जनता आर्थिक समृद्धि र विकास चाहन्छन् : चौधरी

नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीले नवलपुरको देवचुली नगरपालिकाको वडा नम्बर २ मा रहेको दिव्य युवा क्लब मतदान केन्द्रबाट मतदान गरेका छन् ।

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा तर्फका समानुपातिक सदस्यका उम्मेद्वार समेत रहेका चौधरीले मतदानपछि पत्रकारसँग कुरा गर्दै आर्थिक समृद्धि र विकासको पथमा लम्किनु आजको आवश्यकता भएको बताए ।

आफू निर्वाचन प्रचारका क्रममा देशका ४१ भन्दा बढी स्थानमा पुग्दा मतदाताले विकास र आर्थिक समृद्धिको चाहना रहेको पाएको भन्दै उनले मतदाताको चाहना पूरा गर्ने दिशामा आफू र आफ्नो पार्टी लागिपर्ने बताए ।

आर्थिक समृद्धि र विकासका लागि नेपाली कांग्रेसले तयार पारेको मार्गचित्र अनुसार अगाडि बढ्ने भन्दै उनले लोकतान्त्रिक गठबन्धनको विजय हुने विश्वास व्यक्त गरे । आगामी पाँच वर्षपछि नेपाल स्वर्ण युगमा प्रवेश गर्ने उनको भनाइ थियो ।