माेदीले सन् २०१४ मा नेपाल आएका बेला संविधानसभामा जनकपुर जाने प्रतिबद्धता व्यक्त गरेअनुरुप आज राजा जनकको राजधानी तथा जनक जननी सीताको भूमिमा आउने धोको पूरा भएकामा जीवन धन्य भएको बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबिना भारतको आस्था, विश्वास र इतिहास अधुरो भएको बताएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले प्रदेश २ को सरकार र जनकपुर उपमहानगरपालिकाद्वारा आज जनकपुरको ऐतिहासिक बाह्रबिघा रंगभूमि मैदानमा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।
उनले नेपालीहरुको हृदय सागरभन्दा पनि गहिरो र नेपालको स्वाभिमान सगरमाथाभन्दा पनि उच्च रहेको बताए ।
भारतीय प्रधानमन्त्री मोदीले भने, “नेपाल र भारतको आत्मियता यो क्षेत्र (मिथिला)को सांस्कृतिक आस्थाले सिञ्चित छ ।”
मोदीले विश्वमा मिथिला सांस्कृतिको आख्यान सबैभन्दा माथि रहेको बताउँदै विद्यापतिका रचनाहरु दुवै देशमा समान रुपले महत्व राखेको बताए । उनले मिथिला चित्रकला विश्वमा प्रसिद्ध रहेको बताउँदै सो कलामा प्रस्तुत गरिएका परिवेश महिला सशक्तीकरण तथा जलवायु परिवर्तन र पर्यावरणीय सचेतनालाई परिलक्षित गरिरहेको बताए ।
नेपाल–भारतको मित्रता त्रेता युगदेखि नै रहँदै आएको स्मरण गर्दै उनले आस्था, अपनत्व, रोटी बेटीको सम्बन्धले नेपाल–भारतको सम्बन्धलाई अझ प्रगाढ बनाएको बताए ।
उनले राम जानकीको सम्बन्ध बिना अयोध्या अधुरो रहेको बताउँदै नेपाल–भारतका जनताको सुख र चुनौती तथा सपना र संकल्प पनि एउटै भएकाले दुवै देश मिलेर यसको सामना गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
भारतीय प्रधानमन्त्री मोदीले आफ्नो यो भ्रमण प्रधानमन्त्रीका रुपमा भन्दा पनि प्रधान तीर्थयात्रीका रुपमा भएको बताउँदै धार्मिक यात्राका क्रममा रामेश्वरमबाट पशुपतिनाथ आउनुपर्ने र लुम्बनीबाट बोधगया तथा अवधबाट जनकपुर पुग्नुपर्ने परम्पराअनुसार आफू पनि तीर्थ यात्रीका रुपमा आज जनकपुर आइपुगेको बताए ।
मोदीले नेपाल अध्यात्म दर्शनको केन्द्र रहेको बताउँदै भने, “यहाँका सबैथोक आफ्नै जस्तो छ, सबै आफन्त जस्तै छन् ।” उनले नेपाल–भारत दुवै देशको नारी चेतनाका लागि माता सीता गंगोत्रीका रुपमा रहेको बताउँदै काठमाडौँदेखि कन्याकुमारीसम्म माता सीताको चरित्र प्रेरणादायी रहेको उल्लेख गरे ।
उनले भन्नुभयो, “राजा जनकको दरबारमा गार्गीजस्तो विदुषी र अष्टावक्रजस्ता विद्वानहरुको समूहले लोककल्याणकारी नीति बनाई जनतालाई सर्वोपरी ठानी राजकाज सञ्चालन गरेको भूमि हो मिथिला ।”
मोदीले भारत चाँडै नै विश्वको तेस्रो अर्थव्यवस्थाको देश हुन गइरहेकाले जसरी भारत आर्थिक रुपले समृद्ध हुन्छ, त्यसैगरी नेपालको विकासको गति पनि तीव्र हुने बताए ।
भारतीय प्रधानमन्त्री मोदीले नेपालमा हालै सम्पन्न भएको सङ्घीय, प्रान्तीय र स्थानीय निर्वाचन यस क्षेत्रमै उदाहरणीय भएको समेत बताए ।
उनले नेपालको विकासमा क्षेत्रीय विकासको सूत्र जोडिएको हुँदा अब नेपालको विकास तीव्र गतिमा हुने विश्वास व्यक्त गर्दै विद्युत्, रेल, भन्सार, चेकपोष्ट, हवाई सेवा, जलमार्गको विकास पनि नेपालसँग जोड्नु पर्ने बताए ।
