शनिबार र आइतबार कोरियन भाषा परीक्षा (हेर्नुहोस् केन्द्र सूचीसहित)

अङ्क प्रणाली तीन चरणमा हुनेछ । पहिलो चरणमा कोरियन भाषा परीक्षा, दोस्रो चरणमा सीप परीक्षण एवम् तेस्रो चरणमा कार्य दक्षताको मूल्याङ्कन गरिनेछ ।

नवौं कोरियन भाषा परीक्षा शनिबारदेखि सञ्चालन हँुदै छ । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले शनिबार र आइतबार भाषा परीक्षा सञ्चालन गर्ने भएको हो । काठमाडौं, ललितपुर र पोखराका विभिन्न सेन्टरबाट लिइने परीक्षाका लागि २८ ओटा परीक्षा केन्द्र तोकिएको कोरियन शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए । यसअन्तर्गत काठमाडौंमा १६, पोखरामा ४ र ललितपुरमा ८ परीक्षा केन्द्र तोकिएको छ ।

भाषा परीक्षाका लागि दुई सिफट् गरी एक घण्टाको समय छुट्याइएको छ । पहिलो सिफ्ट बिहान १० बजेदेखि ११ बजेसम्म र दोस्रो सिफ्ट २ बजेदेखि ३ बजेसम्म छुट्याइएको (ईपीएस) कोरिया शाखाका शाखा अधिकृत भण्डारीले बताए । ईपीएस प्रणालीमार्फत दक्षिण कोरियामा काम गर्न जानेको अब सीप दक्षता परीक्षण पनि गरिने भएको छ । यसअघि कोरियन भाषा क्षमताका आधारमा मात्रै कामदार छनोट हुँदै आएका थिए । कोरियन भाषा परीक्षाको छनोट प्रक्रियामा अङ्क प्रणाली भनिने नयाँ प्रणाली लागू गर्ने योजना रहेको मानव संसाधन विकास (एचआरडी) कोरियाले जनाएको छ ।

अङ्क प्रणाली तीन चरणमा हुनेछ । पहिलो चरणमा कोरियन भाषा परीक्षा, दोस्रो चरणमा सीप परीक्षण एवम् तेस्रो चरणमा कार्य दक्षताको मूल्याङ्कन गरिने नेपालस्थित शाखा अधिकृत भण्डारीले बताए । नवौं कोरियन भाषा परीक्षा दिने कुल ८२ हजार दुई सय ४० रहेको उनले जानकारी दिए । तीमध्ये कृषिजन्य क्षेत्रमा ३९ हजार ६ सय ४० जना र उत्पादनमूलक क्षेत्रमा ४२ हजार ६ सय रहेको उनको भनाइ छ ।

दुई सिफ्टका परीक्षार्थीलाई एक घण्टाअघि नै परीक्षा हलभित्र पसिसक्न निर्देशन तथा सूचना जारी गरिसकिएको छ । भाषा परीक्षा दिने विद्यार्थी समयभन्दा एक मिनेट पनि ढिलो आए परीक्षा रद्द गरिने उनले बताए । परीक्षालाई दृष्टिगत गर्दै तथा परीक्षा अनुगमन तथा जाँच गर्न कोरियाबाट नेपालमा ६३ जनाको टोली एक साताअघि नै नेपाल आइसकेको छ । ‘दुई दिनसम्म चल्ने परीक्षालाई सामान्य तरिकाबाट नै सम्पन्न गर्न हामी प्रतिवद्ध भएर लाग्नेछौं,’ उनले भने ।

परीक्षार्थीले कालो पेन मात्र प्रयोग गर्न पाउनेछन् । परीक्षा हलमा कुनै पनि कसिमका इलेक्ट्रिक सामान लैजान नपाइने भण्डारीको भनाइ छ । ‘परीक्षाका लागि सबै स्थानमा प्रहरी परिचालन गरिसकेका छौं,’ उनले भने, ‘परीक्षा केन्द्रमा पनि सबै कुराको व्यवस्थापन गरिसकेका छौं ।’