‘पहिले हिरो बन्ने सपना पो थियो र सर ?’

‘जीवनमा जे आउँछ, त्यसलाई फेस गर्न जहिले तयार’ थापाले सम्झिए जीवनको पहिलो ‘टर्निङ पोइन्ट’ । थापाको निचोड थियो, ‘मेरो लभ म्यारिज मेरो जीवनको पहिलो मोड हो ।’ ‘कति सालको कुरा सर ?’ उनी बोल्दाबोल्दै प्रश्न स्वाभाविक रुपमा जन्मियो ।

हालैको एक दिन दरबारमार्गका ब्रान्डेड पसलहरुलाई ‘छिचोलेर’ प्रेसिडेन्ट ट्राभल एन्ड टुर्सको ढोकैमा पुग्दा मोबाइलमा एउटा भारतीय मिडियाको ‘पप अप’ आयो– भारत र चीन युद्धको संघारमा । पपअपमा समाचारको यो शीर्षक पढ्ने वित्तिकै मन उडेर दोक्लाम पुग्यो । यो एउटा संयोग थियो, ‘उडान’लाई व्यवसाय बनाएर लामो समयदेखि नेपाली बजारमा राज गरिरहेको प्रेसिडेन्ट ट्राभलको रिसेप्सन कम टिकेटिङ कोठाको मध्यतिर म पुगेको थिएँ ।

भित्तामा लस्करै झुन्ड्याइएका ‘लेटर अफ एप्रिसियसन’सँग ठोक्किँदै पहिलो तलामा प्रेसिडेन्टका ‘प्रेसिडेन्ट’ भोलाविक्रम थापाको कोठामा पुग्दा पनि त्यही भारत–चीन युद्धको कुरा मनमा खेलिरहेको थियो । र, म सम्झिरहेको थिएँ– विगतका भारत–चीन युद्ध ।
चीन–भारत सम्बन्धलाई सम्झिरहेको ‘सबकन्सस माइन्ड’ले निर्देशित गरेको हुनुपर्छ, औपचारिक कुराकानीपछि थापालाई पहिलो प्रश्न थियो– आफ्नै जीवनलाई पछाडि फर्केर हेर्दा सबैभन्दा बढी के सम्झनुहुन्छ ?

दरबारमार्गमा एभ्रिवान इज मुभिङ, एभ्रिथिङ इज मुभिङ । यो रफ्तार थापाको कोठाबाट प्रष्ट देखिन्छ । प्रश्न सुनिसकेपछि थापाले एकपटक झ्यालबाट बाहिर हेरे, कालो कुर्चीलाई थोरै अगाडि सारे र दरबारमार्गको रफ्तारभन्दा बढी स्पिडमा विगतमा पुगे अनि मुसुक्क हासे ।
‘जीवनमा जे आउँछ, त्यसलाई फेस गर्न जहिले तयार’ थापाले सम्झिए जीवनको पहिलो ‘टर्निङ पोइन्ट’ ।
थापाको निचोड थियो, ‘मेरो लभ म्यारिज मेरो जीवनको पहिलो मोड हो ।’
‘कति सालको कुरा सर ?’ उनी बोल्दाबोल्दै प्रश्न स्वाभाविक रुपमा जन्मियो ।
उनले ठ्याक्कै साल भनेनन्, दुई चारवटा मिति लिएपछि भने, ‘त्यति बेला इन्डिया–चाइनाको वार चलिरहेको थियो ।’
उता, भारत–चीन युद्धमा होमिएका थिए, यता थापाको लभ लाइफमा ‘वार’ चलिरहेको थियो । ‘त्यति बेला प्रेम वर्जित जस्तै थियो,’ उनी विगतमा फर्किए, ‘झन् गरिब–धनीबीचको प्रेमसम्बन्धको त के कुरा गर्नु ?’

