा निर्माण गरिएको करिब ४५ अाेटा अस्थायी टहरा भत्काएको छ । केही दिनदेखि कामपाले पैदलमार्गमा राखिएका पसल र अस्थायी टहरा भत्काउने कार्य सुरु गरेको छ ।

नगर प्रहरी नायब उपरीक्षक दिनेशकुमार अर्यालका अनुसार सडकको केन्द्रबाट ३१ मिटर बाहिरको दूरी व्यक्तिगत लाभमा प्रयोग गर्न नपाइने भएकाले कामपाले यही मापदण्ड कार्यान्वयन गर्दै ४५ अाेटा टहरा भत्काएको हो । यसरी भत्काइएका टहराहरुमा कबाडी सङ्कलन केन्द्र, सवारी मर्मत केन्द्र, चिया नास्ताको पसललगायत छन् ।

यसैगरी कामपाले अतिक्रमित सडक, सडक पेटी र हरियाली क्षेत्रलाई सार्वजनिक उपयोगमा रुपान्तरण गर्ने अभियानलाई पनि तीव्रता दिएको छ । कोटेश्वर, गौशाला, चाबहिल, बानेश्वरजस्ता सडक व्यापार हुने क्षेत्रलाई नियन्त्रणमा लिइसकेको र अन्य बाँकी रहेका स्थानको यस्ता क्षेत्रलाई पनि लियन्त्रणमा लिने तयारीमा कामपा छ ।

सहरी आवागमन सुधार गर्न सार्वजनिक सम्पत्तिमा हरेक नागरिकको पहुँच पुर्याउन जरुरी रहेको भन्दै कामपाले तीनकुने पार्क नजिक निर्माण सामग्रीको व्यापार गर्ने व्यवसायीले पैदल मार्गमा राखेका फलामे डन्डी र इँटासमेत हटाइसकेको छ ।

यस्ता व्यापारिक स्थानहरु कामपामा दर्ता हुन नआउने भएकाले कतिको सङ्ख्यामा छन् र कुन कुन स्थानमा छन् भन्नेबारे थाहा नहुन पनि सक्छ त्यसमा नागरिकले सहयोग गर्नुपर्ने कामपाको भनाइ छ । रासस