एयर एसिया सञ्चालक फर्नान्डिजको दाबी विरुद्ध प्रहरीमा उजुरी

फर्नान्डिजले मलेसियामा हालै भएको चुनावमा हजारौं मतदातालाई भोट हाल्नका लागि घर जान दिएको सस्तो टिकट रद्द गर्न मेभकोमले दबाव दिएको आरोप लगाएका थिए ।

मलेसियन एभिएसन कमिसन (मेभकोम) ले एयर एसियाका सञ्चालक टोनी फर्नान्डिजका विरुद्ध पुलिसमा उजुरी गरेको छ । उनले मलेसियामा हालै भएको चुनावमा हजारौं मतदातालाई भोट हाल्नका लागि घर जान दिएको सस्तो टिकट रद्द गर्न मेभकोमले दबाव दिएको आरोप लगाएका थिए ।

कमिसनले एउटा टिप्पणीमा भनेको छ, ‘१२० अतिरिक्त उडानबाट २६ हजार व्यक्तिको यात्रा टिकट एयर एसियालाई रद्द गर्न लगाइएको भन्ने कमिसनविरुद्ध टोनी फरनान्डिजको आरोप आधारहीन तथा वाहियात हो ।

गत आइतबार कमिसनले एयर एसियालाई बोलाएर ती उडान रद्द गर्न भनिएको फर्नान्डिजले दाबी गरेका छन् । तर, कमिसनले ती आरोप अस्वीकार गर्दै भनेको छ, वास्तवमा एयर एसियाद्वारा २३ अप्रिलमा लागू गरिएका ती सबै ६६ ओटा उडानलाई मन्जुरी दिइएको हो । ‘आयोगले एयर एसिया वा अन्य कुनै एयरलाइन्सलाई नियामक आवश्यकता पूरा गर्ने कुनै पनि उडानलाई घटाउन अथवा रद्द गर्न कुनै निर्देशन जारी गरिएको छैन ।’

आयोगले आफ्नो स्पष्टीकरणमा भनेको छ,– कम बजेटका एयरलाइन्सले १३ तथा १८ अप्रिलमा कुल ५४ अतिरिक्त उडानका लागि अनुरोध गरेका थिए, जसलाई मन्जुरी दिइएको थियो । एयर एसियाले पनि २० अप्रिलमा ८६ ओटा अतिरिक्त उडानका लागि अनुरोध गरेको थियो ।

फेरि २३ अप्रिलमा कमिसनले आफूलाई एयर एसियाबाट ६६ ओटा अतिरिक्त उडानका लागि एउटा संशोधित उडान आवेदन प्राप्त भएको बताएको थियो । जसमा एयरलाइन्ससँग पहिले भएका आवेदन रद्द गरिनु पर्छ भनिएको थियो । ‘आयोगले यही संशोधनलाई ध्यानमा राखेर सोही दिन संशोधित निवेदनलाई मन्जुरी दियो ।’

एयर एसिया सञ्चालक फर्नान्डिजले सत्तापक्षमा रहेको बिएन पार्टीलाई समर्थन गर्दै एयर एसियाको एउटा जहाजको सजावट समेत गरेका थिए । उनले भोट हाल्न जान चाहनेहरुका लागि लक्षित गर्दै सस्तो टिकट र अतिरिक्त उडान थपेका थिए । मलेसियामा महाथिर प्रधानमन्त्री भएसँगै एयर एसिया सङ्कटमा देखिन थालेको छ ।

एफएमटी रिपोर्टर