अनि त्यसपछि ५० वर्ष पहिलेको त्यो दिनमा फर्किए थापा, ‘ऊ धनी परिवारको, म गरिब ।’ मुसुक्क हाँसेर उनले थपे, ‘३२ रोपनीको घरको र ४ रोपनीको घरको लभ थियो ।’ श्रीमतीको घरमा राम्रो नमाने पनि थापालाई श्रीमतीको साथ राम्रै पाए । ‘सि डिन्ट से एनिथिङ,’ उनी भन्छन्, ‘सि वाज अल्वेज ह्याप्पी ।’

उनले आँखा चिम्लिए । किनारमा निलो बोर्डर भएको सेतो सर्ट लगाएका थापाले हात अगाडि सारे, टाउकोमा पु¥याए, कपाल चलाए र भने, ‘उसलाई घरमा बारम्बार भन्दा रहेछन्– तैले दुःख पाउँछेस् ।’ तर, आफ्नो मायालाई दुःख दिने पक्षमा थिएनन् उनी । ‘भागेर विवाह’ गरेको केही पछिसम्म पनि यस्तै गुनासो सुनिरहेपछि उनमा ‘इगो’ पलायो ।
र, त्यही इगोले थापामा सपनाको जग बसाइदियो । उनले केही गरेरै देखाउनु पर्छ भन्ने अठोट लिए । ‘भन्छन् नि बिख नभएको सर्प र इख नभएको मान्छेको काम हुँदैन,’ उनले उखान जोडे र भने, ‘त्यति बेला मैले न धेरै पढेको थिएँ, न मसँग पैसा नै थियो । तर, गाडी भएको घरबाट साइकल पनि नभएको घरमा आएकी श्रीमतीलाई खुसी राख्न चाहिँ मैले केही गर्न चाहेँ ।’
न्यायाधीश बाबुका छोरा भोला विक्रम थापाका लागि त्यो केही जागिर थियो । उनले जागिर खान थाले । पहिलो जागिरमा उनको तलब २ सय ५० रुपैयाँ थियो । यसले घरमा उनलाई स्टेबल बनायो ।

‘म चाहिँ काममा विश्वास गर्ने मान्छे,’ उनले भने, ‘जहाँ गए पनि राम्रोसँग काम गर्नुपर्छ भन्ने मलाई लागिरहेको थियो, त्यसैले मैले काम गरिरहेँ । जुन अफिसमा काम गरे पनि त्यसलाई पूर्णताका साथ गर्नुपर्छ भन्ने मलाई थियो, त्यसैले त्यही अनुरुप काम गरेँ, कहिले जाला घाम भन्ने कहिल्यै सोचिनँ ।’

अन्नपूर्ण, यति ट्राभल्सदेखि गैंडा वाइल्ड लाइफ क्याम्पमा समेत कामको अनुभव बटुलेका थापाले जीवनमा एउटै कुरालाई सिद्धान्त बनाए, ‘इन्जोय योर वर्क ।’
हुन पनि जब थापाले ट्राभल कम्पनीमा काम गर्थे, त्यति बेला अहिलेजस्तो कम्प्युटर प्रणालीमा टिकट काट्ने वा आइटिनरी बनाउने चलन सुरु भइसकेको थिएन । ‘आफैं रुट बनाउनु पथ्र्यो, आफैं आइटिनरी,’ उनी कामका ती दिन सम्झिन्छिन्, ‘दिनभर पर्यटन बोर्डमा पुगेर रुट र आइटिनरी बनाउनु पथ्र्यो, अहिलेजस्तो कम्प्युटर बिग्रिएको छ भनेर बस्न कहाँ पाइन्थ्यो र ?’
अहिले कल्पना पनि गर्न नसकिने त्यो दिग्दारीलाई थापाले बहुतै इन्जोय गरिरहेका हुन्थे । ‘आइ इन्जोयड वर्किङ माइसेल्फ,’ थापाले बोल्ड स्वरमा भने ।

तर, थापा काममा मात्र पनि विश्वास गर्दैनन् । ‘लक पनि चाहिन्छ जस्तो लाग्छ,’ उनले भने, ‘आइ फिल आइ एम लक्की, मलाई भगवानले सबै पु¥याउनु भएको छ जस्तो लाग्छ, मैले मागेको पाएको छु । सायद मेरो भाग्यले पनि मलाई साथ दिएको छ ।’ फरक के भने थापाका भगवान र थापाको धर्मप्रतिको आस्था कुनै एउटा मन्दिर वा मुर्तिमा सिमित होइन । ‘म न आस्तिक न नास्तिक नै,’ उनी प्रष्ट्याउँछन्, ‘धर्म भनेको मेरालागि सेवा हो, म आवश्यक परेकालाई सेवा गर्नुमा जति ठूलो धर्म देख्छु, त्यो अरु केहीमा देख्दिनँ ।’
अरुलाई दुःख होइन, दुई जनालाई भए पनि सुख दिनु पर्नेमा विश्वास राख्ने थापा त्यसैले अनिवार्य रुपमा कुनै मन्दिर धाउँदैनन् । उनका लागि काम र सहयोग नै मन्दिर हो, धर्म हो ।

