विगतका त्रुटिमा अल्झिएर बस्ने हो ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने भ्रमणबारे जानकारी दिँदै उनले हामी विगत सम्झेर त्यसैमा हराउने कि नयाँ परिवेशमा प्राप्त मौकालाई आफू अनुकूल प्रयोग गर्दै अघि बढ्ने भनेर प्रतिनिधिसभामा प्रश्न गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नाकाबन्दी नेपालका लागि अति पीडादायी क्षण भएको भन्दै त्यसैमा अल्झेर बस्ने कि अघि बढ्ने भनेर सङ्घीय सांसदहरुलाई प्रश्न गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने भ्रमणबारे जानकारी दिँदै उनले हामी विगत सम्झेर त्यसैमा हराउने कि नयाँ परिवेशमा प्राप्त मौकालाई आफू अनुकूल प्रयोग गर्दै अघि बढ्ने भनेर प्रतिनिधिसभामा प्रश्न गरेका हुन् ।

दुई मुलुकका कार्यकारी प्रमुखहरुको भ्रमणमा राष्ट्रिय हित तलमाथि हुने गरी कुनै काम नभएको र आगामी दिनमा पनि त्यस्तो परिस्थिति निर्माण नहुने ओलीले दाबी गरे । भारतीय समकक्षी मोदीको नेपाल भ्रमण उपलब्धीपूर्ण र नेपालको पक्षमा भएको बताउँदै प्रधानमन्त्री ओलीले कतिपयले मोदीलाई स्वागत नै गर्नु हुँदैनथ्यो, सम्बन्ध सुधार नै गर्नु हुँदैन भन्ने जस्ता धारणा राखेकामा आश्चर्य प्रकट गरे ।

आफू पहिलो पटक प्रधानमन्त्री हुँदा लागेको नाकाबन्दी सम्झिँदै प्रधानमन्त्री ओलीले भने, ‘हामीले विगतदेखि नै लगातार भन्दै आएका छौं कि सम्बन्ध दुई सार्वभौमसत्ता सम्पन्न राष्ट्रको हैसियतमा हुन्छ, मुलुकको आवश्यकता र प्राथमिकताका आधारमा सम्बन्ध र व्यवहार गर्नुपर्छ ।’ उनले संसदमा बोल्ने क्रममा तीन वर्षअघि तनावपूर्ण रहेको नेपाल भारत सम्बन्ध मोदीको पछिल्लो भ्रमणले नयाँ स्तरमा प्रवेश गरेको र बराबरीको हैसियतमा अगाडि लैजाने वातावरण बनेको दाबी गरे । दुई उत्तर कोरियाका नेताको भेट, ट्रम र किमको आगामी वार्ता तथा शी जिनपिङ र मोदी वार्ताको सन्दर्भ केलाउँदै प्रधानमन्त्री ओलीले सम्बन्धहरु बिग्रिनु नराम्रो भएपनि चिसोपनमा खुसी हुने नभई हटाउने कोसिस गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले समकक्षी मोदीका अभिव्यक्तिहरुमा मुलुकको अखण्डता र सार्वभौमसत्ताको प्रश्न, मुलुकको आवश्यकता र प्राथमिकताअनुसार नेपाल अघि बढ्दा त्यसमा कुनै चित्त दुखाई नहुने र नेपालले अख्तियार गरेको नीतिअनुसार सहयोग गर्ने प्रतिबद्धता जनाएको दाबी गरे । ‘यो सम्बन्धलाई बराबरीका आधारमा अघि बढाउने प्रस्थान बिन्दुको रुपमा लिन सकिन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रिय हित, स्वाभिमानमा कुनै तलमाथि भएको छैन । अध्ययन गर्नु भएहुन्छ, वक्तव्यहरु सार्वजनिक छन् । कुनै शब्दमा पनि तलमाथि परेको छ भने म जिम्मा लिन्छु ।’

प्रधानमन्त्री ओलीले तराईमा बाढीबाट हुने डुबान, केन्द्रीय बैङ्कमा रहेको नोटबन्दीका कारण रोकिएको भारतीय रुपैयाँको सटही, ४ स्थानबाट थप हवाइ मार्ग (एयर रुट) खोल्ने विषय, थप बन्दरगाहको आवश्यकता, १९५० को सन्धिलगायतका सन्धि सम्भौताको पुनरवलोकनजस्ता विषयले छिट्टै समाधान खोल्ने दाबी गरे । केही महत्त्वपूर्ण काम प्रबुद्ध समूहले गरिरहेको र अन्य काम सम्बन्धित निकायहरुले गरिरहेको भन्दै ओलीले भारतीय समकक्षी मोदीको नेपाल भ्रमण उपलब्धीपूर्ण र नेपालको पक्षमा भएको दाबी गरे । सम्बोधनको अन्त्यमा प्रधानमन्त्री ओलीले सरकार दुवै छिमेकीसँग सुमधुर र सुदृढ, पारम्परिक विश्वास र भरपर्दो सम्बन्धको पक्षमा रहेको भन्दै आफू छिट्टै चीन भ्रमणमा जाने बताए ।