अहिले जयनगर–जनकपुर रेल्वेको काम तीव्र गतिमा भइरहेको र केही दिनमै उक्त रेल सेवा सञ्चालन हुने बताउँदै मोदीले भने, “रक्सौलबाट काठमाडौँका लागि रेल सेवासमेत सञ्चालन गरिनेछ ।” साथै उनले मोतिहारीबाट अमलेखगञ्जसम्म पाइपलाइनबाट पेट्रोलियम पदार्थ ल्याउने कार्यसमेत भइरहेको बताए ।
भारतीय प्रधानमन्त्री मोदीले जनकपुर र आसपासका क्षेत्रको विकासका लागि सय करोड सहायता दिने घोषणासमेत गर्दै प्रदेश सरकार र केन्द्र सरकारसँग समन्वय गरेर परियोजना छनोट गर्ने बताए । उनले भने, “यो सय करोड भारतीय जनताको तर्फबाट माता जानकीलाई समर्पण छ ।”
साथै, उनले जनकपुरलाई रामायण सर्किटमा समावेश गर्ने दिशामा भारत सरकार उन्मुख रहेको बताउँदै माता सीता र भगवान् रामले पाइला टेकेका धार्मिक स्थललाई समेटेर यसको विकास गर्न भारतीय सरकार अग्रसर रहेको बताए । उनले बुद्ध सर्किट र जैन सर्किटको विकासका लागि पनि आफू क्रियाशील रहेको बताए ।
उनले भारतद्वारा निर्मित स्याटेलाइटले साउथ एशियामा आफ्नो काम गरिरहेको छ जसलाई नेपाललाई समेत फाइदा पुगेको हुँदा यो क्षेत्रमा पनि नेपालले विकास गर्नुपर्ने धारणा व्यक्त गरे ।
उनले सन् २०१४ मा नेपाल आएका बेला संविधानसभामा जनकपुर जाने प्रतिबद्धता व्यक्त गरेअनुरुप आज राजा जनकको राजधानी तथा जनक जननी सीताको भूमिमा आउने धोको पूरा भएकामा जीवन धन्य भएको बताए ।
जनक जननी जानकी माताको यो भूमि दिव्य, भव्य र शान्ति प्रक्रियाका द्योतकका रुपमा रहेकाले सबैका लागि नमनकारी भूमि भएको बताए ।
जनकपुरमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा उनले सुरुमा मैथिलीमा र त्यसपछि नेपाली र हिन्दीमा सम्बोधन गरेका थिए ।
अभिनन्दन कार्यक्रममा सङ्घीय सरकारका रक्षामन्त्री ईश्वर पोखरेलले भारतसँगको सम्बन्धका विषयमा नेपाल अतीतमुखी नभई भविश्यमुखी भएर अघि बढ्न चाहेको बताए । उनले जनकपुर सहरले नेपाल र भारतबीचको मित्रताको उचाइ बढाउन भूमिका निर्वाह गरेको बताए ।
नेपाल र भारतको सम्बन्धको आधार भ्रातृत्वको अनुभूति, राष्ट्रिय स्वाभिमानको सम्मान र आपसी समझदारी रहेको पनि रक्षामन्त्री पोखरेलले बताए । उनले नेपाल र भारतले एक अर्काको सामिप्यतालाई बोध गर्ने र एक अर्काको संवेदनशीलताप्रति सचेत रहेको पनि बताए ।
समारोहमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अन्य प्रदेशको तुलनामा प्रदेश २ आर्थिक रुपले कमजोर रहेकाले सबै क्षेत्रबाट सहयोगको अपेक्षा रहेको विश्वास व्यक्त गरे ।
भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले मैथिली भाषामा लेखिएको अभिनन्दन पत्र प्रदान गर्नुका साथै नगरको कलात्मक साँचो हस्तारण गरे । अभिनन्दन पत्र मैथिलीलगायत हिन्दी, नेपाली र अंग्रेजीमा लेखिएको छ ।
समारोहमा मिथिला नाट्यकला परिषद्का कलाकारले विभिन्न किसिमको सांस्कृतिक नृत्य तथा स्वागत गान प्रस्तुत गरेका थिए । तस्बिरः अजयकुमार साह, रासस