कामलाई धर्म मान्ने हो भन्ने थापाले निकै धेरै धर्म कमाइसकेका छन् । किनकि उनले जति आवश्यकमा परेकालाई सहयोग गरेका छन्, त्यहाँभन्दा धेरै काममा बिताएका छन् । कतिसम्म भने काममा ध्यान दिएकाले नै थापाले आफ्नो ‘हबी’ सेट गर्न नै पाएनन् । ‘हिजो मेरो हबी नै थिएन,’ उनी भन्छन्, ‘सेभेन ओ क्लकबाट काम सुरु हुन्थ्यो र अबेर साँझसम्म म काममा नै व्यस्त हुन्थेँ ।’
कामलाई नै आफ्नो हबी मान्ने थापा ‘प्रिजेन्टेबल’ हुनु पर्नेमा विश्वास गर्छन् । ‘ड्रेस अप राम्रो गर्नुपर्छ,’ उनी भन्छन्, ‘स्मार्ट, प्रिजेन्टेबल देखिनु पर्छ भन्ने चाहिँ पहिले देखि नै लाग्थ्यो ।’ सायद, यो सोच उनको बुवाका कारण विकास भएको थियो । किनकि न्यायाधीश बाबुले उनलाई सधैं स्मार्ट हुन सल्लाह दिन्थेँ । अनि उनलाई पनि न्यायाधीश बन्न दबाब दिइरहेका हुन्थे । तर, उनी बाबुलाई देखाउन मात्र पढ्थे । ‘म त्यति राम्रो विद्यार्थी थिइनँ,’ उनी भन्छन् ।

त्यसो त व्यसायमा नलागेको भए थापा पनि न्यायाधीश नै हुनसक्ने अनुमान गर्छन् । ‘न्यायाधीश भएको भए त अहिलेको भन्दा धेरै पैसा पो कमाउँथे होला,’ उनी हाँस्छन्, ‘तर, केही छैन । मलाई जीवनमा रिग्रेट गर्नु पर्ने केही कुरा छैन ।’ किनकि कुनै समय चुरोट पिउने पैसा हुँदैनथ्यो थापासँग । ‘स्कुलमा केटाकेटीको फि तिर्न पनि सकिँदैनथ्यो,’ उनी भन्छन्, ‘ती दिन सम्झिएर बस्नुको अब अर्थ पनि त छैन ।’
सन् १९७७ मा केही स्टाफसहित सुरु भएको र अहिले सयभन्दा बढी स्टाफ भएको प्रेसिडेन्ट ट्राभलका यी प्रेसिडेन्ट ७१ वर्षका भए भनेर झट्ट देख्दा सायदै पत्यार लाग्ला । किनकि स्मार्ट, फिट एन्ड फाइन थापा ब्रान्ड कन्सस नभए पनि ‘ब्युटिफुल’ हुनुपर्छ भन्नेमा विश्वास गर्छन् । विहान एक डेढ घन्टा ‘वाक’ र केही समय स्ट्रेच गरेर ‘सेप’ मेन्टेन गरेका थापा भन्छन्, ‘किपिङ स्मार्ट माइसेल्फ इज माइ नेचर ।’
एउटा लामो कुराकानीको अन्त्यतिर फोटो खिच्न लाग्दा, थापाले ‘जोली मुड’मा भने– कपाल सेतै भएको छ, ब्लर आउँछ, हाइलाइट गर्नु पर्ने ।

अनि उनी आफैंले थपे, ‘आजभोलि पुरै कालो बनाउन मन लाग्दैन, हाइलाइट मात्र गर्छु, फोटो पनि राम्रो आउँछ ।’
यति भनेर मुसुक्क हाँसेका थापालाई त्यसपछि सोध्न छुटाउन मन लागेन– ‘पहिले हिरो बन्ने सपना पो थियो र सर ?’
उनी हाँसे । ‘त्यस्तो त थिएन,’ फेरि उनी मज्जाले हाँसे, ‘भगवानले कुछ नही दिया, कलाभी नही दिया, गला भी नही ।’ यसको अर्थ के होइन भने उनलाई कलाकारिताबारे कुनै चासो नै छैन । कुरा गर्दा उनले बलिउड अभिनेता अमिताभ बच्चनलाई काठमाडौंमा भेटेको सम्झिए । त्यो सम्झनाले उनलाई साथीभाइको कहिलेकांहीको सम्बोधन पनि सम्झायो– बिग बी ।