वैदेशिक रोजगारीमा युवा पाखुरी भटाभट देशबाट बाहिर गएपछि यहाँ रोजगारी सिर्जना गर्नुपर्ने बाध्यताबाट सरकारलाई हाइसन्चो भएको छ । वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणले नै देशको शोधनान्तर घाटा व्यवस्थापनमा समेत उल्लेख्य योगदान पु¥याएको देखिए पनि यो भित्रका अँध्यारा पाटा निकै छन् ।
अहिले वैदेशिक रोजगारी नेपालका लागि ‘ग्ल्यामर’को क्षेत्र भएको छ । सरर जहाज चढेर विदेश जाने, विदेशका ‘पैसाको बोट’मा फलेको पैसा टिपेर ल्याउने, नेपाल फर्केर सहरमा घरजग्गा किन्ने, छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाउने मोहले यहाँ खेतीपाती, व्यापार–व्यवसाय वा कुनै पेसा गरिरहेको भए पनि त्यसलाई समेत त्यागेर वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो छ । विगतमा वैदेशिक रोजगारी बाध्यता भए पनि अहिले यो रहरको क्षेत्रसमेत बनेको छ ।
नेपालको श्रम बजारमा आउनेमध्ये अधिकांश युवा वैदेशिक रोजगारीमा जाने गरेको देखिएपछि धनी परिवारका र शिक्षित युवा कमै मात्र श्रम आप्रवासनमा जाने गरेका छन् । श्रम आप्रवासन भन्नाले रोजगारीकै लागि बिदेसिने प्रवृत्ति हो । श्रम आप्रवासनमा जाने अधिकांश युवा कृषि कर्म गर्ने परिवारसँग सम्बन्धित छन् भने बढीजसो निम्न मध्यमवर्गीय परिवारका हुने गरेका छन् । विगतमा श्रम आप्रवासनका लागि भारत मुख्य गन्तव्य रहँदै आएकोमा २०४८ सालपछि मलेसिया र खाडी क्षेत्रका देश आकर्षणको गन्तव्य बनेका छन् । यसबाहेक कोरिया र जापान अहिले नेपाली युवाको श्रम आकर्षणका देश बनेका छन् ।
यद्यपि शिक्षित युवा पनि आप्रवासनमा जाँदै नजाने भने होइन । उनीहरू शिक्षाका नाममा बिदेसिने गरेका छन् । शिक्षित युवाको गन्तव्य युरोप, अमेरिका, अस्ट्रेलिया बन्दै आएको छ, जहाँबाट प्राप्त हुने रेमिट्यान्स औपचारिक प्रणालीमा जोडिएकै छैन । वैदेशिक रोजगार विभागको विवरणअनुसार सन् १९९३/९४ देखि २०१६/१७ सम्म ४७ लाखभन्दा बढी श्रमस्वीकृति जारी गरिएका छन् । यीमध्ये ३५ लाख नेपाली अहिले पनि विदेशको भूमिका कार्यरत छन् भन्ने अनुमान गरिन्छ । वैदेशिक रोजगारीमा गएकामध्ये मलेसियाबाहेक अन्य प्रमुख श्रम गन्तव्यमा नेपाली दोहो¥याएर जाने गरेका छन् ।
मलेसिया सरकार आफंैले अदक्ष र अर्धदक्ष कामदारहरूलाई निरूत्साहित गर्ने नीति लिएका कारण पनि त्यहाँ दोहो¥याएर जाने नेपालीको सङ्ख्या खाडी मुलुकमा भन्दा कम भएको हो । यसका साथै खाडी क्षेत्रका प्रमुख श्रम गन्तव्यहरू कतार, यूएई, साउदी अरब, कुबेत, बहराइनमा भन्दा मलेसियाको औसत आय कम भएका कारण एक पटक मलेसिया पुगेका युवा अर्को पटक वैकल्पिक गन्तव्यका खोजीमा जाने गरेका हुन् । वैधानिक रूपमा विश्वका १ सय १० देश वैदेशिक रोजगारीका लागि खुला गरिएको भए पनि १५३ मुलुकमा नेपाली कार्यरत छन् । वार्षिक रुपमै वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या यति बढ्यो कि आव २०७३÷७४ मा ६ लाख ६८ हजार पुगेको छ ।
वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या बढेसँगै उनीहरुले स्वदेश पठाउने विप्रेषण आयमा पनि लगातार वृद्धि भइरहेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार चालू आर्थिक वर्ष २०७४/७५ मा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को २४.२५ प्रतिशतबराबरीको विप्रेषण प्राप्त हुने प्रक्षेपण गरिएको छ, जुन आव ०७२/७३ मा जीडीपीको २९.५ प्रतिशत पुगिसकेको थियो । जीडीपीको आकार बढ्दै गएका हुनाले विप्रेषणको आकार बढ्दै गए पनि यसको अनुपात घटेको जस्तो देखिएको हो ।
रकमका आधारमा यो वर्ष ७ खर्ब २९ अर्ब २४ करोड रुपैयाँबराबरको विप्रेषण भित्रने अनुमान गरिएको छ । गत वर्ष ७ खर्ब रुपैयाँबराबर विप्रेषण भित्रने अपेक्षा गरिएकोमा ६ खर्ब ९५ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको थियो भने आव २०७२/७३ मा ६ खर्ब ६५ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको थियो । आर्थिक वर्ष ०६०/६१ सम्म देशमा वार्षिक ५८ अर्ब ६० करोड रुपैयाँबराबरको विप्रेषण आय भित्रने गरेकोमा यो बढेर ७ खर्ब रुपैयाँभन्दा नाघ्ने अवस्था आएपछि देशका नीति निर्मातादेखि निजीक्षेत्रसम्म सबै दङ्ग देखिन्छन् ।
अँध्यारो पाटो
वैदेशिक रोजगारीमा युवा पाखुरी भटाभट देशबाट बाहिर गएपछि यहाँ रोजगारी सिर्जना गर्नुपर्ने बाध्यताबाट सरकारलाई हाइसन्चो भएको छ । वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणले नै देशको शोधनान्तर घाटा व्यवस्थापनमा समेत उल्लेख्य योगदान पु¥याएको देखिए पनि यो भित्रका अँध्यारा पाटा निकै छन् । नेपाली युवा सर्वाधिक वैदेशिक रोजगारीमा जाने क्रम बढेको आर्थिक वर्ष २०६५/६६ देखि आव २०७३/७४ सम्ममा विदेशका भूमिमा ५ हजार ९४३ नेपालीको मृत्यु भइसकेको छ । यसरी विदेशको भूमिका दैनिक २ देखि ३ जना नेपालीको अकालमै ज्यान जाने गरेको छ । यो वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा अभिलेखित तथ्याङ्क मात्र हो, सम्बन्धित श्रम गन्तब्यमा रहेका राजदूतावास वा वाणिज्य दूतावासहरूले कोषमा अभिलेखितभन्दा बढी सङ्ख्यामा नेपालीको मृत्यु भएको देखाउँछ ।
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा अभिलेखित तथ्याङ्कले सन् २०१३ देखि २०१७ सम्म यूएईमा २७४, कुवेतमा १८६, बहराइनमा ७७, ओमानमा ४७ नेपालीको मृत्यु भएको देखाएकोमा सम्बन्धित मुलुकमा रहेको कन्सुलर सेवाका अनुसार क्रमशः ३१७, ३३१, १११ र ७४ नेपालीको मृत्यु भएको देखाएको छ ।
नेपालीको प्रमुख पाँच रोजगारी गन्तव्यमध्ये मलेसिया नेपाली कामदारका लागि ‘डेथजोन’ नै बनेको छ । समग्रमा त्यहाँ हालसम्म मृत्यु भएका कुल नेपालीको सङ्ख्या ३६ दशमलव ५६ प्रतिशत छ । सङ्ख्यात्मक रुपमा हेर्दा मलेसियामा २ हजार १ सय ५४ नेपालीको मृत्यु भएको छ । मलेसियापछि साउदी अरबमा १ हजार ६ सय ३८ जना (२७.८० प्रतिशत), कतारमा १ हजार २ सय ३ जना (२४ दशमलव ४१ प्रतिशत), यूएईमा ४ सय २७ जना (७ दशमलव २५ प्रतिशत) र कुवेतमा १ सय ८६ जना (३.१६ प्रतिशतको मृत्यु भएको छ ।
वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने नेपालीमध्ये अधिकांशको प्राकृतिक मृत्यु कारण उल्लेख गर्ने गरिए पनि यो विवरण स्वाभाविक लाग्दैन । किनकि अघिल्लो दिनसम्म स्वस्थ रुपमा काम गरिरहेको व्यक्ति भोलिपल्ट मृत भेटिएका घटना धेरै छन् । यसबाहेक हृदयाघात, अन्य वा पहिचान हुन नसकेका कारण सडक दुर्घटना र कार्यस्थलमा हुने दुर्घटनामा धेरै नेपालीको मृत्यु हुने गरेको छ ।
पछिल्लो समयमा ईपीएसबाट कोरिया पुगेका नेपालीको समेत मृत्यु हुने क्रम बढेको छ । यस्ता नेपालीमध्ये अधिकांशले आत्महत्या गर्ने गरेको वैदेशिक रोजगार विभागको प्रतिवेदनले देखाएको छ । ईपीएस कोरिया शाखाको तथ्याङ्कअनुसार सन् २००८ देखि २०१७ सम्म कोरियामा ७७ जना नेपालीको मृत्यु भइसकेको छ । जब कि कोरियास्थित नेपाली राजदूतावासले उक्त अवधिमा ईपीएसमार्फत कोरिया गएकामध्ये १ सय ३० जना नेपालीको मृत्यु भएको जनाएको छ । यीमध्ये ३६ जनाले आत्महत्या गरेका हुन् ।
मृत्यु मात्र होइन, वैदेशिक रोजगारीमा अङ्गभङ्ग भएर वा रोग बोकेर नेपाल फर्कने नेपालीको सङ्ख्या पनि उत्तिकै डरलाग्दो ढङ्गले बढेको छ । आव ०६५/६६ देखि ०७३/७४ सम्ममा ८ सय १७ जना नेपाली अपाङ्गता भई स्वदेश फर्किएका छन् । सबैभन्दा धेरे मलेसियामा ३ सय ७३ जना, साउदी अरबमा १ सय ७३ जना, कतारमा १ सय ३२, यूएईमा ७९ र कुवेतमा ३१ नेपाली अङ्गभङ्ग वा रोगका कारण अपाङ्ग भई नेपाल फर्किएका छन् ।
ठगी उस्तै
वैदेशिक रोजगारीमा जाँदा ठगीमा पर्ने नेपालीको सङ्ख्या पनि लगातार बढेको छ । आव ०६४/६५ देखि ०७३/७४ सम्म झन्डै १० हजार नेपालीले आफू वैदेशिक रोजगारीका क्रममा ठगिएको भन्दै उजुरी गरेका छन् । तीमध्ये पाँच हजार उजुरीमाथि मात्रै अहिलेसम्म सम्बोधन भएको छ ।
वैदेशिक रोजगारीको ठगीमा परेका नेपालीले सहजै कानुनी उपचार पाउँदैनन् । लामो कानुनी उपचार प्रक्रिया, त्यसका लागि काठमाडौं नै आउनु वा बस्नुपर्ने बाध्यताजस्ता कारणले आधाभन्दा बढी ठगीमा परेका पीडितहरूले बीचैमा न्यायको आशा छाड्ने गरेको एम्नेस्टी इन्टरनेसनलको अध्ययनले देखाएको छ ।
म्यानपावर कम्पनी र रोजगारीको प्रक्रियाको अवधिमा बहकाउने र गलत सूचना दिने, नक्कली/कृत्रिम करारनामा, अधिक सेवाशुल्क असुली र सम्झौताको अवज्ञा हुने उजुरी बढी पर्ने गरेको छ । म्यानपावर एजेन्सीहरूले राखेका एजेन्टले नै बढी ठगी गर्ने गरे पनि म्यानपावर सञ्चालकहरु यस्तो प्रक्रियामा आफ्नो संलग्नता नै नभएको भन्दै उम्किने गरेका छन् ।
म्यानपावर एजेन्सीले गरेका अधिकांश ठगीमा वैदेशिक रोजगार विभागका अधिकारीहरुको मिलेमतोमा पीडितलाई नाम मात्रको न्याय दिएर उम्काउने गरिएको छ । ठगी भएको भनेर माग दाबी गरिएको रकमको १० देखि १५ प्रतिशत पनि भुक्तानी नहुने गरेको वैदेशिक रोजगार विभागकै प्रतिवेदनले खुलाएको छ । श्रम गन्तव्यमा पाउने सास्तीको बेग्लै पक्ष छ । आवागमन/हिँडडुलमा नियन्त्रण गर्ने, तोकिएको तलब–ज्याला नदिने, श्रमशोषण, शारीरिक शोषण गर्ने गरिएको उजुरी पनि निकै पर्ने गरेको छ । अर्कातिर, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अपाङ्ग हुने गरी चोटपटक लागेका वा बिरामी भएका/वा रोजगारी गुमाएका र मृत्यु भएका नेपालीलाई दिने क्षतिपूर्ति वा राहत रकम पाउन पनि निकै सास्ती झेल्नुपर्ने अवस्था कायमै छ ।