शासन गुरुङको डिजाइनिङ ड्रिम्स

अफिसमा ‘पैसाका बिटा’, क्याल्कुलेटर र ब्यालेन्स सिटमा डेबिट र क्रेडिटमा खेल्ने शासन घरमा व्यस्त हुँदाचाहिँ पेन्सिल, ह्वाइट पेपर, फिता, कैचीसँग खेल्छन् र सिलाइ मेसिन चलाउँदै नयाँ डिजाइनमा मन डुलाउँछन् । शासनको यो सिर्जनात्मक यात्रा सुरु भएको लामो समय भएको छैन, तर यो यति पपुलर भइसक्यो कि अहिले उनलाई नेपालभित्रबाट मात्र होइन, विदेशबाट पनि ‘अर्डर’ आउन थालिसक्यो ।

खासमा बैङ्कर शासन गुरुङको जागिर टेन–टु–फाइभ फम्र्याटको हो । तर, गुरुङ कति व्यस्त छन् भने अफिस टाइमभन्दा अरु समयमा पनि उनीसँग फुर्माइस गर्ने समय छैन । त्यसो त त्यस्तो बैङ्कर को नै पो होला र जोसँग यत्तिकै टहलिएर बिताउन पर्याप्त समय होस् ? तर, शासनको सन्दर्भमा के फरक भने उनको यो व्यवस्तता बैङ्किङ कामले होइन, आफ्नै ‘हबी’ले बढाएको हो ।

अफिसमा ‘पैसाका बिटा’, क्याल्कुलेटर र ब्यालेन्स सिटमा डेबिट र क्रेडिटमा खेल्ने शासन घरमा व्यस्त हुँदाचाहिँ पेन्सिल, ह्वाइट पेपर, फिता, कैचीसँग खेल्छन् र सिलाइ मेसिन चलाउँदै नयाँ डिजाइनमा मन डुलाउँछन् । शासनको यो सिर्जनात्मक यात्रा सुरु भएको लामो समय भएको छैन, तर यो यति पपुलर भइसक्यो कि अहिले उनलाई नेपालभित्रबाट मात्र होइन, विदेशबाट पनि ‘अर्डर’ आउन थालिसक्यो ।
व्यस्त समयबीच केहीअघि शासनसँग दरबारमार्गको एउटा रेस्टुराँमा भेट्दा उनको अनुहारमा यो सफलताको खुसी प्रस्ट झल्किन्थ्यो । चर्को घामले रापिलो बनाएको त्यो दिन प्लेन लसी पिउँदै शासनले भने, ‘यो सब मेरो प्यासनका कारण आएको प्रतिफल हो, प्यासन हुने हो भने सिकिने रहेछ ।’

 

त्यही डिजाइनिङ प्यासनका कारण शासनले सबैभन्दा पहिले सिसाकलम चलाए र केही बनाए । त्यो सिसाकलमको निबलाई युट्युबले गाइड गरेको थियो । ‘मेरो गुरु नै युट्युब,’ उनले भने, ‘अहिले पनि युट्युबले मलाई सिकाइरहेको छ ।’
डिजाइनर प्रबल गुरुङ र एली साबबाट आफू बढी प्रभावित भएको बताउने शासनले आजभोलि ती सबै अर्डर लिँदैनन्, जुन उनीसम्म आइपुग्छन् । ‘धेरै व्यस्त हुने गरी यो अर्डर लिन्नँ,’ उनी भन्छन्, ‘अहिले काम सिकिरहेको छु, सिक्ने क्रममा आम्दानी पनि भएकाले खुसी छु । त्यो आम्दानी थप सिकाइमा काम लागिरहेको छ ।’ ‘हबी’ भएकाले यसलाई नै पहिलो प्राथमिकता नबनाएका शासनले थपे, ‘अहिलेसम्म ४५ हजार रुपैयाँसम्मको अर्डरअनुसार भने काम गरेको छु ।’

तर, बिर्सनुहुँदैन शासनले यो सफलता पहिलो स्टेपमै चुमेका होइनन् । उनको ‘पहिलो स्टेप’ त उनी आफैलाई चित्त बुझेको थिएन । त्यसलाई उनी आफैले भुले । त्यसपछिको डिजाइनचाहिँ उनले आफन्तलाई देखाए । शासनलाई ती आफन्तले खुसी दिए, त्यो डिजाइन खरिद गरिदिए । त्यसपछि शासनको डिजाइन एक कान दुई कान हुँदै फैलियो । यसले शासनको क्रियटिभिटीलाई थप ऊर्जा मिल्दै गयो ।
अनि जब सहकर्मी अनुजा वैद्यको सडक दुर्घटनामा मृत्यु भयो, गुरुङले वैद्यको सम्झनामा उनकी छोरीलाई फ्रक डिजाइन गरेर उपहार दिए ।

त्यो ड्रेसमार्फत फेसबुक पेजमा आएका गुरुङलाई त्यसपछि त देशविदेशबाट अर्डर आइरहेको छ, उनलाई ‘भ्याइनभ्याइ’ भएको छ । अनि उनी ग्लोबल आईएमई बैङ्क र आफ्नो ‘ड्रिम’बीच तालमेल मिलाइरहेका छन्, काम गरिरहेका छन् ।
जसले शासनको यो व्यस्तता देखेका छन्, उनीहरुले आजभोलि शासनलाई सोध्न थालेका छन्, ‘अब बैङ्क छोड्ने होला नि, यताबाटै राम्रो रै’छ ।’
त्यो दिनको अन्तिम प्रश्न स्वरुप शासनलाई यही प्रश्न सोध्दा उनी मुस्कुराए, ‘होइन, बैङ्क मेरो करिअर हो, डिजाइनिङ हबी । मैले दुवै करिअर र हबी छोड्न सक्दिनँ ।’